• शुक्रबार-फाल्गुण-२३-२०८१

एमालेका प्रिय नै किन लखेटिए ?


काठमाडौं । सहसचिव हरिशरण पुडासैनी र उनका दाजु पूर्व सचिव रामशरण पुडासैनी विद्यार्थीकालदेखि नै नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु पाँचौमा सक्रिय रहेका थिए । सरकारी सेवामा प्रवेश गरेपछि पनि उनीहरु नेपाल निजामती कर्मचारी संगठन, पेशागत महासंघ हुँदै पार्टीनिकट रहेर कामगर्दै, सरकारी सेवा मस्तीमार्दै आएका थिए । एमाले सरकार रहँदा अर्थ मन्त्रालयमा उनीहरुको रजगज नै चल्ने गरेको थियो ।


  यी एमालेका प्रिय दुई भाईलाई हाल चाहिं महत्वपूर्ण जिम्मेवारीबाट बन्चित गरिकोमा एमालेका नेता, कार्यकर्ताहरूले आश्चर्य व्यक्त गर्न थालेका छन् । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३ भद्रवास निवासी पुडासैनी दाजुभाई पालैपालो अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखसमेत भएर काम गरेका थिए । कुनै समय अर्थका आकर्षक निकायहरू उनीहरूकै कब्जामा रहने गरेको थियो ।

 

हाल चाहिं प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारीमा रहेका विष्णुप्रसाद पौडेल उनीहरुको कार्यशैली र व्यवहारबाट रुष्ट भएको प्रष्ट रुपमा बाहिर आएको छ । यसको उदाहरण नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहँदा पनि पूर्व राजस्व सचिव रामशरण पुडासैनीले राष्ट्रिय बीमा प्राधिकरणको अध्यक्ष पद हात लगाउन  सकेनन् । रामशरणलाई ‘सेकेन्ड’ बनाउँदै बीमा सम्बन्धी कुनै अनुभव नभएका ३३ वर्षीय युवा सञ्चारकर्मी शरद ओझा प्राधिकरणको अध्यक्ष पद पड्काउन सफल भए । प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले चाहेको भए कुनैपनि हालतमा रामशरणले प्राधिकरणको अध्यक्षको जिम्मेवारी हात पार्नसक्ने जानकारहरु बताउँछन् ।


मुख्यसचिव एकनारायण अर्यालका सहसचिवका ब्याची रामशरण हरेक हिसाबले पनि प्राधिकरणको अध्यक्षको बलियो दावेदार मानिन्थे । तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशक भएर जाँदा रामशरणले बीचैमा उनलाई विस्थापित गरेर मासिक ३० लाख सेवा सुबिधा लिनेगरी फिलिपिन्सको मनिला हानिएका थिए । त्योभन्दा अघि उनी अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारीमा रहेर मोज गरेका थिए । 


मनिलाबाट फर्किएपछि पनि उनी प्रदेश सचिवमा नगई सीधै अर्थ मन्त्रालयको कामु राजस्व सचिव र त्यसपछि भने सचिवको जिम्मेवारी लिएर सेवा निवृत्त हुने भाग्यमानी हुन पुगेका थिए । उनी अहिले कृषि विकास बैंक लिमिटेडको अध्यक्ष छन् । सबै परिस्थिति अनुकूल हुँदा पनि उनै रामशरण प्राधिकरणको अध्यक्ष रहर गर्दागर्दै केपी ओलीले बचन दिंदादिंदै पनि किन बन्न केनन् भन्ने प्रश्न उठ्ने गरेको छ । एमाले सत्तामा हँुदा र कर्मचारी वृत्तको नेतृत्वमा रहँदा पनि पुडासैनीको प्रभाव किन घट्न पुग्यो अनुमान लगाउन कुनै आइतवार कुरिरहनु नपर्ने जानकारहरु बताउँछन् ।


