काठमाडौं । नेकपा एमाले निकट कर्मचारी संगठनको १२औं महाधिवेशनले २०८१ माघ ३० गते शुरु भएर फाल्गुण ३ गते सम्पन्न भएको थियो । अधिवेशनले भवानी नेउपाने दाहाललाई अध्यक्ष निर्वाचित गर्दै सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । उनी अध्यक्षमा निर्वाचित भएसँगै उनले संगठनको गौरवपूर्ण इतिहासलाई बचाउँदै नयाँ पुस्ताको आँखाबाट हेर्नेगरी अझै नयाँ उचाइमा पु¥याउने लक्ष्य रहेको बताएकी छिन् ।
नवनिर्वाचित अध्यक्ष नेउपाने दाहालले भ्रष्टाचार प्रवृत्तिमा नियन्त्रण गर्न विशेष भूमिका खेल्ने र संगठनलाई सेवाग्राही मैत्री र स्वच्छ कर्मचारी संगठनको रुपमा स्थापित गर्ने दावी गरेकी छिन । उनले आम कर्मचारीको सामाजिक र पेशागत सुरक्षामा अविचलित भएर लागिरहने तथा संघीय निजामती सेवा ऐन ल्याउने विषयलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धतासमेत जनाएकी छिन । पारदर्शी कार्यशैली अवलम्बन गरी संगठनमा सामूहिक नेतृत्वको भावना विकास गराउने उनको योजना रहेको छ ।
व्यवसायिकता, सिर्जनशीलता र गतिशीलतासहितको सुदृढ संगठन निर्माण गर्ने र निजामती सेवाप्रतिको सम्मान र गौरव अभिवृद्धि गर्ने दाहालको सोच रहेको बताइन्छ । संगठनलाई सूचना तथा प्रविधिमैत्री, सुशासनयुक्त र वैचारिक संगठनको रुपमा विकास गराउने उनको प्रतिवद्धता रहेको छ । वर्तमान शासकीय स्वरुपमा देखिएका विकृति र चुनौतीसँग भिडेर सुशासन कायम, संघीय निजामती सेवा ऐन जारी गर्न सशक्त पहलकदमी लिने उनले प्रतिवद्धता जनाएकी छिन ।
सम्पूर्ण संगठनप्रेमीको मनोभावनालाई आत्मसात, ट्रेड युनियनमाथि सरुवा बढुवामा हुने चलखेल गर्ने गरेको आरोपलाई चिर्ने उनको प्रतिवद्धता रहेको छ । संगठनलाई थप शक्तिशाली र आवश्यकता अनुसार राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग कुशलतापूर्वक सहकार्य गरी आम कर्मचारीको हित अभिवृद्धि गर्ने ल्याकत आफूमा रहेको उनको दावी रहेको छ । दाहाल अध्यक्ष निर्वाचित भएपछि संगठनको विगतको बद्नाम र भ्रष्ट छवीमा कमि आउने विश्वास गरिएको छ । आधिकारिक ट्रेड युनियनको पहिलो निर्वाचनमा अध्यक्षमा जित हासिल गरी दाहालले इतिहास रच्न सफल भएको बताइन्छ ।
२०४७ साल वैशाख ७ गते स्थापना
नेपाल निजामती कर्मचारी संगठन २०४७ साल वैशाख ७ गते स्थापना भएको थियो । त्यसपछि ११ औं महाधिवेशनसम्म आइपुग्दा संगठनमा १५ जना पुरूषले अध्यक्षको नेतृत्व लिइसकेका छन । संगठनले ३४ वर्षपछि १६ औं अध्यक्षका रूपमा सक्षम र सबैलाई मिलाएर अगाडि बढ्नसक्ने नेतृत्व पाएको बताइएको छ । मुलुकभर संगठनमा हाल करिब ४० हजार कर्मचारीहरु आवद्ध रहेको संगठन स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय ट्रेड युनियनकर्मीहरूको गलत गतिविधिका