काठमाडौं । देशमा राजतन्त्र पुनस्र्थापनाका लागि पछिल्लो समय देखिएको आन्दोलनलाई नियाल्दा, यो आन्दोलनले अब कुन दिशा लिन्छ भन्नेमा प्रश्नहरू गहिरिंदै गएका छन् । २०८१ चैत १५ मा तीनकुनेमा भएको अराजक आन्दोलनपछि राजतन्त्रवादी आन्दोलन एक किसिमले दिशाहीन बन्दै गएको छ । आन्दोलनको नेतृत्वमा देखिएका दुर्गा प्रसार्इंको भूमिकालाई लिएर विवादित बहस भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं सक्रिय रूपमा राप्रपाका नेतासँग लञ्च मिटिङ र छलफलमा जुटिरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आन्दोलनलाई साझा बनाउन, बेमेल अन्त्य गर्न, र राजतन्त्रपक्षधर सबै शक्ति केन्द्रहरूलाई समेट्ने निर्देशन दिए पनि त्यो व्यवहारमा रूपान्तरण हुने संकेत नदेखिनु अर्को चुनौती हो । राजतन्त्रपक्षधरहरुको धारणामा पनि एकरुपता छैन । सडकमा देखा परेका केही समूह कसैले सक्रिय राजतन्त्रको माग गरिरहेका छन् भने राप्रपाले चाहिं संवैधानिक राजतन्त्र भनिरहेछ
पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा राप्रपाका आधा दर्जन नेताहरुसँग विहानी खाना सहित बैठक गरेका थिए । राप्रपा नेताहरूको दलबल सहित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन २०८२ वैशाख ५ गते शुक्रवार पूर्वराजासँगै दिवाभोजका लागि निर्मल निवास पुगेको बताइन्छ । राप्रपाका वरिष्ठ नेताद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षत्रय बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे तथा प्रवक्ता ज्ञानेन्द्र शाही सहभागी भएका थिए ।
राप्रपाले काठमाडौंमा निषेधाज्ञा तोड्ने निर्णय गरे (२०८२ वैशाख ४ गते)को भोलिपल्ट निर्मल निवासले गरेको राजनीतिक छलफललाई अर्थपूर्ण मानिएको छ । यस बैठकमा आगामी आन्दोलनको स्वरूप, त्यसमा भारतको सम्भावित समर्थन, र दक्षिणतर्फको कूटनीतिक भूमिका बारे गहन छलफल भएको स्रोतहरू बताउँछन् । उक्त बैठक केही हप्ताअघि दुर्गा प्रसार्इंलाई दिइएको हौसला जस्तै गरी आन्दोलनलाई पुनः ‘रिचार्ज’ गर्ने प्रयासका रूपमा हेरिएको छ ।
यद्यपि, यो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले आन्दोलनलाई शान्तिपूर्ण बनाउन र व्यापक एकता कायम गर्न सुझाव दिएको जनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले महापञ्च, राप्रपाका पूर्व नेताहरू, युवाशक्ति सबैलाई एउटै उद्देश्य राजतन्त्र पुनस्र्थापनाका लागि जोडेर एकीकृत आन्दोलन अघि बढाउने खाका कोरेको बताइन्छ । तर, आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट नहुँदा रणनीतिक अन्योल अझै छ ।
भारतको ‘साथ’ को यथार्थ के हो ?
