काठमाडौं । शहरी विकास मन्त्रालयमा बेथिति बढ्दै गएको छ । मन्त्री प्रकाशमान सिंहका स्वकीय(छायाँ मन्त्री) सचिव युपी लामिछानेका कारण कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो कहीँ नभएको बेथिति मन्त्रालयमै भएको कर्मचारीहरु बताउछन् ।
शहरी विकास मन्त्रालयमा यही हप्ता २३ जना कर्मचारी उपसचिव (डीई) मा बढुवा भई आउँदैछन् । १३ जना आइसकेका छन् । भएकाहरुले काम पाएका छैनन् । एक हप्तामै अरु ७ इन्जीनीयर डीईमा बढुवा भएर आउँदैछन् । तर, युपीको ध्यान भनेको हाल उपसचिवको कुर्सीमा निमित्त भई काम गर्दै आएका ५ अधिकृतलाई कसरी निमित्त आयोजना प्रमुखमा टिकाउने भन्नेमै केन्द्रित रहेको गुनासो सुनिन्छ । त्यसमा पनि ३ जना निमित्तलाई नटिकाई नहुने अवस्थामा उनी रहेको बताइन्छ ।
अहिले युपीको सबैभन्दा निकट जनकपुर आयोजनाका निमित्त आयोजना प्रमुख विनोद यादव भएका छन् । यादवकी पत्नी जनता समाजवादी पार्टीबाट उपमेयरमा निर्वाचित भएकी छिन् । यादव भने आफूलाई नेपाली कांग्रेससँग निकट भएको युपीलाई बताउने गर्छन् । यादवभन्दा तीन जना वरिष्ठ कर्मचारीलाइ अन्य कार्यालयमा सरुवा गर्न बाध्य बनाएर युपीले विनोदलाई जनकपुरमा पठाएका थिए । प्रदेशमा हुँदा पनि उनी विवादित रहेका थिए ।
जनकपुरमा जानुभन्दा अघि उनी डोटी र ओखलढुंगामा निमित्त भई काम गरेका थिए । नेपाली कांग्रेसकै नेता महेन्द्र यादवले उनलाई जनकपुर पु¥याएका थिए । जनकपुर गएपछि विनोद मन्त्री सिंहका पीए लामिछानेसँग यति निकट भएका छन् कि लामिछानको चिन्ता युपीले भन्दा बढी विनोदले गर्न थालेका छन् ।
विनोद यादव फाइल बढुवा भएर सवइञ्जिनियरबाट इञ्जिनियर भएका हुन् । यिनै फाइल बढुवा भएका यादवलाई युपीले आयोजना प्रमुखको जिम्मेवारी दिएका छन् । फाइल बढुवा भनेको कार्यसम्पादन क्षमता या अध्ययनबाट बढुवा हुने होइन, काम गरेको अवधिको आधारमा स्वत ःबढुवा हुने प्रणाली हो ।
अर्का निमित्त सुमन मिश्र यस्तै विवादास्पद पृष्ठभूमिका हुन् । उनी आकर्षक र बढी वजेट भएको आयोजना कार्यालयमा सेटिङ मिलाइ जाने गर्छन् । उनी पनि अहिले युपीसँग निकट भएका छन् । उनी जहाँ जहाँ जान्छन्, त्यहाँ विवादित बन्ने गरेका छन् । उनले कार्यालयको भन्दा ठेकेदारको बढी चिन्ता गर्ने गरेको मिश्रनिकट नेताहरु बताउँछन् । मिश्र सधैंजसो निमित्त भई काम गर्ने गरेका छन् । यसबीचमा उनी धेरै जसो आयोजना कार्यालयमा निमित्त भई काम गरेर मोजमस्ती गरिसकेका हुन् । यतिबेला उनी करिब ४ अर्ब बजेट भएको धनकुटामा कार्यरत छन् ।
नेपालगञ्जमा कार्यरत रामकृष्ण आचार्यलाई नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संरक्षण गरेका छन् । त्यसैले उनी पनि युपीसँग निकट भएका छन् । तर विनोद र सुमनबाट जसरी आर्थिक लाभ लिएका छन्, त्यसरी नै आचार्यबाट लाभ उठाउन युपीले नसकेको हुने गर्दछ ।
आचार्य निकै जुनियर इञ्जिनियर हुन् । डोटीमा रामआशिष दासलाई पठाउने काम पनि युपीले गरेका हुन् । युपीलाई खुसी बनाएर दास डोटी पुगेका हुन् । दास अहिले बढुवा हुने लाइनमा छन् । कमजोर कार्यक्षमता भएका दासलाई टिकाउने काम युपीले गरिरहेका छन् । मन्त्रालयका एक कर्मचारी भन्छन्–‘युपीजीले काम गरेको–नगरेको हेर्नुहुन्न । आर्थिक संकलन मात्र हेर्ने गर्नु हुन्छ ।’
सुर्खेतमा कमल दर्लामीलाई टिकाउने काम पनि युपीले गरेका छन् । कमल पनि निमित्त नै हुन् । सुर्खेत पनि बढी बजेट भएको आयोजना कार्यालय हो ।
मन्त्रालय स्रोत भन्छ–शहरी विकास सचिव गोपाल सिग्देल तथा मन्त्रालयका उच्च कर्मचारीहरु ५ जना निमित्त खाली गरी उनीहरुको ठाउँमा उपसचिवलाई पठाउने सोचमा छन् । दुई दर्जन उपसचिवलाई बरण्डामा राखेर ५ जना कर्मचारीलाई निमित्त दिने हो भने मन्त्रालयकै ठूलो बेइज्जत हुने एक कर्मचारीले बताए । (साँघु साप्ताहिक, २०८१ फागुन १९)
प्रतिकृया दिनुहोस