• सोमबार-चैत-१८-२०८१

किस्ताबन्दीमा पदस्थापन र सरुवा : गृहका कर्मचारीमा असन्तुष्टि !

 

काठमाडौँ । गृह मन्त्रालयले किस्ताबन्दीमा कर्मचारीको सरुवा, पदस्थापन र जिम्मेवारी हेरफेर गर्दै आएको छ । यही मेसोमा चैत ६ गते बुधवार मन्त्रालयले आधा दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । मन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडी र कर्मचारी प्रशासन महाशाखा प्रमुख छवी रिजालले आफू प्रतिकूलका कर्मचारीलाई मन्त्रालयमा सरुवा गरेर विभिन्न सात जिल्लामा अनुकूलकालाई प्रजिअको जिम्मेवारीमा खटाएको गृह स्रोतले बताएको छ ।


मन्त्रालयमा विभिन्न निकायबाट सरुवा भएर भित्रिएका सहसचिव र उपसचिवलाई समयमै व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्रालयको नेतृत्व आलोचित हुँदै आएको छ । यसअघि मन्त्रालयले कतिपय जिल्लामा सहसचिव प्रजिअ रहने दरबन्दीमा उपसचिवलाई खटाएको थियो । सहसचिवहरूलाई बरन्डामा थन्क्याएर उपसचिवहरूलाई ती जिल्लाहरुमा खटाइएको भन्दै मन्त्रालयको नेतृत्वप्रति कर्मचारीहरुले नै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । तर, कतिपय जिल्लामा भने सहसचिव दरबन्दीमासमेत उनीहरु जान नमान्दा समस्या देखिएको थियो ।


यही विषयलाई मध्यनजर गर्दै मन्त्रालयले चैत ६ गते बुधवार आधा दर्जन भन्दा बढी जिल्ला प्रशासन कार्यालयहरुमा नयाँ प्रजिअहरुलाई खटाएको बताइन्छ । सरुवा विवरण अनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र हेरफेर गरिएको बताइन्छ । मन्त्रालयले कपिलवस्तुमा कार्यरत प्रजिअ विश्वप्रकाश अर्याललाई मन्त्रालयमा सरुवा गरेको छ ।


सो जिल्लामा भने भरखरै सहसचिवमा फाइल बढुवा भएर मन्त्रालयमा भित्रिएका दिलकुमार तामाङलाई पदस्थापन गरेको छ । मन्त्रालयले सुर्खेतमा कार्यरत प्रजिअ शंकरहरि आचार्यलाई गृहमा तानेको छ । सो जिल्लामा भने मन्त्रालयको जगेडामा रहेका सहसचिव जगदीश्वर उपाध्यायलाई खटाएर पदस्थापन गरेको छ । उदयपुरमा कार्यरत प्रजिअ हरिप्रसाद घिमिरेको जिम्मेवारी हेरफेर गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा खटाएको छ । केही समय अगाडि मात्र सहसचिवमा बढुवा भएका भविश्वर पाण्डेलाई भने जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पदस्थापन गरिएको बताइन्छ । सो जिल्लामा कार्यरत प्रजिअ अरुण पोखरेललाई मन्त्रालय सरुवा गरिएको छ । मन्त्रालयले सहसचिव कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङमा पदस्थापन गर्दै प्रजिअको जिम्मेवारी दिएको छ । बागलुङमा कार्यरत प्रजिअ नेत्र प्रसाद सुवेदीलाई मन्त्रालयमा तानेको छ ।


मन्त्रालयको बरण्डामा रहेका सहसचिव प्रेम प्रसाद लुईंटेललाई जिल्ला प्रशासन कार्यालय उदयपुरमा पदस्थापन गरिएको छ । मन्त्रालयले आनन्द सारूलाई अछामको प्रजिअमा खटाएको छ । उक्त जिल्लामा कार्यरत शिवप्रसाद लम्साल र पर्वतबा केदारप्रसाद शर्मालाई झिकेर मन्त्रालयमा सरुवा गरेको बताइन्छ । मन्त्रालयले जिम्मेवारीमा खटाएका प्राय फाइल बढुवा भएर मन्त्रालयमा भित्रिएका सहसचिवहरुको पदस्थापन गरेको बताइएको छ । अझै पनि मन्त्रालयमा विभिन्न जिल्लाको प्रजिअबाट झिकेर थन्क्याइएका सहसचिवहरु बरण्डामै हाजिर गरेर दिन कटाउँदै आएका छन् ।


उनीहरुलाई जिम्मेवारी दिन मन्त्रालयको नेतृत्वले कन्जुस्याँईं गरेको भन्दै असन्तुष्टि जाहेर गर्दै आएका छन् । यतिखेर मन्त्रालयमा जिम्मेवारी नपाउने सहसचिवहरुको संख्या ठूलै रहेको छ । सहसचिवहरु ईश्वरी प्रसाद अर्याल, माधवप्रसाद पोखरेल, बन्धु लक्ष्मण ढकाल, बलराम रिज्याललगायत नौ जना जिम्मेवारीविहीन रहेका छन् । सिडिओ जिल्लाको प्रशासनिक प्रमुख हुने, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू उनकै मातहत रहने हुँदा सो पदलाई आकर्षक मानिन्छ । शान्ति सुरक्षा, अमनचयन, सुशासन कायम गर्न जिल्लाहरुमा प्रजिअहरुको महत्वपूर्ण भूमिका रहने गरेको छ ।


 तराईका सीमा क्षेत्रबाट दुई नम्वरी व्यापार र केही उद्यमीबाट पनि अतिरिक्त आम्दानी गर्न सकिने हुँदा भ्रष्ट प्रवृत्तिका केही उपसचिव र सहसचिवहरू प्रजिअ भएर जिल्लामा जान गृह प्रशासनतिर आकर्षित हुँदै आएका छन् । तरपनि मन्त्रालयका केही हर्ताकर्ता कर्मचारीहरुले आफू अनुकूलका कर्मचारीहरुलाई जिम्मेवारीमा खटाएर अन्यलाई भने हूर्मत लिने कार्य गर्दै आएको भन्दै असन्तुष्टि जाहेर गर्ने गरेको बुझिएको छ । (साँघु साप्ताहिक, २०८१ चैत ११)
 

प्रतिकृया दिनुहोस