राजतन्त्रवादी वृत्तमा भारतको समर्थन छ भन्ने चर्चाले काठमाडौंको राजनीतिक वृत्तमा धेरै चर्चा पाएको छ । कतिपय विश्लेषकहरू यो हल्लालाई जानाजान फैलाइएको भन्दछन्, जसबाट आन्तरिक उत्साह बढाउने उद्देश्य देखिन्छ । तर, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै भारतको आधिकारिक धारणा के हो भन्ने विषयमा स्पष्ट नभएको बताएका छन् ।
प्रचण्डले आफूले भारतसँग यस विषयमा बुझ्दा खास किसिमको समर्थन रहेको अनुभूति नगरेको पनि बताइसकेका छन् । यस्तो अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाह भारतको साथ खोजिरहेका छन् भन्ने कुराले अझै औपचारिकता पाउन सकेको छैन । बरु, भारतपक्षीय चासोको अपेक्षामा आन्दोलनको रणनीति तयार पारिएको हो कि भन्ने प्रश्न उब्जिएको छ ।
राप्रपाको कमजोर रणनीति
र आन्दोलनको मन्दगति
सडक आन्दोलनको जिम्मा लिएको प्रमुख शक्ति राप्रपाले पनि अपेक्षित प्रभाव देखाउन सकेको छैन । आन्दोलनलाई शान्तिपूर्ण तर प्रभावशाली बनाउने पक्षमा नेताहरू स्पष्ट नदेखिंदा, राजतन्त्र पुनस्र्थापनाको आन्दोलन आन्तरिक खिचातानीमै अल्झिएको देखिन्छ । राजतन्त्र पुनस्र्थापनाका लागि भित्रभित्रै सक्रिय बुद्धिजीवीहरुको समूह भने आन्दोलन त बाहिर देखाउने कुरा मात्रै हो, वास्तविक रुपमा हामीले खोजेको त ‘राजतन्त्र कि गणतन्त्र भन्ने जनमत संग्रह हो’ भन्छन् ।
२०८२ वैशाख ७ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ लगायतको गिरफ्तारीले आन्दोलनलाई केही मात्रामा ‘स्पार्क’ दिने कोसिस गरिएको देखिए पनि, आन्दोलन त्यसअनुसार भड्किएको भने छैन । पक्राउ लगत्तै अध्यक्ष लिङ्देन, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपा युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई रिहा गरिएको छ । यो गिरफ्तारी रणनीतिक रूपमा राप्रपालाई ‘मास अपिल’ दिन खोजिएको कूटनीतिक चाल हो कि भन्ने प्रश्न पनि उठेको छ ।
निर्मल निवास सक्रिय
तर, सशक्त नेतृत्वको खाँचो
पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको तर्फबाट जारी सक्रियता भने आन्दोलनलाई पुनः दिशा दिन खोजिएको संकेत हो । तर, नेतृत्व कसले गर्ने, कसरी गर्ने, र जनसाधारणलाई आन्दोलनमा कसरी आकर्षित गर्ने भन्ने प्रश्नमा अझै स्पष्ट योजना देखिएको छैन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आन्दोलनलाई साझा बनाउन, बेमेल अन्त्य गर्न, र राजतन्त्रपक्षधर सबै शक्ति केन्द्रहरूलाई समेट्ने निर्देशन दिए पनि त्यो व्यवहारमा रूपान्तरण हुने संकेत नदेखिनु अर्को चुनौती हो । राजतन्त्रपक्षधरहरुको धारणामा पनि एकरुपता छैन । सडकमा देखा परेका केही समूह कसैले सक्रिय राजतन्त्रको माग गरिरहेका छन् भने राप्रपाले चाहिं संवैधानिक राजतन्त्र भनिरहेछ ।
निष्कर्षः
राजतन्त्र पुनस्र्थापनाको नाममा भइरहेको आन्दोलन अहिले ‘अन्तिम लडाइँ’को तयारीजस्तो देखिए पनि वास्तविक रूपमा त्यसको भित्री ऊर्जा क्षीण हुँदै गएको आंकलन गर्न सकिन्छ । जनताभित्रको स्वाभाविक समर्थनभन्दा बढी नेतृत्वको रणनीति, विदेशीसँगको सम्बन्ध, र पार्टीभित्रको एकता महत्वपूर्ण हुने देखिन्छ ।
यदि आन्दोलन शान्तिपूर्ण, योजनाबद्ध, र आम नागरिकको भावना समेट्ने ढंगले स्पष्ट माग सहित अघि बढेन भने, यो आन्दोलन पनि विगतका अन्य प्रयासझैं इतिहासको एक पानामा सीमित हुने सम्भावना प्रबल देखिन्छ । (साँघु साप्ताहिक, २०८१ वैशाख ८)
प्रतिकृया दिनुहोस