• शुक्रबार-फाल्गुण-२३-२०८१

मान्छे भनेको उत्कृष्ट झुठ र ठग पनि हो

 

(रामेछापको सैंपुमा जन्मिएका पुष्पराज ‘पुरुष’ धार्मिक व्यक्तित्व र योग गुरुको नामले चिनिनु हुन्छ । राप्रपाका केन्द्रीय सदस्य एवं धार्मिक संगठन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष समेत रहनु भएका पुरुषले जयसंगत नामको  आश्रम पनि चलाउनु भएको छ । पछिल्लो समय उहाँ सहकारी काण्डमासमेत मुछिनु भएको थियो ।  धार्मिक व्यक्तित्व पुष्पराज 'पुरुष'सँग धार्मिक, राजनीति र सामाजिक विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रिकेश रिजाल क्षितिज’ले गरेको कुराकानी ।)


० भर्खरै सम्पन्न भएको शिवरात्रीको दिनलाई कसरी लिनु हुन्छ ?
प्रलय र उत्पत्तिको मूल आधार नै आकाश तत्व र आकाश तत्त्वको मूल प्रतिनिधि देवता शिव भएको हुनाले शिवरात्रीको दिनलाई उत्कृष्ट साधनाको दिन पनि भनिन्छ । 


० तपाईं त विषेश धर्मगुरु भनेर पनि चिनिनुहुन्छ । यो धर्म भनेको के हो ?
सामान्य रुपमा बुझ्दा पूजापाठ गरेर आफूले चाहेको देवता मान्नुलाई नै धर्म हो भन्ने लाग्दथ्यो । पछि अध्ययन गर्दै गइसकेपछि यसको गहिराई थाहा भयो । पूजापाठ गर्ने आआफ्नो सम्प्रदायको परम्परा हुँदो रहेछ । तर, धर्म भनेको शाश्वत कुरो रहेछ । व्यक्ति र वस्तुको प्राकृतिक स्वभाव भनेको  धर्म रहेछ । प्रकृतिले  ब्रम्हमाण्डमा रहेका हरेक तत्वहरूलाई एउटा स्वभाव  दिएको छ र त्यो स्वभाव अनुसारको कर्म र चरित्र त्यो तत्त्वले देखाउँछ । त्यहीँ नै धर्म हो ।


० सबै धर्मको मुख्य सार एउटै हुन्छ भनिन्छ । तर, विभिन्न धर्मको नाममा खोल ओडेर कमाउने बाटो बनाउनेहरुले धर्म मास्दै गए भनिन्छ । यो कुरा सत्य हो र ?
हो, क्रिश्चियन र मुस्लिम यो धर्तीमा नआउन्जेलसम्म यो धर्म त्यो धर्म भनेर भेदभाव थिएन । त्योभन्दा अगाडि धर्म र पाप  मात्र थियो । राम्रो पुण्यको काम ग¥यो धर्म हुन्छ र  नराम्रो काम ग¥यो भने पाप  हुन्छ भनिन्थ्यो । जब क्रिश्चियन र मुस्लिमहरुले म क्रिश्चियन  र मुस्लिम हुँ भन्दै नामाकरण गर्न थाले तब  पृथ्वीभरि नै धर्मको नाममा वितण्ड मच्चिएको छ ।


० उसो भए धर्मका नाममा वितण्डा मच्चाउने यी दुई समुदाय मात्र हुन् राज्यको कुनै कमजोरी छैन ?
राज्यको पनि कमजोरीहरु छन्  । राज्यले धर्मशास्त्रको ज्ञान बाँड्न छाड्यो । सनातन हिन्दुको मूल्य मान्यता विक्रम सम्बत ०२७÷०२८ सालबाटै पढाउन छाड्यो । स्कुललाई आधुनिककरण गरेको नाममा इसाईकरण गरियो ।


० सरकारले ल्याएको आधुनिक शिक्षालाई तपाईं ईसाईकरण पो भन्नुहुन्छ ?
हो, स्कुल भनेकै इसाईकरण हो । 