कारण आम कर्मचारीदेखि राजनीतिक वृत्त तथा नागरिकहरूमा ट्रेड युनियप्रति खासै सकारात्मक धारणा रहेको छैन । निजामती कर्मचारीहरूले ट्रेड युनियनको आडमा अतिरिक्त लाभ, कमाउ अड्डा, आकर्षक, मालदार र सुविधाजनक निकायमा सरूवा हुने प्रबृत्ति निकै नै मौलाएको छ । दुर्गम, हिमाल, पहाडमा सरूवा गरेपनि शक्ति केन्द्रको आडमा नजाने, काज मिलाएर काठमाडौं उपत्यका वरपरका जिल्लामा बस्न रुचाउने कर्मचारीको जमात पनि निकै ठूलो रहेको बताइन्छ ।
अझ कर्मचारीले आफ्नो अनुकूलताका लागि भन्सार, कर, राजश्वका साथै झापा, सुनसरी, मोरङ, विराटनगर जिल्ला रोजाईंमा पर्ने गरेका छन् । त्यसपछि जनकपुर, वीरगन्ज, मकवानपुर, चितवन, पोखरा, रूपन्देही, दाङ, बाँके, कैलाली र कञ्चनपुरलगायत जिल्लामा मात्र सरुवा हुने प्रवृत्ति मौलाएको छ । जसले गर्दा आम नागरिकहरूमा निजामती कर्मचारीप्रति असन्तुष्टि बढ््दै गएको गुनासो बढेका छन् । निजामती कर्मचारी प्रशासन सेवा प्रवाहमा ढिलासुस्ती र अराजकता मौलाउँदै गएको आरोप लाग्ने गरेको छ । सेवाग्राहीसँग अतिरिक्त लाभ लिएर मात्र सेवा दिने नत्र हरेक दिन ‘भोलि’ भनेर दुःख दिने प्रवृत्तिले सेवाग्राही हैरान हुने गरेको भुक्तभोगीहरुको गुनासो रहेको पाइन्छ ।
संगठनको ३४ वर्षे इतिहास
कर्मचारीहरूको हकहित र अधिकारका लागि ३४ वर्ष अगाडि संगठन स्थापना गरिएको थियो । नेपालको पहिलो र ठुलो कर्मचारी संगठन पनि भएको बताइन्छ । संगठनमा ३४ वर्ष पछाडि १६औं अध्यक्षको रूपमा कर्मचारीको हकहित, अधिकार र सेवा सुविधाका लागि २०४८ सालदेखि निरन्तर संघर्षरत, क्रान्तिकारी महिला नेतृ दाहाल निर्वाचित भएकी हुन् ।
वरिष्ठ उपाध्यक्षमा भने केही समय एकीकृत समाजवादी कर्मचारी संगठनमा रहेर पुरानै घर फर्किएका रेवन्त गौतम उपाध्यक्ष चयन भएका छन् । तराई मधेसका लोकप्रिय कर्मचारी प्रभाष शाह पनि वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । केन्द्रीय उपाध्यक्षमा कृष्ण बहादुर केसी, विष्णु अर्याल, युवाचन्द्र घिमिरे, विजयालक्ष्मी सुुवेदी र कमला दाहाल चयन भएकी छिन । महासचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रामचन्द्र अधिकारी ( आर.सी.) चयन भएका छन् । उपमहासचिवमा वामदेव ओली, सूर्य कुँवर र कोषाध्यक्षमा यमकुमारी सापकोटा निर्वाचित भएका छन् ।
निजामती क्षेत्रको सबैभन्दा ठूलो ट्रेड युनियनको रुपमा रहेको अध्यक्ष बन्न दाहाल र गौतमको प्रतिस्पर्धा चलेको थियो । तर, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, पेशागत संगठनका इन्चार्ज भानुभक्त ढकालको २०८१ फाल्गुन २ गते शुक्रबार र शनिवार दिएको दबाबका सहमतिमै दाहाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको छ । संगठनको महाधिवेशन जारी रहेकै बखत नयाँ नेतृत्व हत्याउनका लागि दाहाल र गौतमबीच निकै रस्साकसी चलेको थियो ।
