• मंगलबार-बैशाख-४-२०८१

सम्पादकीय : प्रचण्ड सरकार र ताबेदार कार्यकर्ता

 

एकाध अपवादलाई छाड्ने हो भने नेपालका राजनीतिक दल र तिनका नेताहरु आफू कसरी पदमा पुग्ने, पदमा कसरी अडिने र आफ्ना छोरी, छोरा,  पत्नी, भाइ बहिनी र जुवाइँ आदिलाई के कसरी कुन लाभको पदमा पु¥याउने भन्ने तानाबाना बुन्नमै मग्न र व्यस्त हुन्छन्, देखिन्छन् । भाषण गर्नेबेलामा बाहेक अरु बेलामा उनीहरुलाई  देशको, जनताको अर्थात आफू र आफ्नो परिवारको हितको  विषय बाहेकको गरिब जनताको भातभान्सा विषयको कुरामा कुनै चासो देखिंदैन । वर्तमान प्रधानमन्त्री प्रचण्डका भाषण र कामकुरा हेरेर पनि हामीहरुले यो कुरा सजिलै बुझ्न, देख्न सक्छौं ।


अहिले अर्थविद्हरुले मुलुकको आर्थिक अवस्था अत्यन्त जर्जर भएको कुरा बताइरहेका छन् । तर, मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री प्रचण्ड चाहिं कसरी आफू बलियो हुने र के कसरी आफूले जे चाह्यो त्यही गर्न नदिने, नमान्ने दललाई, नेतालाई कमजोर पार्ने र आफूले राज्यशक्तिको कसरी बढीभन्दाबढी उपयोग गर्ने भन्नेकुरा सुनिश्चित गर्नमा व्यस्त देखिन्छन् । प्रधानमन्त्री भएको तीन महिना पुग्नलाग्दा पनि उनलाई के कस्ता कारणले अर्थतन्त्र कमजोर भएको छ र अर्थतन्त्रलाई कसरी सबल बनाउन सकिन्छ भन्ने विषयमा कुनै चासो रहेको अनुभूति जनसाधारणलाई हुन सकेको पाइँदैन । 


 राजनीतिक दलका नेताहरुले व्यवहारमा  नागरिकहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने कुरालाई प्राथमिकता दिएको पाइँदैन । भारत वा अन्य मुलुकबाट नेपालमा आयात हुने तरकारीमा विषादी भए नभएका कुराको परीक्षण नगर्ने सरकारको निर्णय यसको दृष्टान्त हो । त्यसैले प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी र अरु खाद्य पदार्थको आयातमा रोक लगाउने प्रस्ताव मन परेको देखिंदैन ।  संभवतः उनले विषादीयुक्त तरकारी र अरु खाद्य पदार्थ देशवासीलाई खुवाउनुहुँदैन भन्ने मान्यता समेत राख्दैनन् ।  आयात गरिने तरकारी र अरु सामग्रीमा विषादी भए नभएका कुराको परीक्षण गर्दा भारतसंगको आफ्नो सम्बन्ध बिग्रिने हो कि भन्ने त्रास उनमा रहेको देखिन्छ । त्यसैले अरु मुलुकबाट तरकारी आदि खाद्यसामग्री आयात गर्दा तिनमा विषादी छ, छैन भन्नेकुराको परीक्षण गर्नुपर्छ र विषालु नदेखिएका तरकारी र अन्य खाद्य पदार्थ मात्र सीमाभित्र आउन वा ल्याउन सक्ने वा दिने नीतिगत व्यवस्था गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ भन्ने तर्कलाई उनले व्यवहारमा स्वीकार गरेको वा लागू गर्ने आँट र तत्परता देखाएको पाइँदैन । उनले भारतले नेपालबाट भारतमा निकासी गर्ने खाद्य सामग्रीमा सीमा क्षेत्रमै विषादीको जे जसरी परीक्षण गर्छ, त्यसरी नै हामीहरुले पनि नेपाल भित्रिने खाद्य सामग्रीको  परीक्षण गर्नुपर्छ भन्नेकुरा भारतीय र अन्य पक्षसंग राख्ने हिम्मत गर्ने रहेनछन् भन्नेकुरा समेत घटनाक्रमले प्रमाणित गर्छन्  । आफ्ना नागरिकको स्वास्थ्यरक्षाको सवाललाई कम महत्व दिएर विदेशी व्यापारीको नाफालाई बढी महत्व दिने यस्तो प्रवृत्ति संसारका अन्य कुनै पनि मुलुकमा भेटाउन सकिँदैन शायद !