० कसरी इसाईकरण भन्नु भयो ?
इसाईहरूको बारेमा पढाउने ठाउँ नै स्कुल हो । स्कुल भन्ने शब्द नै नेपाली शब्द होइन । खासमा ईसा मसीहको बारेमा पढाउने ठाउँ नै स्कुल हो । बुझ्नेले चाहिं विद्यालय भनेका छन्  । जब ‘स्कुल’ भनेर नामाकरण भयो त्यसपछि इसाईकरण गर्ने काम भएको हो ।


० तपाईं कुन आधारमा हाम्रा स्कुलहरुलाई इसाईकरण गर्ने ठाउँ भन्दै हुनुहुन्छ ?
तपाईं आफै हेर्न सक्नुहुन्छ अंग्रेजीलाई अनिवार्य गरिन्छ तर  नेपालीलाई अनिवार्य गरिन्न । हाम्रा १२५ थरी स्वदेशी भाषा छन् । ती  भाषाहरुलाई अनिवार्य गरिँदैन । पृथ्वीको जननी भाषा संस्कृत हो, यो भाषालाई अनिवार्य गरिँदैन । तर, अंग्रेजीलाई चाहिं अनिवार्य गरिएको छ । हामीलाई पहिला स्कुलमा सर्ट, पाइन्ट लगाउन बुबाआमाले सिकाएको त होइन आखिर स्कुलले नै सिकाएको हो । पहिलो पटक ‘सर’ भन्न पनि स्कुलले सिकाइदियो । हामीलाई बुबाआमाले सर भन्न सिकाएको होइन । 


हामीले त खासमा गुरु भन्नुपर्ने हो । अझ  म्याडम भन्ने शब्द त पश्चिमतिरको  भन्नै नहुने शब्द हो ।  नेपाल राष्ट्र बैंकमा  हेर्ने हो भने इस्वी सम्वतबाट कारोबार गरिएको छ । इस्वी सम्वत् भनेको इसाईहरूको प्रतिनिधि सम्वत् हो । यी यावत मौलिक कुराहरूको विरुद्धमा इसाईकरण सुरु भयो  र  स्कुलबाटै उनीहरूले इसाईकरणलाई बढाउँदै लगेका हुन् ।


० इसाईकरणलाई बढाउनुमा शिक्षकको पनि हात छ हो ?
हो,  शिक्षकहरुले नै स्कुलबाट  इसाईकरणलाई बढाउँदै  लगेका हुन् । इसाईकरण गराउने शिक्षक  कांग्रेस र कम्युनिस्टका सदस्य थिए । कांग्रेस कम्युनिस्ट भनेको इसाईकरणको विभिन्न  स्वरूप हुन् । नास्तिकहरूको नेतृत्व माक्र्सवादी कम्युनिस्टहरूले गरे र आस्तिकहरूको खुला समाजको नेतृत्व भन्दै प्रजातन्त्रको नाममा कांग्रेसहरुले गरे ।  अहिले  तराईमा मुस्लिमहरू बढ्नु, पहाडमा क्रिश्चियनहरू बढ्नु र स्थानीय संस्कृतिको विरुद्धमा खिसीट्युरी गर्नु भनेको नै मैले भनेको कुराहरू हुन् । संसारकै विश्वविद्यालयहरुले  संस्कृत भाषा राख्नुहुने तर हाम्रो नेपालमा  हटाउँदै जानुपर्ने यो  हाम्रो दुर्भाग्य हो ।


० तपाइँले मुस्लिम र क्रिश्चियनलाई आरोप लगाइ रहँदा तपाईंहरु जस्तै गेरुवस्त्रधारीले पनि धर्मको नाममा ठगी गरेको सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छ त ?
गर्नेले गरेका छन्  । धर्मकै नाममा करोडौं पैसा ल्याएर खाइरहेका पनि छन् । हिन्दुको नाममा खुलेका विभिन्न संगठन कहाँबाट सञ्चालित  छन् अझै थाहा पत्तो छैन । तर हामीले त्यस्तो नचाहिने काम गरेको छैन । यो कुरा राज्यलाई थाहा होला । तर, राज्य संयन्त्र बोल्दैन किनकि  यस्ता धर्मगुरुहरूले राज्यका संयन्त्रहरुलाई पनि हरिया डलरले किनिसके । 


