• शुक्रबार-बैशाख-७-२०८१

बूढो माझीको आङ्मा भीर फूलको सौन्दर्य

 

कविता धेरैले लेख्छन् । कवितालाई कसैले जटिल बिम्वको प्रयोगले अँध्यारो बनाउछन् । कसैले साधारण गाउँले भाषामा कविताको ग्रामीण परिवेशमा माटोको सुगन्ध खोज्छन् । यस्तै माटोको सुगन्ध छरिएको कृति हो बुढो माझी । दोलखाको गौरीशंकर हिमाल र शैलुङको मनमोहक वातावरण जस्तै स्वच्छ र निर्मल छ कविताको सौन्दर्य । उचाइबाट झरेका हरेक झरनाको पानी बोकेर बग्ने तामाकोसीको वेगले कविताको रफ्तार र विषय आफ्नै बहावमा सलसल बग्न अभिप्रेरित गरेका छन् । 


नदी किनारमा बसोवास गर्ने र माछा मार्ने माझी, समाजमा जातका कारणले हेपिएका दमाईहरू र आरोपित बोक्सी आमाहरूमा समर्पण गरिएको यो कृति विष्णु सुवेदीको चौँथो कृति हो । गाउँमा गाउँ नै बनेर भोगिएका अनुभूतिहरूको एउटा सङ्ग्रह हो । गाउँका विचारलाई कविताको पोयोमा बुन्ने काममा अग्रणीय छन् जसराज किराँती । सुवेदीले उनको बाटोलाई पहिल्याएर चौडा बनाउने काम गरेका छन् ।


देशमा बुद्धिजीवीहरूको कमी छैन । तर, परम्परामा जकेडिएको मस्तिष्कमा उस्तै छ पुरातनको व्यवहार । सीमामा भएको अन्याय कसैले देख्दैन । सामाजिक छुवाछुतलाई कचेरा लागेर अस्ताउन आटेका आँखाले झट्ट देख्छ । आस्थाले भरिएको मनको अन्तर कुना एकाएक बिद्रोहको राँकोमा परिणत हुन्छ, घृणाले हेरिएपछि । हेपिनु कसैलाई सुखद् लाग्दैन । मान्छे मौन हुन सक्छ तर शब्द विहीन हुन सक्दैन । 


इतिहास कसले कसरी लेख्यो ? त्यो बेग्लै कुरा हो । आस्था र आदर्शको विषयलाई द्वन्द्वमा रूपान्तरण गर्नु अहिलेको समयमा विष ओकल्नु हो । त्यो फैलियो भने जति जल सिचन ग¥यो, उति फैलिएर जान्छ । नियन्त्रण हुँदैन । 


हरेक बिहानको सूर्योदयले बोकेर ल्याउछ आदिम समय । र, भन्छ इतिहासमा कसरी पराजित भए आमाहरू ? कसरी चितामा जस्तै सपना शून्य भयो देश । कहाँ अडिए आदर्शवान मान्छे र तिनले कोरेका गोरेटाहरू । जीवनको गतिमा कसरी स्खलित भएर सकिए हामीले नायक ठानेका व्यक्ति । यिनै विषयलाई भोगेर आजित भएर नै कवि स्वयम्ले व्यक्त गर्छन् ‘गहिरो खाल्डो खनेर पुरिदिन्छु गुनासाहरूलाई ।’ यो एउटा आक्रोसको ज्वारभाटा मात्र हो ।

 

श्रमसँग जोडिएको जीवन । वर्गीय प्रेमको अस्वीकारोक्ति । गाउँको जीवनमा के सृष्टिको अस्वीकारोक्ति हो ? भन्ने उनको प्रश्नले एक पटक आफैलाई ऐनामा हेर्न मन लाग्छ । प्राकृतिक छटाको मोहकताले भरिएको सुन्दरतामा पनि कुरुप देखिने हाम्रो युग र समाजको चेतना कसरी बदल्न सकिन्छ । कविताको विषयले उठाएको बिम्व यही हो । शब्द चयनलाई हेर्दा सरल देखिन्छ । तर, भावावेशले यसरी घर्षण गराउँछ कि मदानीको पोराले ठेकीको दहीलाई जसरी मथ्छ । 


