• बिहीबार-जेठ-१-२०८२

‘एआईले नर्सिङलाई रिप्लेस गर्न सक्दैन’ -डा. साविहा यासमिन

नेपालमा नर्सिङ पेशाका यी हुन् पाँच प्रमुख चुनौती- सरकारी नीति र लगानीको अभाव...!

 

काठमाडौं । चौतर्फी एआईको प्रभावबीच पनि नर्सिङ पेशाको मानवीय संवेदना, करुणा र सेवा भावलाई कुनै प्रविधिले प्रतिस्थापन गर्न नसक्ने नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनको भनाइ छ।

"नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड हुनुहुन्छ," २०८२ वैशाख २८ गते आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा आयोजित विशेष कार्यक्रममा बोल्दै डा. यासमिनले भनिन्, "एआईले नर्सहरूको संवेदना, माया र सेवा भाव कहिल्यै रिप्लेस गर्न सक्दैन।"

उनका अनुसार बिरामीको स्याहार, मनोबल र उपचारमा नर्सहरूको भूमिका पर्दा पछाडिका हिरोसरह महत्वपूर्ण हुन्छ। “तपाईंहरूले यति समर्पणका साथ सेवा गर्नुहुन्छ कि त्यो स्थान कुनै डाक्टरले पनि लिन सक्दैन,” भन्दै उनले नर्सहरूलाई ‘आमाको संज्ञा’ दिइन्।

 

"८० प्रतिशत बिरामी नर्सहरूको स्याहारकै कारण घर फर्किरहेका छन्," डा. यासमिनको दाबी थियो, “जुन दिन नर्स हुँदैनन्, त्यो दिन हेल्थकेयर सिस्टम ध्वस्त हुन्छ।”

‘नर्सिङ पेशा व्यवसायिक हैन, सेवा हो’


कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा. निलमणी उपाध्यायले नर्सहरूप्रति समर्पित कविता वाचन गरे। उनले मातृ मृत्युदर, शिशु मृत्युदर नियन्त्रणदेखि पोलियो उन्मूलनसम्म नर्सहरूको योगदान अविस्मरणीय रहेको बताए।

 

कलेजकी मेट्रोन नविना सिंहले नर्सिङ शिक्षा विस्तारमा सरकारी ध्यान अभाव रहेको उल्लेख गर्दै बन्द गरिएका नर्सिङ कलेजहरू पुनः सञ्चालन गर्नुपर्ने धारणा राखिन्। “नर्सिङ पेशा व्यवसायिक हैन, यो मानव सेवाको पवित्र माध्यम हो,” उनले भनिन्।

 

'नाइटिङ्गेलको सपना हाम्रो प्रेरणा'


कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले नर्सहरूसँग फ्लोरेन्स नाइटिङ्गेलबाट प्रेरणा लिन आह्वान गरे। "विश्वमा आइसियू स्थापना हुने अवधारणा पनि नाइटिङ्गेलकै सोचबाट आएको थियो," उनले स्मरण गरे।

 

सम्मान र सांस्कृतिक प्रस्तुति


१५ वर्षभन्दा बढी सेवा गरेका २९ जना नर्सहरूलाई कार्यक्रममा सम्मान गरियो। प्रबन्ध निर्देशक डा. यासमिन र अस्पताल निर्देशक डा. उपाध्यायले उनीहरूलाई सम्मानपत्र प्रदान गरे।

 

कार्यक्रममा कार्यरत नर्सहरूले आकर्षक नृत्य, गीत र नाटकमार्फत आधुनिक नर्सिङ आन्दोलनकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जीवनी प्रस्तुत गरे।

 

साथै कलेजमा उपचाररत करिब २ सय बिरामीलाई फलफूल वितरण गर्दै नर्सहरूको सेवा भावना जीवित उदारहण प्रस्तुत गरियो।

 

‘द लेडी विद द ल्याम्प’ को सम्झना


फ्लोरेन्स नाइटिङ्गेलको जन्म १२ मे १८२० मा भएको थियो। उनलाई आधुनिक नर्सिङको आधारशिला राख्ने व्यक्तित्वका रूपमा चिनिन्छ। अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो वर्ष ‘हाम्रा नर्सहरू, हाम्रा भविष्य—नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई सुदृढ बनाउँछ’ भन्ने नाराका साथ दिवस मनाइरहेको छ।

 

विश्लेषणः नेपालमा नर्सिङ पेशाको पाँच प्रमुख चुनौती
१. सरकारी नीति र लगानीको अभाव


नेपाल सरकारले स्वास्थ्य शिक्षामा ध्यान दिए पनि नर्सिङ शिक्षाको विकास र विस्तार भने उपेक्षितजस्तै छ। पछिल्ला वर्षहरूमा नर्सिङ कलेजहरू बन्द गरिनु, अनुमति नदिइनुजस्ता निर्णयले दक्ष जनशक्ति उत्पादनमा बाधा पुर्‍याएको छ। जब विश्वभर नेपाली नर्सको माग बढ्दो छ, तब सरकारको नीति उल्टो दिशामा लागेको देखिन्छ।

 

२. रोजगारी सुरक्षा र पेशागत सम्मानमा कमी


निजी अस्पताल वा स्वास्थ्य संस्थामा कार्यरत धेरै नर्सहरू न्यून पारिश्रमिक, अस्थायी करार, कामको भारी चाप र सीमित सुविधा झेलिरहेका छन्। स्थायीत्व, पेशागत सुरक्षा र सामाजिक सम्मानको कमीले अनुभवी नर्सहरू पेशा त्याग्न बाध्य छन्।

 

३. विदेश पलायन र 'ब्रेन ड्रेन'


गुणस्तरीय नेपाली नर्सहरू विश्वभर मागमा छन्। तर पर्याप्त अवसर, तलब, सम्मान र करियर ग्रोथको अभावले उनीहरू विदेशिन बाध्य छन्। नेपालमा नर्सिङ पेशा ‘ट्रान्जिट’को रूपमा हेरिन थालेको छ — अध्ययनपछि विदेशिने सीढीको रूपमा मात्र।

 

४. तालिम र अपग्रेडको अवसर सीमित


नर्सिङ पेशामा नयाँ प्रविधि, उपकरण र उपचार पद्धतिका बारेमा निरन्तर तालिम आवश्यक हुन्छ। तर सरकारी वा निजी तहमा यस्तो व्यवस्था कमजोर छ। कतिपय नर्सहरूले अभ्यासमा अनुभव त लिन्छन् तर ज्ञान अपग्रेड गर्न पाउँदैनन्।

 

५. लैङ्गिक पूर्वाग्रह र सामाजिक दृष्टिकोण


नर्सिङ पेशा अझै पनि ‘महिला पेशा’ भनेर हेर्ने दृष्टिकोण हावी छ। पुरुष नर्सहरूको संख्या न्यून छ भने महिलाहरूलाई पनि सेवा, समर्पणको नाममा ओझेलमा पार्ने प्रवृत्ति कायमै छ। सम्मानभन्दा सहानुभूति धेरै देखिन्छ, जसले पेशाको सामाजिक प्रतिष्ठा घटाउँछ।

निष्कर्ष:
नर्सिङ कुनै सहायक पेशा होइन, यो स्वास्थ्य प्रणालीको मेरुदण्ड हो । नीतिगत सुधार, अवसरको समानता, समुचित पारिश्रमिक, सम्मानजनक वातावरण र निरन्तर तालिमबिनाकाे स्वास्थ्य सुधार केवल खोक्रो नारा मात्र हुनेछ।
 

प्रतिकृया दिनुहोस