• सोमबार-बैशाख-२९-२०८२

बुद्ध जयन्तीमा प्रदेश प्रमुखको आह्वान : अहिंसा, शान्ति र विश्वबन्धुत्वमा अग्रसर बनौं

 

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली जनता तथा बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न आह्वान गरेका छन्।

 

विश्व शान्तिका अग्रदूत तथा राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले व्याप्त हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्न सक्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले बुद्धका विचारहरू अझै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

 

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘बुद्धले दिनुभएको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नति मात्र होइन, सामाजिक एकता र सहअस्तित्वलाई पनि बलियो बनाउँछ ।’

 

बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरूले पूजा, ध्यान, भिक्षादानलगायतका विविध धार्मिक विधिबाट श्रद्धापूर्वक मनाउने परम्परा रहेको प्रदेश प्रमुखको सन्देशमा उल्लेख गरिएको छ । शुभकामना सन्देशमा उनले  समाजमा सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न बुद्धका शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।


सन्देशमा प्रदेश प्रमुख मियाँले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानवजातिलाई हिंसा र युद्धको बाटो परित्याग गरी अहिंसा, मैत्रता र विश्वबन्धुत्वको मार्गमा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।

 

बुद्ध जयन्तीको उपलक्ष्यमा देशभर सार्वजनिक बिदासहित विविध कार्यक्रमको आयोजना गरी पर्व मनाइँदैछ ।
 

प्रतिकृया दिनुहोस