• शुक्रबार-बैशाख-१४-२०८१

रेडियोमा कविता वाचनको फूर्ति सम्झिदा...

‘फुच्ची’ गुरू आमाको गर्विलो कविता मोह 

 

मनको शक्तिलाई मसीको शक्तिमा रूपान्तरण गर्ने कला नै साहित्य हो । नचाहेर पनि मनको अन्तर कुनामा भाव बनेर बसेको यो शक्तिले दुःखको समयमा पनि ऊर्जाको बाटो देखाइरहेको हुन्छ । झन् मन मिल्ने दौतरी र अग्रजको आशीर्वादले सदा आफूलाई पुलंकिल बनाएका कारण नै साहित्य लेखनको यात्रा सहज भएको कल्पना काफ्लेको अनुभव छ । 


साहित्य र जागिरको भोकले तानेर धनकुटादेखि विराटनगरसम्म ल्यायो । विराटनगरले केही वर्ष जीवन यात्राको गोरेटो निर्माण गरेपनि राजमार्ग बनाउन सकेन । बाँकी ऊर्जा र भोक पूरा गर्न उनले काठमाडौंलाई रोजिन । काठमाडौंले हण्डर त दियो तर उनको जीवनको लक्ष्यलाई पूरा गर्न सहयोग पनि ग¥यो । कोलाहलपूर्ण जीवन बाँचिरहेको काठमाडौंले उनको नामको पनि हल्ला ग¥यो ।  जुन हल्ला साहित्य चर्चा परिचर्चाको विषय बन्यो ।  


मुक्तक, गद्य कविता र कथा लेखेपनि उनले छन्द कवितालाई प्राथमिकतामा राखिन । खारिएको लेखन र माधुर्य वाचन शक्तिका कारण उनको उचाइ बढ्दै गयो । अग्रजले पनि उनको लेखनको प्रशंसा गरे । संघर्षलाई जीवनको सिकाइ मान्ने उनले खाएको हण्डर नै सफलताको सिँढी हो भन्ने काफ्लेको मान्यता छ । एसएलसी सक्ने वित्तिकै जागिरको खोजीमा भौतारिदाको स्मरणले आज पनि उनको मनमा झस्का दिन्छ । अहो ! ती दिनको संघर्ष र अभावको कुरालाई अहिले बिर्सिनु त हुँदैन तर संझेर पछाडि फर्किन पनि राम्रो हुँदैन भन्ने उनको बुझाइ छ । 


धरानको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्दा आफैं पढ्दै र पढाउँदै गरेको संघर्षलाई संझिदा आनन्दले गर्व लाग्छ । त्यतिबाट जीवनको ऊर्जा भरिएर आएको हो संघर्षका लागि । स्कुल पछि कलेज पढाउने क्रममा ‘फुच्ची गुरुआमा’ भनेर विद्यार्थीले भनेको सुन्दा अचम्म लागेपनि अहिले संझिदा आनन्द आउछ । सुरुमा कलेजका विद्यार्थीले ‘फुच्ची’ भनेर जिस्क्याउँथे । पछि सङ्गत गर्दै गएपछि गुरुआमा भन्दै लहसिन थाले । 


पढाउन अभ्यस्त हुँदै गएपनि धेरै समय खर्च गर्नुपर्ने भएकाले त्यसको विकल्पको खोजी गर्न थाले । विवाह भएपछि सरकारी जागिरको भूत मनमा बस्यो । सरकारी जागिर खानुपर्छ भन्ने लागेर लोकसेवा तयारी गरिन । जहाँ जहाँ विज्ञापन खुल्यो त्यहाँ आवेदन दिने रित नै बन्यो । २०६९ मा सबैभन्दा पहिले नेपाल आयल निगममा उनको नाम निस्कियो । त्यो सुब्बा स्तरको थियो । १ वर्ष पछि २०७० सालमा नेपाल वायुसेवा निगममा अधिकृतमा पोष्टिङ भइँन । अहिले उनी  अधिकृत सातौँ तहमा कार्यरत छिन् । 