राज्यलाई चलाउने र उनीहरूलाई चलाउने एउटै भएको हुनाले यो पोल कसैले खोल्न सक्दैन । जसरी  अमेरिका राष्ट्रपति ट्रम्पले सत्तामा गएर सबै कुरा एक्स्पोज गरे । त्यसैगरी हाम्रो सनातन धारको कोही व्यक्ति सत्तामा गए भने उसले पनि एक्स्पोज गर्ने दिन आउछ र थाहा हुन्छ । नत्र यस्ता कुरा राज्य संयन्त्रले लुकाइरहन्छ । 


० अनि तपाईंहरूले यसलाई ‘ब्लास्ट’ गर्न सक्नुहुन्न त ?
यसको लागि सनातन हिन्दूधारको इमान्दार मान्छे सत्तामा जानुपर्छ । 


० त्यस्ता व्यक्ति सत्तामा पुग्ने सम्भावना छ त ?
त्यसको लागि धर्मको राजनीति गर्नुपर्छ । धर्मको राजनीति गरेरै सत्तामा पुग्नुपर्छ । अनि विकृति विसंगतिका सबै कुराहरू सच्याउनुपर्छ ।


० तपाईं त राप्रपाको नेता पनि हुनुहुन्छ । अनि गुमेको संस्कृतिहरुलाई बचाउन केही पहल गर्नुभएको छैन त ?  कि तपाईं पनि यो गेरुवस्त्रधारी मात्रै हो ?
 हामीले सक्ने जति गरिरहेका छौं । हामीले आफ्नो निजी जीवन  सुखसयलको ख्याल नगरी सबै त्यागेका छौँ ।  हाम्रो देश नेपाल नै अहिले वाह्य खतरामा परेको छ । विभिन्न कुराले प्रसिद्ध भएर बसेको देश पनि अहिले सबैभन्दा बढी खतराको डिलमा पुगेको छ । धर्म संस्कृति र परम्परामाथि एकदमै ठूलो अतिक्रमण भएको छ ।  धार्मिक, राजनीतिक, आर्थिक र कला क्षेत्रमा अतिक्रमण भएको छ । देश बन्नलाई यहीँ चारवटा चरित्र चाहिन्छ । 

यो चारवटै कुरामा वाह्य र आन्तरिक अतिक्रमण भएको छ । यहाँ कला साहित्य विदेशकै मन पराइन्छ । अर्थतन्त्र सबै विदेशीमै  निर्भर छ ।  यदि विदेशीले दिएन भने राज्यको वार्षिक बजेट पनि बनाउन सक्ने अवस्था छैन । राज्य आफ्नो देशका नागरिकलाई स्वदेशी स्वच्छ तरकारी पनि खुवाउन नसक्ने अवस्थामा पुगेको छ । दलाल र पुँजीपतिहरूले इस्पोन्सर गरेर बनाएका व्यक्तिहरूमा क्रिएसन हुँदैन । अहिले अमेरिकाले आर्थिक सहयोग रोके झै विदेशी सहयोगबाट चलेका सबै योजनाहरू भोलि उनीहरुले बजेट रोकिदिए भने राज्य घुँडा टेक्न बाध्य हुन्छ ।

 

स्वदेशी अर्थतन्त्र र स्वदेशी पुँजी मात्र मूल आधार हो । तर यिनीहरूले मूलधार बिगारिसकेका छन् ।  तर, जनता अहिले पनि विदेशी राज्य सत्ताकै खेतालाहरूलाई नेता मानेर बसिरहेका छन् । आम जनताले जबसम्म कुरो बुझ्दैनन् र  जनविद्रोह हुँदैन तबसम्म स्वदेशी धर्म, संस्कृति, परम्परा, स्वदेशी सत्ता  र स्वदेशीपनको संरक्षण हामीले चाहेर  पनि हुँदैन । 


० तपाईंले धार्मिक गुरु पनि हुनुहुन्छ । २०८१ फागुन १४ गते  महाशिवरात्रि पर्व सकिएको छ । तपाईं शिवरात्रिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
शिव तत्त्व भनेको हाम्रो मूल तत्व हो । पञ्चायन पूजा गर्दा  आकाश देवताको आधार देवता शिवजी मानिन्छ ।  वायु देवताको देवी, अग्नि देवताको सूर्य, जल  देवताको नारायण र पृथ्वीको  गणेश मानिन्छ । यी पाँच तत्त्वको प्रतिनिधि देवता भएको हुनाले आकाश नहुने हो भने वायु कहाँ  चल्ने ?  सूर्य कहाँ हेर्ने ? पृथ्वी कहाँ बस्ने ? अग्नि कहाँ बस्ने ? जल कहाँ बस्ने ? भन्ने किसिमको समस्याहरु पर्छन् । आकाश तत्त्व भएकै कारणले गर्दा प्रलय र उत्पत्ति आकाश तत्वसँग निर्भर हुन्छ । यो मूलाधार तत्व भएको हुनाले शिवजीलाई सबैले मूल देवता वा देवताको पनि देवता मान्ने गर्छन्  । महाशिवरात्रि त्यसैकारण विशेष पर्व हो ।


