• बिहीबार-बैशाख-४-२०८२

रासायनिक मलको अभाव

 

काठमाडौं । यो सिजनमा हिउँदे बाली चैते धान र मकै खेतीका लागि रासायनिक मलको अभाव नहुने बताइएको छ । किसानहरूले बाली लगाउने सिजनमा रासायनिक मल अभाव भएको गुनासो गरेपनि वितरण प्रणालीका मात्र यस्ता गुनासाहरु बाहिर आएको हुनसक्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारले रासायनिक मल खरिदका लागि आवश्यक बजेट अनुदान रकम विनियोजन गरेको दावी मन्त्रालय स्रोतको भनाई रहेको छ । विदेशबाट अनुदानको मल पनि उल्लेखनीय मात्रामा आयात हुनेक्रममा रहेको बताइन्छ ।


तरपनि आपूर्ति र वितरणमा देखिएको हेलचक्राइले बजारमा यदाकदा रासायनिक मलको अभाव भएको किसानहरु बताउँछन् । मन्त्रालय स्रोतका अनुसार नेपालमा वार्षिक ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता रहेको छ । सो परिमाणको मल खरिदका लागि सरकारले २७ अर्ब ९५ करोड रूपैयाँ बजेट चालु आर्थिक वर्षमा बिनियोजन गरेको थियो । मन्त्रालयले गत पुसमै अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता गर्दै ग्लोवल टेण्डरमार्फत आयातकर्ता कम्पनीहरुसँग ठेक्का संझौता गरिसकेको स्रोतले दावी गरेको छ ।


केही मेट्रिक टन रासायनिक मल विदेशबाट मल आयात हुनेक्रममा रहेको छ बताइएको । २०८१ चैत्र १५ गते भित्र २ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात भैसकेको स्रोतको दाबी रहेको छ । यो बीचमा पुरानो स्टक मल ७० हजार मेट्रिक टन र हालै आयात भएको मल गरी करिव ३ लाख मेट्रिक टन मल किसानमाझ पुगिसकेको बताइएको छ । कृषि सामग्री कर्पाेरेशन लिमिटेडले सातवटै प्रदेशका प्रादेशिक कार्यालयहरूमा उपलव्ध गराइसकेको मन्त्रालय स्रोतले दावी गरेको छ ।


प्रादेशिक कार्यालहरुले विभिन्न सहकारी संस्था र स्थानीय तहको मागलाई ध्यानमा राखेर उपलव्ध गराउँदै आएको स्रोत बताउँछ । छिमेकीमुलुक भारतबाट पनि युरिया र डिएपी मल ३० हजार मेट्रिक टन जिटुजीमार्फत आयात गर्नेगरी छलफल भइरहेको समाचारस्रोतले जानकारी दिएको छ । तर, यतिखेर वितरण प्रणालीमा चुस्तता नहुँदा वास्तविक किसानहरूले मल पाउन नसकेको गुनासो भने गर्न छाडेका छैनन् । थोरै परिमाणममा सहकारी संस्था र साल्ट ट्रेडिङ कर्पाेरेसनका डिपोहरूमा पुगेको बताइन्छ ।


माग भन्दा आपूर्ति कम हुँदा मल खरिद गर्न सहकारी संस्थाहरुमा किसानहरूको भिडभाड बढेको पीडित किसानहरुले गुनासो गरेका छन । मल खरिद गर्न डिपोमा आएका किसानहरूले आफुले चाहेको परिणाममा मल खरिद गर्न पाएका छैनन र मागको एक तिहाइ पनि मुस्किलले पाउने गरेका पीडितहरुको भनाई रहेको छ ।


जसमा सरकारी अनुदान रकम, वैदेशिक खरिद ठेक्का, आयात समय, भन्सार क्लियरिङ, ढुवानी, आन्तरिक आपूर्ति, वितरण प्रणालीमा ढिलासुस्ती र चुस्त व्यवस्थापन नहुँदा प्राय हरेक सिजनमा किसानले अभाव झल्दै आएका छन । अझै धान, मकै, गहुँ, चैते धान, उखुलगायतका नगदे र तरकारी बाली लगाउने सिजनमा किसानले मलको अभाव झेल्दै आएका छन । मन्त्रालयले वार्षिक ५ लाख मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर आव्हन गरिसकेको छ । ठेक्का व्यवस्थापन पछि केही परिणाममा आयात पनि भइसकेको बताइएको छ ।


टेण्डर संझौतापछि पनि अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढदा त्यसको सिधा असर आयातमा पर्दै आएको बताइन्छ । घाटा बेहोरेर आयातकर्ता व्यवसायीले आयातमा ढिलाई हुँदा पनि त्यसको मार भने नेपाली किसानहरुले नै खेप्नुपर्ने बाध्यता देखिन्छ । कतिपय अवस्थामा भित्रिसकेको मल समयमा ढुवानी हुन नसकेर वितरण प्रणालीमा समस्या हुँदा खेती बाली लगाउने सिजनमा प्राय रासायनिक मलको अभाव हुने गरेको स्रोत बताउँछ । मल खरिदको लागि ग्लोवल ठेक्का लागेको करिब २ सय २६ दिन अर्थात् ८ महिनामा मात्र भन्सार नाकामा आइपुग्ने मन्त्रालयका उच्च तहका कर्मचारीले बताएका छन् । (साँघु साप्ताहिक, २०८१ चैत २५)

प्रतिकृया दिनुहोस