साहित्य लेखनः 
विद्यालय तहबाट नै कविता र कथा लेख्ने बानी बस्यो । विद्यालयस्तरीय कविता गोष्ठीमा प्रथम हुन्थिन । साधारण पुरस्कार दिइन्थ्यो । तर, त्यो अमुल्य हुन्थ्यो । रेडियोमा आउने साहित्य संसार, मधुवन, मधुरिमा जस्ता कार्यक्रम सुन्दा लेख्ने ऊर्जा बढ्थ्यो । पछि एफ एम रेडियोबाट दर्जनौ गीतिकथाहरू प्रसारित भए । रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र धनकुटाबाट प्रसारण हुने सङ्गम कार्यक्रममा कविता वाचन गर्न पाइन्थ्यो । ९÷१० कक्षामा पढ्दा कविता वाचन गर्न स्टुडियोसम्म पुग्नका लागि ३ घण्टा पैदल यात्रा र दुई घण्टा बसको यात्रा गरेको रहर सम्झदा रमाइलो उनलाई लाग्छ । अहिलेको सुविधा सम्पन्न प्रविधि संझिएर आफ्नो मुर्खता र रहर संझेर हाँसो पनि लाग्छ ।

 

साहित्यप्रतिको मोह र रेडियोमा नाम आउने भएको हुनाले हिम्मत गरेर गएको र कविता वाचन गरेर फर्किएको रमाइलो संझना छ । रेडियोमा कविता र नाम आउने भएपछि त के चाहियो र ? त्यो फुर्तिफार्तिको कुरा नै वेग्लै । फुर्किदा फुर्किदै अझै धेरै कविता लेख्ने साहस बढ्यो । छन्द के हो भन्ने नबुझ्दा नै छन्दका  कविता लय हालेर वाचन गर्ने बानी बस्यो । १२ कक्षा पढ्दा छन्द के हो भन्ने सिकेँ । त्यसपछि छन्दमा कविता लेख्न थालेँ । भित्रि मनदेखि लेख्न मन लागेर लेख्थेँ । पारिवारिक र जागिरे जीवनले गर्दा कहिलेकाहीँ लेख्ने समय निकाल्न गार्हो हुन्छ ।  यतिबेला मन उकुस मुकुस हुन्छ । 


लेखन/प्रकाशन : 
‘भावसरोवर’ २०७५ छन्द कवितासङ्ग्रह । नेपाली गजलमा नारी हस्ताक्षर । मुक्तक चौतारी (संयुक्त)ः २०७५ । संयुक्त गजल संग्रह, २०६२ । युवामञ्च तथा अन्य पत्रिकाहरूमा कविता गजल तथा मुक्तकहरू प्रकाशित छन् । 


आवद्धता :
साहित्यसुधा नेपाल अध्यक्ष, नेपाल वायु सेवा निगम । साहित्य समाज संस्थापक उपाध्यक्ष, नेपाल मुक्तक प्रतिष्ठान आजीवन सदस्य, नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ शाखा उपाध्यक्ष रहेकी छिन ।  


पुरस्कार : 
श्री पञ्च कुमारी सामाजिक गुठीद्वारा १४० आँै मोती जयन्तीको अवसरमा आयोजित प्रतियोगितात्मक कविता गोष्ठीमा प्रथम स्थान हासिल । पल्लव साहित्य प्रतिष्ठानद्वारा २०६७ सालको पल्लव साहित्य सम्मान तथा धनवाणी युवा प्रतिभा पुरस्कार २०६७ द्वारा सम्मानित । नोवेल साकोस साहित्य प्रतिष्ठानद्वारा सम्मानित २०७४ ।    

                                                       
अनुपम साहित्य प्रतिष्ठान उत्कृष्टकाव्य पुरस्कार, २०७४ । लीलाध्वज थापा साहित्य प्रतिष्ठान उत्कृष्ट काव्य पुरस्कार २०७४ । नेपाल भारत साहित्य सम्मान २०७५ मेरठ साहित्य सम्मान २०७५ । पालुङ साहित्य सम्मान २०७६ । छन्द तरङ्ग सम्मान २०७६ । निजामती सेवा दिवस कविता प्रतियोगिता – तृतीय पुरस्कार २०७७ । विश्व कविता प्रतियोगिता – प्रथम पुरस्कार २०७८ । भानु साहित्य सिर्जना सम्मान – २०७८ । हरिभक्त साहित्य सिर्जना सम्मान तथा पुरस्कार २०७८ लगायतका पुरस्कार प्राप्त गरेकी छिन् ।
 

प्रतिकृया दिनुहोस