• बिहीबार-चैत-७-२०८१

‘गणतान्त्रिक सुशासन’को यो हविगत : मन्त्रीको मनपरीले जगेडामा उच्च अधिकृत

 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहमा सरुवा भएर जान चाहना राख्ने कर्मचारीहरुलाई लापर्वाही ढंगले खटाउँदा भद्रगोल मच्चिएको गुनासो बाहिर आएको छ । दरवन्दी भन्दा बढी उपसचिव र सहसचिवहरूलाई सामान्य मन्त्रीले सरूवा गरेको भन्दै उसको अव्यवहारिक कार्यशैलीप्रति गृहमा असन्तुष्टि छाएको बताइन्छ । 


हचुवाको भरमा कर्मचारी सरूवा गरेको कारण अहिले गृह मन्त्रालयमा दरबन्दी भन्दा ६ जना बढी सहसचिव थुप्रिन पुगेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ती सहसचिवलाई अब कहँँ कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयको नेतृत्वलाई चुनौती आइलागेकोे बताइएको छ ।


 गृहबाट अन्य मन्त्रालयमा सरूवा हुन चाहाने सहसचिवलाई बाहिर सरुवा गरेर उनीहरूलाई भने मातहत निकायमा जिम्मेवारी दिने सोचमा गृहका अधिकारीहरू पुगेका छन् । अहिले एक सहसचिव र तीन उपसचिवलाई निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख) (१) विपरीत अतिरिक्त समूह (जगेडा) मा राखेको पाइएको छ । उक्त ऐनको दफा १८ को उपदफा (ख) (१) मा लामो विदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएका कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्नेमाबाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई महिना दिन भन्दा बढी अवधिसम्म राख्न नमिल्ने उल्लेख छ ।


तर, गृह मन्त्रालयमा हाजिर गरेको दुई महिना भन्दा बढी समय हुँदासम्म पनि एक सहसचिव र तीन उपसचिवले अझै जम्मेवारी पाउन सकेका छैनन् । सहसचिव बन्धुप्रसाद बास्तोला मन्त्रालयमा हाजिर भएको दुई महिना भन्दा बढी समय भइसकेको ,छ तरपनि उनले अहिलेसम्म कतै जिम्मेवारी पाएका छैनन् । उनी ०८१ पुस २६ गते मन्त्रालयमा हाजिर भएको स्रोत बताउँछ । स्रोत भन्छ ‘उपसचिवहरू खेमराज ओझा, कैलाश बहादुर ठकुराठी, सुवास पौडेल र अमरदीप सुनुवार पनि गृह मन्त्रालयमा हाजिर भएको दुईदेखि चार महिना भन्दा बढी समय बितिसकेको छ ।’ उनीहरुले पनि अझै जिम्मेवारी पाउन सकिरहेका छैनन् ।


उपसचिव ओझा २०८१ कात्तिक ४ गते, ठकुराठी मंसिर ५ गते र सुनुवार १७ गते मन्त्रालयमा हाजिरभएको स्रोतले जनाएको छ । यी बाहेक सहसचिव प्रेम प्रसाद भट्टराई र उपसचिव सहदेव रायमाझी मन्त्रालयमा हाजिर भएको दुई महिना भन्दा बढी समय बितिसकेको छ । उनीहरूलाई पनि जिम्मेवारी दिने सुरसार मन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडी र प्रशासन महाशाखा प्रमुख सहसचिव छबि रिजालले गरेका छैनन् । सहसचिव भट्टराई र उपसचिव रायमाझी २०८१ पुस २७ गते मन्त्रालयमा भित्रिएको बताइन्छ । उनीहरुबाहेक गृहमा १४ सहसचिव र दुई उपसचिव अझै बरण्डामा रहेको बताइन्छ ।

 

मन्त्रालयको बरण्डामा रहेका सहसचिवहरूमा रामकृष्ण अधिकारी, नारायणप्रसाद रिसाल, भविश्वर घिमिरे, लक्ष्मण ढकाल, दीपकराज नेपालहरुसहितका छन् । उपसचिव अञ्जनकुमार न्यौपानेलगायत पनि जगेडामा छन् । निजामती सेवा ऐनको दफा १८ (ख) (१) मा भएको व्यवस्था विपरीत जिम्मेवारी नदिई राख्न निषेध गरिएको छ । सो विपरीतको कार्य गरेमा जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएको पदाधिकारीलाई विभागीय कारबाही हुने व्यवस्था ऐनको दफा १८ (ख) (२) ले गरेको छ । निजामती सेवा ऐन अनुसार मन्त्रालयअन्तर्गत सहसचिवलाई सरुवा गर्ने र  जिम्मेवारी दिने अधिकार विभागीय मन्त्रीलाई रहनेछ ।

 


शाखा अधिकृत र उपसचिवलाई सरुवा गर्ने र जिम्मेवारी दिने अधिकार सचिवमा निहीत रहेको छ । मन्त्री लेखक र सचिव दुवाडीले मन्त्रालयमा दरबन्दी भन्दा बढी सहसचिव र उपसचिव पठाउँदा पनि समान्य प्रशासन मन्त्रालयको नेतृत्वप्रति प्रतिवाद नगरेर मौन बस्दै आएका छन् । जसका कारण सिङ्गो मन्त्रालय नै बद्नाम हुन पुगेको छ । 

 

 मन्त्री लेखकले मन्त्रालयले गर्ने कर्मचारीको सरुवा, बढुवा, पदस्थापन भन्दा पनि नीतिगत विषय र कानून निर्माणमा मात्र ध्यान केन्द्रित गर्दै आएको स्रोतको भनाई रहेको छ । त्यही भएर मन्त्री लेखकका निजी सचिव बद्री तिवारी, कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रिजाल, शान्ति सुरक्षा महाशाखाका सहसचिव रामचन्द्र तिवारी र सचिव दुवाडीलगायत केही हर्ताकर्ता कर्मचारीहरुको सरूवा र बढुवा र पदस्थापनमा उनीहरुको मनपरी चलेको निरन्तर गुनासो सुनिने गरेको छ । (साँघु साप्ताहिक, २०८१ चैत ४)
 

प्रतिकृया दिनुहोस