• मंगलबार-बैशाख-१६-२०८२

पुराना महापञ्चहरूद्वारा ‘हुकुम’काे पालनः बुढ्यौलीको भरोसामा राजतन्त्र फर्काउने सपना ?

के उनीहरूमा नयाँ पुस्तालाई आकर्षित गर्ने वैचारिक शक्ति र नवीनता छ ?

 

२०८२ वैशाख ५ गते शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा आयोजना गरेको दिवाखानाले एक पटक फेरि राजतन्त्रको सम्भावनाबारे बहस उठाएको छ। सो दिवाखानामा उपस्थित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बुद्धिमान तामाङ  र सांसद ज्ञानेन्द्र शाही लगायतले पूर्वराजाको ‘हुकुम’ शिरोधार्य गर्दै राजतन्त्रवादी एकता आवश्यक रहेकोमा सहमति जनाए । त्यसको १० दिनपछि २०८२ वैशाख १५ गते भएको महापञ्चहरूको एकता प्रदर्शनले उनीहरू अझै मैदानमा छन् भन्ने देखायो। तर, प्रश्न उठ्छ-के आजको युगमा यी पुराना अनि बृद्ध अनुहारहरूले राजतन्त्र फर्काउने सपना साकार पार्न सक्छन् ?

पूर्वमहापञ्चहरूले यही ढर्राको आन्दोलनलाई निरन्तरता दिन्छन् भने, यो इतिहासमा फेरि एउटा "अनुत्तरदायी प्रयास" को रूपमा मात्र दर्ज हुनेछ।

 


इतिहास दोहोरिन सक्छ त ?

२०२४ सालदेखि २०४७ सालसम्म २४ वर्षसम्म पञ्चायती सत्ताको आनन्द भोग गरेका ८७ वर्षीय नवराज सुवेदी, ७५ वर्षीय केशरबहादुर विष्ट, ७० वर्षीय कमल थापा, र ६० वर्षीय राजेन्द्र लिङ्देनहरू आज फेरि राजतन्त्रको पक्षमा मैदानमा उत्रिएका छन्। यिनीहरू पञ्चायतकालमा मन्त्री, पञ्चायत नीति तथा जाचबुझ समिति राजाका र सल्लाहकार वा शक्तिकेन्द्र वा भनाै पञ्चायती  सत्ताका 'महान मान्छे'  थिए। तर, २०४६/४७ सालको परिवर्तनdf यिनीहरू रमिते बनेर  मौन बसे,  कुनै प्रतिवाद गर्न सकेनन् ।

आज पनि उनीहरू पुरानै नारा, अनुहार र शैलीमा ‘श्रीपेच फर्काउने’ सपना देख्दै छन् । तर, प्रश्न यो हो-राजतन्त्रको संस्थागत ढाँचासँगै हराएको राजनीतिक वैधानिकता आजको सन्दर्भमा पुनःस्थापित कसरी हुन्छ ?


‘हुकुम’ को रणनीति र सीमित दायराको उत्सव

पूर्वराजा ज्ञानेन्द्र शाहकाे ‘निर्देशन’ अनुसार अगाडि बढेको राजतन्त्रवादी जमघट बाहिरबाट हेर्दा ठुलो देखिए पनि यथार्थमा त्यो धेरै सीमित दायरामा र सीमित छ। हामीले देख्यौं-हिजोका सामन्ती संरचना भोगेका, अब सेवानिवृत्त उमेर पार गरिसकेका महापञ्चहरू आज पनि राजनीतिमा मात्रै हाेइन २०६१ सालका कीर्तिनिधि विष्ट र तुलसी गिरी जस्तै पुनरागमन चाहन्छन् ।

यसमा दुई प्रश्न उब्जन्छन्:

१) के जनताले यिनीहरूलाई फेरि स्वीकार्नेछन्?

२) के उनीहरूमा नयाँ पुस्तालाई आकर्षित गर्ने वैचारिक शक्ति र नवीनता छ ?