० महाशिवरात्रिको तपाइँ कसरी बुझ्नुहुन्छ ? 
 यसलाई विभिन्न सम्प्रदायले आफ्नो तरिकाले व्याख्या गर्छन् । मैले बहुलवादी चिन्तनबाट गर्दा आकाश भनेको निराकार स्वरूप हो । आकाशको स्वरूप हुँदैन । आकाशमा शब्द मात्र हुन्छ । त्यो शब्द हो ॐ । आकाशको उत्पत्ति भइसकेपछि पहिलो ॐ शब्द निस्क्यो । वायुको उत्पत्ति भइसकेपछि स्पर्श निस्क्यो । अग्निको  उत्पत्ति भएपछि दृश्य देखियो । जलपछि रसको उत्पत्ति भयो । पृथ्वीको उत्पत्ति भएपछि गन्धको उत्पत्ति भयो । पाँच तत्त्व र पाँच चरित्र गुणको उत्पत्ति भएको कारणले नै चराचर जगत चलायमान छ । 


शिवरात्री त्यो उत्पत्ति सिद्धान्तको दिन हो ।  शिवरात्रि ः यो ३६५ दिनमा सबैभन्दा उत्कृष्ट दिन हो । जुन दिन  रातभरि पनि साधना गर्ने गरिन्छ । प्रलय र उत्पत्तिको मूल आधार नै आकाश तत्व र आकाश तत्त्वको मूल प्रतिनिधि देवता शिव भएको हुनाले शिवरात्रिको दिनलाई उत्कृष्ट साधनाको दिन पनि भनिन्छ । 


० तपाईंले शिवरात्रिको दिनलाई उत्कृष्ट दिन भनिरहँदा हाम्रै पशुपतिनाथ मन्दिरमा कैयौँ नागा बाबाहरू ल्याइन्छ । नागा बाबाहरू आफ्नो गुप्तांग देखाएर बसिरहेका हुन्छन् ।  त्यहाँ परिवारसहित जान  लाजमर्दो हुन्छ । यो धर्मको सिद्धान्त हो कि विकृति ?
कुकुर जन्मिँदा कुकुरको शरीरभरि रौं दिएको हुन्छ । मान्छेलाई कपडा लाउने बनाइएको छ । सुरुमै त मान्छेले कपडा लगाउँदैनथ्यो । ऊ जस्तो थियो त्यस्तै बाँच्थ्यो । कुनै पनि जीवजन्तुले कृत्रिम रुपमा लुगा बनाएर लगाएको तपाईंले  पनि  देख्नुभएको छैन होला । मान्छे अप्राकृतिक छ । त्यही भएर उसले अनेक नौटंकी गर्छ । उदाहरणको लागि एउटा मान्छे म¥यो भने त्यसको नाम समेत लिंदैनन् लास भनेर भन्छन् । खसी काटेर ल्यायो भने खसीलाई लास भन्दैनन् । त्यसैले मान्छे भनेको उत्कृष्ट झुठ र ठग पनि हो । त्यसले ठग्नलाई अनेक शब्द निकाल्छ । 


नागा सिद्धान्त भनेको तपाईं जन्मिँदा जस्तो आउनुभयो त्यस्तै बाँच्नुस् भन्ने किसिमको सन्देश पनि हो । तपाईं नौटंकी किन गर्नुहुन्छ ? तपाईं गुप्ता¨  छोपेर भोगी, यौन क्रीडामा लिप्त हुनुहुन्छ, स्त्री पुरुष देख्ने बित्तिकै कामवासनाले लिप्त हुनुहुन्छ भने  खासमा यो नग्न हो ।  जो मान्छे बैरागी छ । उसलाई यौनप्रति  इच्छा छैन । पृथ्वीमा भएका घर, गाडी र घोडा केही कुरामा लोभ छैन । ऊ मलाई जुन तत्वले जन्मायो म त्यही तत्वमा लीन हुन्छु भनेर लागेको छ  भने ऊ नग्न छैन, होइन । आफू  जस्तो जन्म्यो त्यस्तै हिँड्यो । त्यो उनीहरुको सिद्धान्त हो ।