 यसको बतलव उनीहरु एमाले भन्ने, अवसर लिने तर, जिम्मेवारी, दायित्व, कार्यसम्पादन चाहिं लाजमर्दो भएका कारणले अब अवसर छोप्नबाट बञ्चित हुनु परेको एमाले कार्यकर्ताहरूको विश्लेषण रहेको छ । रामशरण मात्र होइन उनका आफ्नै सहोदर भाइ हरिशरणको पनि त्यही हालत हुन पुगेको छ । उनले चारवर्ष चीनको महावाणिज्यदूत भएर मोजमस्ती गरेर स्वदेश फर्कनासाथ तत्कालीन सरकारले २०८१ मंसिरमा बागमती प्रदेश सचिवमा खटाएको थियो । सो प्रदेशबाट उनीलाई २०८१ साउन ३० गते अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो । लगत्तै अर्थमन्त्री पौडेलले भन्सार विभागको जस्तो महत्वपूर्ण विभागको महानिर्देशकको जिम्मेवारीमा खटाएका थिए । उनलाई अर्थमन्त्री पौडेलले ६ महिना नबित्दै जिम्मेवारीमुक्त मात्र गरेका छैननकि अर्थ मन्त्रालयबाट खेदेर योजना आयोगतिर हुत्याएको अर्थमा चर्चा हुने गरेको छ ।


एमाले सत्तामा रहेको बखत दाजु रामशरण एसियाली विकास बैंकको वैंकल्पिक कार्यकारी निर्देशकमा जागिर खान फिलिपिन्सको मनिला गएपछि भाई हरिशरण अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी संहाल्न पुगेका थिए । त्यसपश्चात ग्वान्जाओको महावाणिज्यदूत र अर्थको चावी एमालेको हातमा पर्नासाथ उनी पुन अर्थमा मात्र प्रवेश गरेनन्कि भन्सार जस्तो आकर्षक विभागको नेतृत्व नै पड्काउन सफल भए ।

 

तर, उनको कार्यशैली, लक्ष हासिल गर्ने जिम्मेवारी र व्यवहार राम्रो नभएको महसुस गरेर अर्थ मन्त्रालयबाट बाहिर खेदिएका छन् । दाजु रामशरण अर्थ मन्त्रालयको राजस्व सचिव हुँदा अर्का भाई सुरेश पुडासैनी परराष्ट्र मन्त्रालयमा लेखापालको रुपमा कार्यरत रहेका थिए । त्यहीँबखत उनलाई बेईजिङस्थित नेपाली राजदूतावासमा रहेको लेखापालको दरबन्दी क्यानबेरा स्थानान्तरण गरेर त्यसतर्फ खटाइएको थियो । कुनै बेला अर्थ मन्त्रालयमा बसेर रजगज गरेका पुडासैनी दाजुभाईहरु अहिले विस्तारै किन साइड लगाइदैछन् भन्ने प्रश्न अर्थ मन्त्रालयका कर्मचारीले उठाएका छन । 


एमाले निकट दाजुभाइलाई नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्रीद्वय डा.रामशरण महत र डा.प्रकाशशरण महत दाजुभाईसँग तुलना गरिने गरिएको छ । एमाले सत्तामा हुँदा पुडासैनी दाजुभाईले कर्मचारी भएर जति अवसर र लाभ लिए, कांग्रेस सत्तामा हुँदा महत दाजुभाईले पनि उत्तिकै लाभ उठाएको चर्चा चल्ने गरेको छ । महतका दाजुभाई पनि आलोपालो गरी गुट अदलबदल गरेर अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने भाग्यमानीमा दर्ज हुन पुगेका छन् । यतिखेर दाई रामशरण विरामीमा कारण लगभग राजनीतिबाट किनारा लागिसकेका छन् । भाई प्रकाशशरण नेपाली कांग्रेसको पार्टी प्रवक्ताको भूमिकामा रहेका छन् ।


तर, सभापति शेरबहादुर देउवा समूहसँगै उनी पनि विस्तारै किनारा लाग्ने अवस्थामा रहेका छन् । जनाधार नभएको कारण उनी नुवाकोट र काठमाडौं निर्वाचन क्षेत्रबाट ५ बाट मतदाताको मन जित्न नसक्दा क्रमश साइड लाग्दै गए । पुडासैनी दाजुभाईको पनि अवस्था यतिखेर त्यस्तै हुन लागेको देखिन्छ । एमालेका स्व. नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा हरिशरण निजी सचिव रहेर काम गरेका थिए । त्यसपछि उनी विराटनगर भन्सार प्रमुख पनि भएका थिए । त्यसबखत उनले राम्रै आम्दानी गरेको चर्चा कर्मचारी प्रशासनमा नचलेको पनि होइन । (साँघु साप्ताहिक, २०८१ फागुन १९) 
 

प्रतिकृया दिनुहोस