मनको आवेशमा गाउँबाट सहर झर्ने रहर सबैको हुन्छ । जव शहरलाई बुझिन्छ, गाउँको यादले रातभरि पिरोल्छ । खाली पेटले भोग त जन्माउँछ नै मनलाई हजार चक्कर कटाउछ । मुढो झैं लडेको शरीर कतै जान सक्दैन, मन यात्री बनेर संसार विचरण गर्छ । सुवेदीका कविताको यो कल्पना हिमाल, पहाड र तराई गरिरहन्छ । कविता र जीवन दुवै संघर्षका पर्याय हुन् । जीवन विना न त कविता संभव छ, न कविता विना जीवन । 


कविकै शब्दलाई उधारो लिने हो भने म फूल र कविता के रोज्ने भनेर कसैले सोध्यो भने म कविता रोज्छु । किनभने कविताले समाजका विसङ्गतिलाई नाङ्गो पार्छ । यही कारण म मान्छे भन्दा कवितालाई रोज्छु भन्ने स्पष्टीकरणले कविताको मर्म के हो भन्ने कुरा झल्काउँछ । भलै धेरै पढिने र थोरै बुझिने किन नहोस् । म कविको यो भनाइको उच्च सम्मान गर्छु । 


एउटा कविको चाहना समाजको परिवर्तन र सुखानुभूति हो । अर्को कुनै स्वार्थ छैन् । आँसु, पीडा र रोदनले पिरोलिएको मनले कसरी मुहारमा हाँसो भर्न सक्छ ? यो परिकल्पना औँसीको जून जस्तै हो । कवितामा सिर्जना गरिएका पात्रले आफ्नो भाषा बोल्छन् । कतै सांकेतिक इशारा गर्छन् । सरलता भित्र अग्निको राप पनि छ । तर, त्यो जलाउनका लागि नभएर मात्र तापमान बढाउन राखिएको छ । यसले कविताको कद लामो बनाएको छ । एउटा चेतनाले युक्त कविको यो शक्ति पनि हो ।


आमाको पाठशालामा युद्धकला भन्दा प्रेमलाई अगाडि बढाउने शक्तिको संचय गर्न सिकाइएको छ । यहाँ नीति शास्त्र र शपथ हुँदैन । बगैंचामा फुलेका फूल र जीवनको बाँच्ने कला सिकाइने छ । मलामी जाने रहर गर्नु हुँदैन, गाउँमा मान्छेहरू मर्छन् । त्यसै मसान घाटमा उभिएर कसले हेर्छ मुर्दाहरूको नाङ्गो र उदाङ्गो शरीर, देशको व्यवस्था जस्तै कुरुप भएको । कविताको शक्ति र प्रवाहको यो एउटा नमुना हो ।


निरन्तर उकालो चढेपछि ओरालो झर्नुपर्छ । दुनियाँको स्वार्थी मानिस मात्र हो । जीवनको सार्थकता एउटा बूढो शिक्षकको दैनिकी जस्तै हो, लेख्दै मेट्दै गर्नुपर्ने । जहाँ ज्ञानको खोलो तर्दा चकले लेख्ने र डस्टरले मेट्ने प्रक्रिया चलिरहन्छ । यो दुःख सुखको संगम पनि । भावनात्मक रूपले कविताको दृष्टि गहन र बोधगम्य छ । कवितामा कतैकतै अनावश्यक बहाव पनि छ । यो कविको मनको अशान्तपन हो । यसले सफा पारेर राखेको भाँडामा बसेको टीकाको भान पार्छ । 

निधारको रातो टीकाजस्तो
भीरको फूल
मुसुक्क हाँसिरहन्छ भीरमै
को सक्छ त्यसरी
भीरको फूल झैं हाँस्न ? हैन त विष्णु दाजु ।

 

प्रतिकृया दिनुहोस