अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हालै साउदी अरेबियामा एक ऐतिहासिक भेटवार्ता गरेका छन्। त्यो भेट सधैंका लागि स्मरणीय बन्ने देखिन्छ- किनभने ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानलाई साक्षी राखेर सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल शारासँग हात मिलाएका छन् ।
यी तिनै अहमद अल शारा हुन्, जसलाई केही महिना अघिसम्म अमेरिका स्वयंले ‘विश्वको सर्वाधिक खतरनाक आतंककारीमध्ये एक’ भनेर चिनाउँदै आएको थियो। उनको टाउकोको मूल्य नै अमेरिकी विदेश मन्त्रालयले १० मिलियन डलर तोकेको थियो। तर परिस्थिति अहिले पूर्णतः बदलिएको छ।
सत्ता परिवर्तनपछि धारणा परिवर्तन
गत डिसेम्बरमा अल शाराको नेतृत्वमा रहेको संगठनले दमास्कस कब्जा गर्दै बशर अल असदको लामो शासनको अन्त्य गर्यो । त्यसयता सिरियामा अस्थायी सरकार गठन भयो, जसको कार्यकारी नेतृत्व अल शाराले नै सम्हालिरहेका छन्।
सिरियाको राजनीतिक भूमिकामा आएको यो आकस्मिक परिवर्तनपछि वाशिंगटनले आफ्नो पुरानो नीति पुनरावलोकन गर्दै अल शारालाई आधिकारिक मान्यता दिने संकेत दिन थालेको थियो। ट्रम्पसँगको यो भेट त्यही नीति परिवर्तनको ठोस प्रमाणको रूपमा लिइएको छ।
परम्परा भुलेर कूटनीति अँगाले
भेटवार्ताका लागि अल शाराले आफ्नो परम्परागत अरबी परिधान त्याग्दै आधुनिक थ्री-पिस सूटमा उपस्थित भएका थिए । यसले उनको कूटनीतिक लचकता र अमेरिकी शैलीको कूटनीति अपनाउने इच्छालाई झल्काउँछ। अर्कोतर्फ ट्रम्पले पनि विगतका आरोपहरू भुलेर ‘सिरियामा स्थायित्व र आतंकवादविरुद्धको लडाइँमा नयाँ साझेदारी’ को संकेत दिएका छन्।
युवराज सलमानको मध्यस्थता
यो भेट साउदी युवराज मोहम्मद बिन सलमानको पहलमा सम्भव भएको हो। क्षेत्रीय शक्ति सन्तुलनमा साउदी अरेबियाको भूमिकालाई सुदृढ बनाउने प्रयोजनसहित उनले यो संवादको वातावरण तयार पारेको बताइएको छ। साउदी नेतृत्वले सिरियाको नयाँ सरकारलाई इस्लामी कट्टरवादको विकल्पका रूपमा प्रस्तुत गर्न खोजेको विश्लेषकहरू बताउँछन्।
राजनीतिमा स्थायी मित्र वा शत्रु हुँदैनन् !
अहमद अल शारा र डोनाल्ड ट्रम्पबीचको यो अप्रत्याशित भेटवार्ताले फेरि एकपटक अन्तर्राष्ट्रिय कूटनीतिमा स्थायी मित्र वा शत्रु नहुने यथार्थलाई पुष्टि गरेको छ।
अमेरिकाले जसलाई केही महिना अघि आतंककारी ठहर्याएको थियो, आज उसैलाई ‘नयाँ सिरियाको नेतृत्व’ भनेर हात मिलाउँदैछ।
यस घटनाले सिरिया मात्र होइन, समग्र मध्यपूर्वको राजनीतिक परिदृश्यमा ठूलो मोड ल्याउने आँकलन कूटनीतिक वृत्तमा गरिँदैछ। यतिबेला सबैको ध्यान यही कुरामा केन्द्रित छ- के ट्रम्प र अल शाराको यो हातेमालो टिकिरहनेछ त, वा यो केवल रणनीतिक अभिनयमात्रै हो ?
प्रतिकृया दिनुहोस