आजको पुस्ता, जसले लोकतन्त्रभित्र जन्म, पढाइ र राजनीतिक चेतना विकास गरेको छ, उनीहरूका लागि ‘राजा आउ देश बचाउ’ नाराभन्दा सुशासन, पारदर्शिता र रोजगारी महत्वपूर्ण छ। तर, महापञ्चहरूको वकालतमा यी शब्दहरू हराइरहेका छन् ।


राजनीतिक शून्यता वा रणनीतिक चतुरता ?

नेपालमा पछिल्लो समय सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुवैप्रति नागरिकहरूको मोहभंग हुँदै गएको छ । भ्रष्टाचार, अवसरवाद, र विघटनको राजनीति चलिरहेका बेला राजतन्त्र पक्षधरले ‘राजनीतिक शून्य’ को मौका देखेर हस्तक्षेप गर्ने अवसर देखेका हुन्। उनीहरूको लागि यो अवसर हुनसक्छ, तर रणनीतिका हिसाबले भन्नुपर्दा, यसले वर्तमान लोकतान्त्रिक राजनीतिमा असन्तुष्ट जनसमुदायलाई गोलबन्द गर्न सक्ने भए पनि, वैधानिक रुपमा राजतन्त्रको पुनर्स्थापना भने अकल्पनीय देखिन्छ।

विशेषगरी, राजतन्त्र पुनःस्थापनाको संवैधानिक बाटो छैन। संसद, संविधान र चुनावी प्रक्रिया पार नगरी राजतन्त्र फर्काउनु असम्भव मात्र होइन, असंवैधानिक पनि हुन्छ। हिसात्मक बाटाे हाल नेपालमा असम्भव छ । 


राजा पक्षधर युवा पुस्ताको संलग्नता के छ ?

आजको राजतन्त्रवादी आन्दोलनमा कुनै समुचित युवा मोर्चा, राजनीतिक वैकल्पिक खाका, वा आधुनिक अवधारणा देखिँदैन। आन्दोलनमा संलग्न अधिकांश अनुहारहरू पञ्चायतकालका, र सोच पनि सोही कालखण्डको सक्रिय राजतन्त्रकाे चाहना  बन्दै गएको महसुस हुन्छ। पूर्वराजाका नजिकका प्रा.डा. जगमान गुरुङ जस्ता व्यक्तिहरूले 'जेठ १५ मा श्री ५ नारायणहिटी राजदरबार  फर्किन्छन्’ भनेर दिएको उद्घोषपछि हराउनु, स्वयं आन्दोलनको ‘नियोजित रणनीति’माथि प्रश्न खडा गर्छ।


निष्कर्षः इतिहास फर्किन्छ कि बिर्सिन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहको हुकुमपछि राजतन्त्रवादी जमातले एकता प्रदर्शन गरेका छन् । तर यो एकता देखावटीभन्दा शक्तिशाली भएर बाहिर निस्किन सकेको छैन । यसमा वैचारिक स्पष्टता छैन, न त व्यवहारिक योजना नै कुनै  सार्वजनिक भएकाे छ ।

यदि पूर्वमहापञ्चहरूले यही ढर्राको आन्दोलनलाई निरन्तरता दिन्छन् भने, यो इतिहासमा फेरि एउटा "अनुत्तरदायी प्रयास" को रूपमा मात्र दर्ज हुनेछ।

तर, यदि उनीहरूले आधुनिक लोकतान्त्रिक मूल्य र जनभावनालाई बुझ्दै राष्ट्रिय एकता, सुशासन र समृद्धिको मुद्दा उठाएर पुनर्संरचना गर्छन् भने, त्यो एउटा नयाँ ‘राजनीतिक प्रयोग’ बन्न सक्छ। अहिलेको अवस्थामा त्यो सम्भावना भने अत्यन्त न्यून छ।

प्रतिकृया दिनुहोस