• सोमबार-बैशाख-२९-२०८२

अस्पतालको बेडबाटै प्रहरी गुहारें, तर वास्ता गरिएन : सत्ताको दमन सामना गर्दै जनताको पक्षमा आवाज उठाइरहनेछु

 

(विकृति, भ्रष्टाचार र दमनविरुद्ध सडकबाट आवाज उठाउने अभियन्ता शोम शर्मा हालै राजधानीको अनामनगरमा आक्रमणमा परे । आक्रमणपछि पनि प्रहरी प्रशासन उदासीन देखिएको गुनासो उनी गर्छन् । साँघु साप्ताहिकका लागि क्षितिज सर्गमले गरेको यो कुराकानीमा उनले आफ्नो संघर्षयात्रा, राजनीतिक बोध, शासनप्रणालीप्रति असन्तोष र नागरिक सचेतनाबारे आफ्ना धारणा व्यक्त गरेका छन् । बागलुङ नगरपालिका–१२ मा जन्मिएका शोम शर्मा नेपाली सडक आन्दोलनको अभियन्ता बताउछन् । ‘अब बोल्छ नेपाल’ भन्ने अभियानमार्फत भ्रष्टाचार, दमन, र विकृतिको विरोध गर्दै आएको दावी गर्ने उनी २०८१ चैत २५ गते काठमाडौँको अनामनगरमा अज्ञात समूहबाट आक्रमणमा परे । आक्रमण भएको २२ दिन बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदेखाएको गुनासो उनी गर्छन् । यद्यपि, उनी अझै पनि आफ्नो अभियानप्रति अडिग रहेको बताउछन् । प्रस्तुत छ, शोम शर्मासँग क्षितिज सर्गमले गरेको कुराकानीको सम्पादित अंशः)


० बागलुङबाट काठमाडौं आउनुको कारण अभियान नै हो ?
एसएलसी पछि २०६६ सालमा काठमाडौं आएँ । प्लस टु पढेँ, केही समय आईटी टेक्निसियनका रूपमा काम गरेँ । तर, पछि जन्मभूमिमा केही गरौँ भन्ने सोचले बागलुङ फर्किएँ । अन्ततः राजधानीमै बसेर जनसरोकारका मुद्दामा काम गर्नुपर्ने महसुस भएपछि काठमाडौंमै स्थायी भएँ ।


० समाजसेवातर्फ झुकाव कहिले र कसरी विकास भयो ?
सानैदेखि स्वतन्त्र विचार राख्थेँ । राजनीतिक दलसँग आबद्ध कहिल्यै भइनँ । कम्युनिस्ट दर्शनहरू पढ्दै गएँ, जसले अन्यायविरुद्ध बोल्न प्रेरित ग¥यो । राज्य निरंकुश भयो भने प्रतिरोध गर्ने आत्मबल त्यसैबाट निर्माण भयो ।


० जिल्लामा पनि सामाजिक काम गर्नुभयो ?
बागलुङमा हुँदा जनगुनासाहरू सम्बद्ध निकायमा पु¥याउँथेँ । काठमाडौं आएपछि जनताको पीडा र राज्यद्वारा गरिएको दमनलाई चुप लागेर हेर्न सकिनँ । सडकबाट आवाज उठाउने बाटो रोजेँ ।


० माइतीघरमै किन बढी सक्रिय हुनुहुन्छ ?
एमसीसीको विरोधमा ‘नो एमसीसी’ लेखिएको टिसर्ट लगाएर संसदअगाडि हिंड्दा प्रहरीले दुई दिन हिरासतमा राख्यो । त्यो क्षणले मलाई सडक आन्दोलनको चरित्र र दमनको स्वभाव दुवै चिन्न बाध्य बनायो । माइतीघरको सडक मलाई जनतालाई साक्षी राखेर शासकसामु प्रतिवाद गर्न सकिने थलो लाग्छ ।


० आन्दोलनको सुरुवात कति बेला र के कारण भयो ?
 “नो एमसीसी’’लेखिएको टिसर्ट लगाएर हिंड्दा प्रहरीले मलाई पक्राउ ग¥यो, हिरासतमा राख्यो । त्यसपछि मैले नसोचेको आक्रोश जाग्यो । जनताको पक्षमा ज्यानको बाजी राखेर आन्दोलनमा होमिने निर्णय गरेँ ।


० युवाहरू खाडी मुलुक जानुका पछाडि तपाईं के कारण देख्नुहुन्छ ?
शासकीय चरित्र खराब भएकै कारण युवाहरू विदेशिन बाध्य छन् । राज्यमा सुशासन नहुँदासम्म यो प्रवृत्ति रोकिँदैन । शासनमा सुधार ल्याउन नागरिक सजग हुनु जरुरी छ ।


० जनताले राजनीतिक परिवर्तन किन गर्न सकेनन् ?
जनता बोल्न डराउँछन् । पार्टीमा नभइकन कसैले हेर्दैन । म कुनै दलको कार्यकर्ता भएको भए सडकमा पिटिइरहनुपर्दैनथ्यो । शक्ति संरचनाविना यहाँ न्याय मिल्दैन ।


० कुलमान घिसिङप्रति समर्थन किन ? कसैको निर्देशनमा ?
कसैको उक्साहट होइन । उनको कामप्रति समर्थन हो । १४ घण्टाको लोडसेडिङको व्यवस्थापन गरेर उनले ऊर्जा क्षेत्रमा सुधार ल्याए । संस्थान घाटाबाट नाफामा गयो । यस्ता कार्यहरूको समर्थन गर्नु नागरिकको कर्तव्य हो ।


