काठमाडौं । २०८१ चैत १५ गते शुक्रवार राजतन्त्रवादीले गरेको प्रदर्शनका क्रममा एकजना पत्रकार र आन्दोलनकारीसहित २ जनाको ज्यान गयो । प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भयो । राजतन्त्रवादी प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि पनि ढुंगामुढा गरे । प्रदशर्नकारी र सुरक्षाकर्मी दुबैतर्फ एकसय दस जना घाइते भए । प्रहरीका अनुसार ७ वटा सरकारी र ९ वटा निजी सवारीसाधनमा गंभीर क्षति पुग्यो । प्रदर्शनका क्रममा जडीबुटी कम्पनीसमेत १४ स्थानमा आगजनी गरिए । आठवटा वटा कार्यालय र संस्थामा तोडफोड भयो भने एउटा व्यापारिक केन्द्रमा लुटपाट भयो ।
मानवीय भौतिक क्षतिका यी तथ्यतथाङ्क एकातिर रहे पनि प्रहरीद्वारा प्रयोग गरिएको म्याद गुज्रेको विषाक्त अश्रु ग्यासको चर्चा पनि यतिबेला चलिरहेको छ । अराजक र उत्तेजित प्रदर्शनकारीलाई तितरवितर पार्न सुरक्षाकर्मीले अश्रुग्यांसका सयौं सेलहरु हानेको थिए । हानिएका ती सेलमध्ये कतिपय सन् २०१२ सालमै म्याद गुज्रेको अवस्थामा रहेको फेला परेका छन् । भिडलाई नियन्त्रणमा लिन किन सुरक्षाकर्मीले म्याद सकिएको अश्रु ग्यास प्रहार ग¥यो भनेर यतिबेला प्रश्न उठिरहेको छ ।
यस विषयमा अनुगमनका लागि प्रदर्शनस्थल पुगेका मानवअधिकारवादी संघ÷संस्था र राष्ट्रिय मानवअधिकार आयोगका कर्मचारीले पनि चासो राखेका थिए । प्रदर्शनकारीले कतिपय म्याद सकिएका ग्यासका ‘डिब्बा’ पनि अधिकारकर्मीलाई थमाए ।
सडकमा भेटिएका अश्रु ग्यासका सेलहरू सन् २०१२ मार्चमै अवधि सकिएको भेटिएका छन् । म्याद गुज्रिएको अश्रु ग्यास भिड तितरवितर पार्न प्रभावकारी नहुने, तर मानव स्वास्थ्यमा भने नराम्रो अस पु¥याउने सुरक्षाका जानकार बताउँछन् । म्याद गुज्रिएका अश्रु ग्यासमा आँखा पोल्ने पिरोको मात्रा कम हुन्छ । यसकारण प्रभाव कम हुन्छ । सरकारसँग अश्रुग्यासको मात्रा कम भएका कारण १२ वर्षअघिको म्याद गुज्रिएको प्रयोग गर्न बाध्य भएको हो कि भन्ने कोणबाट पनि टिप्पणी भइरहेको छ । केही समय अघि रूपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अनधिकृत कब्जा गर्नेविरुद्ध १० वर्षअघि म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्न बाध्य भएको समाचार बाहिरिएको थियो ।
मोतीपुर घटनामा सरकारले खरिद गर्ने अनुमति नदिँदा बाध्य भएर १० वर्ष अघिकै अश्रुग्यास प्रयोग गरिएको भनाई सुरक्षा अधिकारीबाट आएको थियो । विज्ञहरु म्याद सकिएको अश्रुग्यास मानव स्वास्थ्यका लागि विष सरह मानिने बताउँछन् । त्यसको असरले मानिसको मृत्यु समेत हुनसक्छ । कानूनतः अश्रुग्यासको म्याद सकिने वित्तिकै नष्ट गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म किन नष्ट नगरी राखियो भनेर सरकारमाथि प्रश्न उठेको छ । तीनकुने घटनामा भिड नियन्त्रणका गर्नका लागि विकल्पविहीन अवस्थामा म्याद गुज्रेको अश्रुग्यास प्रयोग गरिएको हो वा मौजदात् हुँदाहुँदै जानाजान् प्रयोग भएको हो भनेर सुरक्षा निकायले आफ्नो आधिकारिक धारणा प्रष्ट पारेको छैन ।
तर, एकजना प्रहरी अधिकृतले बताए अनुसार, सामान्यतया अश्रुग्यास प्रयोगबारे भिडमा धेरैको ध्यान नजाने भएकाले पनि प्रहरीले कहिलेकाहीँ यसरी म्याद गुज्रेको अश्रु ग्यास प्रयोग गर्नेगर्छ । ती अधिकृतका अनुसार, अश्रुग्यासको आयु सामान्यतया ५ वर्षको मात्र हुन्छ । तर सन् २०१२ मा म्याद सकिएको अश्रु ग्यास यतिबेला किन प्रयोग गरियो भनेर आश्चर्यसँगै शंकाउपशंका पनि उब्जेको छ । (साँघु साप्ताहिक, २०८१ चैत १८)
प्रतिकृया दिनुहोस