फागुन ३ गते शनिवार सम्पन्न महाधिवेशनबाट अध्यक्षसहित सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । दुई वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, (एक महिला सहित) ८ प्रदेश इन्चार्ज, एक महासचिव, ३ उपमहासचिव (एक महिला सहित), ६ सचिव (एक महिला सहित), कोषाध्यक्ष, सह–कोषाध्यक्षसहित १ सय ४१ केन्द्रीय कार्यसमिति सदस्य चयन गरेको छ । त्यस्तै, लेखा परीक्षण आयोग, नीति आयोग र अनुशासन आयोग गरी तीन वटा आयोगमा एक–एक जना संयोजक, एक–एक जना सचिवसहित ५–५ सदस्यीय आयोग निर्वाचित गरिएको छ ।
नव निर्वाचित नयाँ कार्यसमितिको पदावधि तीन वर्षको हुनेछ । संगठनका अनुसार प्रदेश, जिल्ला तथा विभागीय कार्यसमितिहरू सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । कोशी प्रदेशमा अध्यक्ष हरि सुवेदी र महासचिव कुमारसिंह खत्री चयन भएका छन् । मधेस प्रदेशमा अध्यक्ष जितनारायण भगत र महासचिव अरविन्द साह र बागमती प्रदेशमा अध्यक्ष बरुण कुमार साह र महासचिव टेकनाथ काफ्ले चयन भएका छन् ।
लुम्बिनी प्रदेशमा अध्यक्ष नेत्रप्रसाद आचार्य र महासचिव भीमलाल खनाल, गण्डकी प्रदेशमा अध्यक्ष डोलराज पराजुली र महासचिव विष्णुदेवी अधिकारी निर्वाचित भएका छन । कर्णाली प्रदेशमा अध्यक्ष राजेश आचार्य र महासचिव प्रकाश शर्मा अधिकारी, सुदूरपश्चिम प्रदेशमा अध्यक्ष महादेव जोशी र महासचिव धर्म चौधरी तथा उपत्यका प्रदेशमा अध्यक्ष कृष्णराज कँडेल र महासचिव सूर्यबहादुर ठटाल निर्वाचित भएको बताइन्छ।
सार्थक होला त यो नारा ?
‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन, हाम्रो अभियान’ भन्ने नाराका साथ १२औं अधिवेशन सम्पन्न भएको छ । महाधिवेशन अगाडि संगठनले उपत्यका प्रदेशसहित ८ प्रदेश, ७७ जिल्ला, ३५ विभाग र ४ सय भन्दा बढी पालिकाको अधिवेशन सम्पन्न गरेको थियो ।
२०८१ माघ ३० गते बुधवार देखि फागुन ३ गते शनिवारसम्मा काठमाडौँको आयोजित महाधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो । सोक्रममा प्रधानमन्त्री ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तरपनि संगठनकै पूर्व उपाध्यक्षहरु दाहाल र गौतमबीच प्रतिस्पर्धा चलेको थियो ।
दुबै जनाले आफूहरु लामो समय देखि ट्रेड युनियन हक अधिकार स्थापित गर्ने लडाईमा सक्रिय रहनुका साथै कर्मचारीको हितमा निरन्तर समर्पित हुँदै आएको दाबी गरेका थिए । निर्वाचित दाहालले नयाँ पुस्ताको आँखाबाट हेर्नेगरी संगठनको गौरवपूर्ण इतिहासलाई बचाउँदै अझै नयाँ उचाइमा पु¥याउने लक्ष्य रहेको बताएकी छिन् । (साँघु साप्ताहिक, २०८१ फागुन १२)
प्रतिकृया दिनुहोस