० भनेपछि पशुपतिमा नागा बाबा आएर नांगै बस्नु नागा  सिद्धान्त मान्नु प¥यो होइन ?
 हो । उसको दृष्टिकोणमा हेर्नुभयो भने ऊ प्राकृतिक छ । उसको दृष्टिकोणमा हामी ढोङ्गी छौँ । हामी लुगा लाएर हिँड्छौं तर अनेक नौटंकी गर्छौं । मुखमा क्रिम लगाउछांै ।  कपाल सम्याउँछौँ । उनीहरू त्यो रुचाउँदैनन् । 


० उसो भए त तपाईंले पनि कपडा लगाएर हिँड्दा धर्मको सिद्धान्त विपरीत भयो नि ? के अब नांगै हिंड्नुहुन्छ त ?
यो नागाको सिद्धान्त हो । हामी अप्राकृतिक छौँ । हामी स्त्री पुरुषको शरीरमा आशक्ति राख्छौं । हामी घिन लाग्दो अङ्गको पछि लाग्छौँ । हामी बेविचारी छौं । सुरुमा नभएको असुर छौं । उनीहरू सुरुमा छन् उनीहरु परब्रम्हको बाहेक अरुको चिन्ता गर्दैनन् । उनीहरूलाई घर गाडी केही सम्पत्ति चाहेको छैन ।  साधना गरेर बाँच्न पाए भयो । 


० तपाईंले बाबाहरुले स्त्रीको  शरीरमा चाहना राख्दैनन् भन्दै गर्दा बाबा भन्नेहरूबाट चेलीहरु बलात्कृत भएको घटनाहरू पनि पाइन्छन् नि ?
कतै त्यस्ता पनि होलान तर सबै त्यस्ता छैनन् । भौतिकवादीहरूले त्यसलाई नग्न देख्छन् । तर, यिनै भौतिकवादीहरूले आफ्ना चेलीहरुलाई नाङ्गै बनाएर मिस नेपाल र मिस वल्र्ड पनि बनाएर व्यापार गर्छन् । यसमा फेरि उनीहरू रमाउँछन् । त्यस्मा उनीहरू सौन्दर्य देख्छन् । नागाहरु त सबै छाडेर बसेका वैरागीहरू हुन् । वैरागीहरूलाई  उनीहरू नग्न देख्छन् । आफ्नै छोरीचेलीलाई वेश्या बनाएर बेचेर उनीहरूले पैसा कमाउँछन् तर पवित्र साधुसन्तको चाहिं अपमान गर्छन् । यो एउटा त भौतिकवादी र अध्यात्मवादी बीचको लडार्इं पनि हो । 


० कुनै बेला तपाईं जात हुँदैन भनेर अभियान चलाएर पनि हिँड्नुभयो । तर आज त्यही जातको कारण दलितहरु मारिएका छन् । यो विषयमा किन चुइँक्क बोल्नुहुन्न त ?
जात भनेको  कुकुर एउटा जाति हो । बिरालो एउटा जाति हो । अण्डाबाट निस्किने, सालनालबाट निस्किने र  पसिनाबाट निस्किने  जाति हुन्छ । जस्तैः   चिनीको बट्टाभित्र कमिलाको बाउआमा गएर बिहे गरेर कमिला निस्किने होइन । त्यो भनेको पसिनाबाट निस्किने हो । सबै गरेर चार जाति हुन् । त्यसैले संसारका सबै मान्छेको एउटै जाति हो । तर, मान्छे थरीथरीका हुन्छन् ।

 
० मान्छे कति थरीका हुन्छन् ?
मान्छे तीनथरीका हुन्छन् ।  पुलिङ्ग, स्त्रीलिङ्ग र उभयलिङ्ग (तेस्रो लिङ्गी) गरि तीन थरीका  हुन्छन् । 