                                                                                           
 नेपालमा  नागरिकहरुमा  नेता र दलले राम्रो काम गरेका बेलामा प्रशंसा गर्ने र नेता र दलले राष्ट्र र जनताको अहितमा काम गरेको बेलामा त्यसको कडा प्रतिवाद गर्ने प्रवृत्तिको समुचित विकास र प्रदर्शन हुन सकेको पाइँदैन । पार्टीका कार्यकर्ताहरु र समर्थकहरुले चाहिँ नेताले जे गर्छ त्यसैको हो मा हो मिलाउने काम गर्ने गरेको पाइन्छ ।  भारतबाट आयात गरिने तरकारीमा विषादी छ, छैन भन्ने कुराको परीक्षण गरेर मात्र सम्बन्धित पक्षलाई आयात गर्ने इजाजत दिनुपर्छ भनेर आफ्नै दलका कार्यकर्ता र समर्थकहरुले दवाव दिन थाल्ने हो भने नेताहरुले पनि यसरी विदेशीको हितहुने र आफ्नै देश र आफ्नै देशका नागरिकहरुको अहित हुने काम गर्ने हिम्मत गर्ने थिएनन् ।  अर्कातिर,  दलका कार्यकर्ता र समर्थकले आफ्नो दलका नेताले जे जे भन्यो त्यही त्यही  सत्य हो भन्ने मान्छन् भने  नेताहरु गैह्रजिम्मेवार हुन्छन् । उनीहरुले हामीहरुले जे गरे पनि हुन्छ भन्ने ठान्न थाल्छन् र देशको दुर्दशा हुँदै जान्छ । अहिले हाम्रो मुलुकको अवस्था यस्तै छ ।  

 

अब दलका कार्यकर्ताहरुले आफ्नो दलका नेताहरुले गरेका  कामको निष्पक्ष र निर्भिक ढंगले  लेखाजोखा गर्न थाल्नुपर्छ र उनीहरुले गलत काम गरेको बेलामा त्यसको सशक्त प्रतिवाद गर्नुपर्छ । अहिले प्रचण्ड प्रधानमन्त्री छन्–त्यसैले उनलाई विदेशबाट आयात गरिने तरकारी आदिमा विषादीको परीक्षण गर्ने नितिगत व्यवस्था गरि त्यसको कार्यान्वयन गर्न उनकै कार्यकर्ता र समर्थकले अर्थात माओवादी केन्द्रकै कार्यकर्ता र समर्थकले समेत दवाव दिन सक्नुपर्छ । आफ्नो दलका नेताले  खराब काम गरेको र देश र देशका नागरिकको हित विपरीत काम गरेको बेलामा  त्यसै पार्टीका  समर्थक र कार्यकर्ताले  ती नेताको सशक्त प्रतिरोध गर्ने साहस गर्ने हो भने समयको क्रममा नेताहरु पनि आफूलाई सुधार गर्न अग्रसर हुन वाध्य हुन्छन् । कार्यकर्ताहरु नेताका दास नरहेर नेताका गलत कामको आलोचना गर्ने सचेत नागरिक कार्यकर्ताको रुपमा परिणत हुने हो भने नेताहरु अशल काम गर्न र खराब काम नगर्न आफै बाध्य हुन्छन् । त्यसैले शीर्ष नेताका दास रहेर मनपरीतन्त्रलाई बढावा दिइरहने कि  नागरिक बनेर खराब कामको विरोध गर्ने बानी बसाल्ने भन्नेकुरामा अब दलका नेता कार्यकर्ताहरुले अबिलम्ब निर्णय लिन जरुरी छ । समयले सँधैभरी रमिता हेर्दैन भन्नेकुरामा सबै सचेत हुनुपर्छ । (साँघु साप्ताहिक, २०७९ फागुन २९)

प्रतिकृया दिनुहोस