० कामकै आधारमा प्रचण्ड, ओली र देउवामध्ये तपाईंको रोजाइमा को ?
तुलनात्मक रूपमा प्रचण्ड अलि विवेकशील लाग्छन् । उनका पनि धेरै कमजोरी छन्, तर केपी ओली र शेरबहादुरको तुलनामा जनप्रति केही उत्तरदायित्व रहेको देखिन्छ । तर, पारिवारिक मोहले ग्रस्त रहेका छन् । 


० एक समय प्रचण्डलाई ‘आतंककारी’ भनेर नाराबाजी गर्नुभएको थियो नि ?
हो, नाराबाजी गरेको हुँ । आलोचना र मूल्याङ्कन गर्न पाइन्छ । उनी दूधले पखालिएको पात्र होइनन् । सर्वहारा वर्गको उत्थान, कल्याण भन्दै जनयुद्ध गरेर सत्ता प्राप्त गर्न सफल भएपछि आम जनजीवनमा ठोस परिवर्तन ल्याउन सकेनन् । तर, आलोचनालाई सहने र प्रहरीद्वारा नथुन्न लगाउने  व्यवहारमा केही फरक देखिन्छ ।


० अनामनगरको आक्रमण किन र के कारणले भएको हो ? त्यसबारे बताउनुस् ।
एक होटलमा गएको थिएँ । त्यहाँ चार जनाले “काम छ’’ भनेर अलि पर बोलाएर लगेर मुङ्ग्रोले टाउकामा प्रहार गरे । हातले छेक्दा ज्यान जोगियो । तीन दिन अस्पताल बस्नुप¥यो । 
प्रहरीलाई तत्काल जानकारी गराउँदा पनि कुनै चासो देखाएन । पछि जाहेरी र सीसीटीभी फुटेजसहित उजुरी दिएको छु, तर आश्चर्य चार हप्ता बित्दा पनि अनुसन्धान अगाडि बढेको छैन ।

 

० आक्रमणमा सत्तासम्बद्धको संलग्नता ठान्नुहुन्छ ?
शंका गर्नुपर्ने आधारहरू त छन् । आक्रमणकारीहरू एमालेको मोटरसाइकल ¥यालीको ब्यानर बोकेका थिए । त्यसैले पनि शंका गहिरो छ ।


० प्रहरीले किन चासो नदेखाएको होला त ?
सायद दबाबमा होला । म प्रहरीलाई दोष दिन चाहन्नँ । तर, उनीहरूले नेताका आदेशमा मात्र नचलून् भन्ने अनुरोध गर्छु ।


० नयाँ अनुहारहरू–रवि, बालेन, हर्क र कुलमानको बचाउमा किन उभिनु भएको त ?
यी सबै पात्रलाई गलत देखाउन एक किसिमको षड्यन्त्र भइरहेको छ । हामी उनीहरूका राम्रा कामको संरक्षण गर्न लडिरहेका छौं । जनताले आशा गरेका अनुहारहरूमाथि गलत छवि निर्माण गरिँदैछ ।


० तपाईंहरू काठमाडौंमा बसेर होहल्ला गर्ने खर्च  कसले दिन्छ नि ? वा कसले पालिरहेछ ?
हामीलाई कसैले पाल्दैन । म आफैँ कृषक र सानो व्यवसायी पनि हुँ । सरकार समर्थितहरूले षड्यन्त्रपूर्वक हाम्रो चरित्र हत्या गर्न खोजेका हुन् ।


० तपाईंहरूको कथित ‘अभियान’मा  खासै समूह देखिंदैन न त ?
ठ्याक्कै संख्या भन्न सकिँदैन । स्वतन्त्र नागरिकको सक्रियता ठूलो छ । अभियानको औपचारिक संरचना छैन, तर भविष्यले दिशा देखाउनेछ । समर्थन व्यापक छ ।


० नयाँ शक्तिहरूबीच एकता आवश्यक देख्नुहुन्छ ?
अत्यन्त आवश्यक छ । सत्तामा बसेकाहरू एकतावद्ध छन्, तर विकल्प खोजिरहेका नयाँ अनुहारहरू फुटेका छन् । एकता भए मात्रै रोग, भोक, बेरोजगारीले पीडित नागरिकले राहत पाउने छन् ।


० अब तपाईंको अभियानको दिशा के हुनेछ ?
राम्रो काम गर्नेको साथमा उभिन्छौँ । “नेपाल आमाको आँशु पुछ्न’’ हामी तयार छौँ । आवाजविहीनहरूको आवाज बनिरहनेछौँ । ज्यान गए पनि जनताको पक्षमा खबरदारी गर्न छाड्ने छैनौँ ।
आगामी रणनीति के बन्दै छ त ?


म देश र जनताको पक्षमा निरन्तर लडिरहन्छु । आवाजविहीनहरुको आवाज बन्ने मेरो यात्राले विराम लिनेछैन । अब नयाँ शक्तिहरूबीच एकता आवश्यक देख्छु । सडक शान्त छ भने त्यो सुशासनका कारण होस्, प्रहरी÷प्रशासनको दमनका कारण होइन । त्यसका लागि हामी सडकमा उभिनैपर्छौं । (साँघु साप्ताहिक, २०८२ वैशाख २२) 
 

प्रतिकृया दिनुहोस