० मानिसको जात हुँदैन भनेर तपाईंले आफ्नो नामको पछाडि पुरुष लेखेको हो ?
 हो, हाम्रो आश्रममा पुलिङ्गले पुरुष लेख्छन् । स्त्रीलिङ्गले स्त्री लेख्छन् । कतिपयलाई यसो भन्दा हाम्रो वंश परम्परा लोप हुन्छ भन्छन् । यसमा वंशको हाँगो पत्ता लगाएर हाड नाता नपर्ने गरी मिलाइन्छ ।  जातको आधारमा मान्छेबीच द्वन्द्व गर्ने कुरा हामी मान्दैनौं । हामीले बनाएको कृत्रिम थरलाई जात भन्नु गलत हो । 


० तपाईंले जातै हुँदैन भन्दै गर्दा र जातकै कारण दलितमाथि दमन भयो भनेर दलितहरु सडकमा आन्दोलन गरिरहेका छन् नि ?
 उहाँहरूले जातलाई नै कमाई खाने भाँडो बनाउँदै हुनुहुन्छ । त्यसो गरेपछि  डलर पनि आउने भयो । राज्यको बजेट पनि खान पाइने भयो । कोटा सुविधा सबै पाइने भयो ।  आज जसलाई आफ्नो थर गाली जस्तो भएको छ । अहिलेको संविधानले त्यो गाली जस्तो शब्दलाई झन् संस्थागत गर्दिएको छ । बच्चाहरूलाई दलित, जनजाति, क्षेत्री, बाहुन भनेर छुट्ट्याइदिएर राज्य आफैले अपमान गरिरहेको छ । ऊ मान्छे भएर बाँच्न पाइरहेको छैन ।


० यसको लागि राज्यले के गर्नुपर्छ ?
संविधानमा नेपालमा भएका सम्पूर्ण मान्छेहरू नागरिक हुन् भनेर लेख्नुपर्छ ।  यदि उहाँहरु साँच्चै समानताको लडाईंमा हुनुहुन्छ भने म ब्राह्मण  बनाउँछु । जुनसुकै समुदायको मान्छे आएपनि आउनुस् मसँग बस्नुस् म ब्राह्मण  बनाइदिन्छु । मेरो चरित्रमा बाँच्नु म  मेरै दाजुभाइ बनाउँछु ।

 
घरमा स्वास्नी राखेर दुनियाका छोरीचेली बिगार्दै हिँडेर त ब्राह्मण भइन्न ।  बाहुनको भन्दा राम्रो चरित्र देखाइसकेपछि उहाँहरुलाई नै बाहुन भन्दा ठूलो मानिहाल्छन् ।  यसको विरुद्धमा हामी आन्दोलन गर्ने तयारीमा छौँ । हामीले गृह मन्त्रालयमा निवेदन पनि दिएका छौं । 


० तपाईंहरूको यस्तो आन्दोलन कहिलेबाट सुरु हुन्छ ? 
आन्दोलन भन्दा पनि हामी कानूनी रूपमा प्रतिस्पर्धा गर्छौं । त्यसो गर्दा नि भएन भने  म आफै गएर अनशन बस्छु । वंशको आधारमा कुनै पनि व्यक्तिलाई त यो लेख भनेर थर तोक्दिनु हुँदैन । 


० तपाईंले वंशज नागरिकता खारेज गर्नुपर्छ भन्न खोज्नुभएको हो ?
त्यस्तो भन्दा पनि नागरिकता दिन पो लागु भयो त । थरमा तँ दलितै  नै हो । तँ बाचुञ्जेल दलित नै हुनुपर्छ । अबको १०० वर्षपछि पनि दलित नै भइराख्  भनेर थर छुट्ट्याइदिने होइन । यो एक किसिमको अपराध हो । त्यसैले यसकाविरुद्ध विद्रोह हुनैपर्छ । 


० यो विद्रोह राप्रपाबाट सुरु हुन्छ कि तपाईंले व्यक्तिगत रुपबाट सुरु गर्ने ?
राप्रपाले गरे त झनै राम्रो भइहाल्यो । पार्टीले गर्छ गर्दैन त्यो भोलिको कुरा होला तर गरेन भने हामी गर्नेछौँ । म आफ्नो संस्थाबाट पनि अगाडि बढाउछौं ।


