काठमाडौं । एकीकृत समाजवादी (एस)को केन्द्रीय कमिटीको बैठक जारी छ । केन्द्रीय कमिटीको बैठकले एसको राजनीतिक जीवनमा ठूलो प्रभाव नपार्ने भएपनि त्यो पार्टीमा देखिएका कतिपय घटनाले भने पार्टी सानो तर विवाद ठूलो भइरहने पार्टीको रुपमा दर्ज गराएको छ । केही नेताहरुको असन्तुष्टि अनि केहीको बहिस्कारसँगै केन्द्रीय कमिटी बैठक चलिरहेको छ । अनि अध्यक्ष माधव नेपालले केन्द्रीय सदस्यलाई बोल्न नै नदिएको प्रसंगले पनि एसभित्र राजनीति तात्तेको छ । अनि राजनीतिक प्रतिवेदनका कतिपय विषयले पनि चर्चा कमाएका छन् ।
केन्द्रीय सदस्य आरती लामालाई अध्यक्ष नेपालले बोल्न नदिएको चर्चाले निकै भइरहेको छ । २०८१ फागुन १० गते शनिवारको बैठकमा माधव नेपालले लामालाई रोक्ने प्रयास गरेका थिए । लामालाई केन्द्रीय सदस्य बनाएपछि विद्यार्थी संगठनको उनको जिम्मेवारीबाट हटाएको विषय पनि विवादमा तानिएको थियो । उनलाई अध्यक्ष नेपालले अन्य नेताहरुसँग छलफल नै नगरी विद्यार्थी संगठनको अखिलको अध्यक्षबाट हटाएपछि विवाद भइरहेको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसम्मले अध्यक्षको कदमको विरोध गरेका थिए । अहिले केन्द्रीय कमिटी लामाले बोल्ने विषयमा पनि अध्यक्ष नेपालले अंकुश लगाउन प्रयास गरेका कारण नेपालले उक्त विषयलाई व्यक्तिगत इगोको रुपमा लिएको चर्चा पनि हुन थालेको छ । यता, केन्द्रीय समितिको बैठकमा किसान श्रेष्ठसहित केही नेताहरुले बहिस्कार गरेको चर्चा पनि सुरु भएको छ ।
श्रेष्ठ भर्खरै प्रयागराज पुगेर आएकोले स्वास्थ्य ठीक नभएको भन्दै केन्द्रीय कमिटी बैठकमा नआएको बताइन्छ । अध्यक्ष नेपालले नै फोन गरेर बोलाएका थिए । उनी सिमरा बस्दै आएका छन् । त्यसैले, अहिले एसभित्र ससानाजस्ता लाग्ने तर पार्टीको ओरालो यात्राका सहयोगी हुने गरी विवादहरु देखिइरहेका छन् । अनि, विवादको नेतृत्व चाहिँ सम्मानित नेता झलनाथ खनालले गरिरहेका हुन्छन् । महाधिवेशनमा अध्यक्ष माधवन नेपालसँग मिलेका खनाल अहिले फेरी नेपालसँगै झगडा गर्न थालेका छन् । अध्यक्ष नेपालका निर्णयप्रति खनालले असन्तुष्टि जनाउँदै आएका छन् ।
नेता खनालले भातृ संगठनको नेतृत्व हेरफेर गरेको र विधान संशोधन गरेको भन्दै फरकमत राखेका छन् । पार्टीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दा भातृसंगठनहरु अखिल र युवा संघको अध्यक्षलाई हटाएको भन्दै आपत्ति जनाएका छन् । अखिलको अध्यक्षमा आरती लामालाई केन्द्रीय सदस्य भएको भन्दै हटाएर महेश श्रेष्ठलाई संयोजक बनाइएको थियो । अनि, युवा संघको अध्यक्षमा पनि कृष्णकुमार विकलाई हटाइएको थियो । यी दुवै नेता खनालनिकट मानिन्थे । तर, अध्यक्ष नेपालले सर्कुलरमार्फत नेतृत्वबाट हटाएपछि खनाल रुष्ट भएका हुन् ।
त्यसैगरी, नेता खनालले महाधिवेशनबाट पारित विधान पनि व्यापक हेरफेर भएको दाबी गरेका छन् । सम्मानित नेता महाधिवेशनबाट चुनिने भनेर त्यतिबेला विधानमा व्यवस्था भएको भएपनि त्यसलाई हटाएर केन्द्रीय कमिटीले चुन्ने व्यवस्था राखेको आपत्ति जनाएका छन् । त्यसैगरी, उपाध्यक्षमा महिला उपाध्यक्ष हटाएको पनि खनाललको आरोप छ । त्यसैगरी, उपमहासचिव ३ जना हुने व्यवस्था भएपनि अहिले विधान छापिएर आउँदा ४ जना बनाएको भन्दै खनालको आपत्ति रहेको छ । (साँघु साप्ताहिक, २०८१ फागुन १२)
प्रतिकृया दिनुहोस