काठमाडौं । प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ । वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस समुदायले उभौली पर्व मनाउँछन
किराँत समुदायले मनाउने उभौली र उधौली पर्व कृषि उन्मुख पर्वहरू हुन् । जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने पर्वका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।
उभौलीका अवसरमा चण्डी नाच गरिने भएकाले आजको दिन चण्डी पूर्णिमाको रुपमा पनि लिइन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो । आजै, चण्डेश्वरी जात्राको औपचारिक सुरुवात भएको छ । विशेषतः काठमाडौं नजिकैको बनेपा र आसपासका क्षेत्रमा चण्डेश्वरी जात्रा प्रचलनमा छ ।
यस जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ । वैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाउने गरिन्छ ।
उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
किराँत समुदायको मुख्य पर्व स्याँदर पिदार मनाउन रामेछापको उमाकुण्ड गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।
किराँत लगायत अन्य समुदायले मनाउने स्याँदर पिदार अर्थात् उँभौली पर्व मनाउन बैशाख ३० र ३१ गते सार्वजनिक बिदा दिइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले आइतबार एक सूचना प्रकाशन गरी उमाकुण्ड गाउँपालिकामा किराँत लगायत अन्य समुदायले मनाउने उँभौली पर्व (स्याँदर पिदार) को अवसरमा वैशाख ३० र ३१ गते दुई दिन स्थानीय पर्व बिदा दिएको जानकारी गराएका छन् ।
उँभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान् चाड हो । उँभौली पर्वको रूपमा रहेको किरातहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनि पूजा गर्ने प्रचलन छ । यो प्रकृति पूजा गरी मनाइने पर्व हो ।
यस पर्वमा सुनुवार र राईहरू साकेला÷सखेवा सिली नाच नाच्छन् भने लिम्बु र याक्खाहरूले च्याब्रुङ नाच नाच्ने गर्दछन् । रामेछापको उमाकुण्ड गाउँपालिकामा सुनुवार समुदायको बाहुल्यता रहेको छ ।
प्रतिकृया दिनुहोस