० अघि तपाईं आफैले धार्मिक व्यक्तिहरूमा  लोभ लालच केही  हुँदैन भनेर भन्नुभयो । तर, तपाईं आफैँ पनि सहकारी काण्डमा मुछिनुभयो नि होइन ?
म काम गर्छु । यदि म श्राद्ध गरेर बस्ने पण्डित मात्र भएको भए सायद यी विषयवस्तुहरू ममाथि आउँदैनथ्यो होला ।  काम गरेपछि राज्यमा दर्ता हुनुपर्छ । मेरो अभियानले जसलाई असर पर्छ । उनीहरूको आफ्नै खेताला कर्मचारी हुन्छन् । आफूले घुस खुवाएर राखेका केही पुलिसहरु हुन्छन् । 

खर्च दिएर राखेका पत्रकारहरु पनि हुन्छन् । पत्रकारले प्रचार  गर्ने, पुलिसले कारबाही गर्ने र राज्यले कानून प्रयोग गर्छ । राष्ट्र विरोधीका विरुद्धमा लडेको कारणले उनीहरूकै खेतालाले मलाई पटकपटक कारबाही गरेका हुन् । चाहिन्छ भने म अझै पनि प्रमाण दिन्छु । म एक किसिमको जोगी हुँ । भनेजस्तो कसैलाई घुस खुवाउन पनि सकिन । मलाई यो काण्डमा फसाइएको  हो । 


० हावा नलागी  पात हल्लेन होला नि ? 
यो सबै जीवी राईको खेल हो । जीवी राई मेरै कम्पनीबाट हुर्केको केटा  हो । उसलाई मैले सबै कम्पनी संस्थागत गरेर छोडेको थिएँ । मैले १२÷१५ वर्ष अगाडिदेखि उसँग सहकार्य गर्दै आएको थिएँ । मैले ०७३ सालमा साधारणसभा गरेर सबै छोडेको थिएँ । छाडेपछि सम्पत्ति, कम्पनी सबै  लिएर मलाई फसायो । 


मैले सरकारी निकायमा गएर विभिन्न किसिमका निवेदन दर्ता गरेको छु । को कस्तो छ ? भन्ने कुराको प्रमाण चाहियो भने म देखाउन तयार छु । रवि लामिछानेलाई मुद्दा लाएर ठेगान लगाए जस्तै मलाई पनि ठेगान लगाउन सकिन्छ कि भनेर झुट्टा मुद्दा लगाइएको हो ।


० भनेपछि रवि लामिछाने पनि निर्दोष हुन् त ?
उहाँले गृहमन्त्री भएको बेलामा सबैलाई कारबाही गरेको भए  आज यो दिन आउँदैनथ्यो होला । रविले अलि बढी नै स्टन्ट गर्नुभयो । अहिले  मिडियाको अगाडि उहाँले सत्य कुरा खुलाउनुभएको छैन । उहाँसँग केही गोप्य सूचनाहरू छन् तर उहाँले लुकाइरहनु भएको छ ।


० शिवरात्रिको दिन पशुपति नाथमा विशेष पूजामा पैसा तिरेमा लाइन बस्न नपर्ने सिस्टम रहेछ । यो कति ठिक हो ?
यो पशुपति विकास कोषको त कुरा छोडौं ।  पशुपतिमा इन्डियनहरूले बनाएको सुत्ने, खाने  र बस्ने ठाउँमा पशुपति विकास कोषले भाडामा लगाएर कमिसन खान्छ । नेपालको प्रसिद्ध धार्मिकस्थल  सबै दलालको कब्जामा छ । निरपेक्ष सत्ताले कब्जा गरेर बसेको छ ।  


त्यहाँको आस्थामाथि खेलवाड गर्न इसाईहरु राजनीति नियुक्ति लिएर गएका छन् । आज जसरी पशुपति विकास कोषलाई कमाउने भाँडो बनाइयो त्यसैगरी भाँडो बनाउनको लागि पाथीभरामा केवलकार बनाउन लागिरहेका छन् । हाम्रो आन्दोलन सफल भएका दिन यी सबै निजी कुराहरुलाई हामी संस्थागत गर्नेछौं । (साँघु साप्ताहिक, २०८१ फागुन १९) 
 

प्रतिकृया दिनुहोस