काठमाडौं । सभापति शेरबहादुर देउवाको टीम आउँदो महाधिवेशनमा कस्तो बन्छ ? भन्ने निकै चासो रहेको छ । पछिल्ला दिनमा भइरहेका गतिविधि र छलफलले देउवासँग रहेको अहिलेको टीम छिन्नभिन्न हुने संकेत भने देखिएको छ । सभापति देउवालाई नेता मानेर टीम बनेकोले उनीपछिको नेता को हुन्छ ? भन्ने चासोले पनि टीमको एकता कायम रहने वा नरहने भन्ने हुने अनुमान गरिएको छ । त्यही अनुमानको क्रममा नेताहरुका उपगुट पनि सक्रिय हुन थालेका छन् । देउवाले सभापतिमा कसलाई अगाडि सार्लान् ? भन्ने अनुमानकै वीचमा केही नेताहरु आफू हुुनुपर्ने दावीमा रहेका छन् ।
देउवापछिको सभापतिको आकांक्षी देखिएका कृष्णप्रसाद सिटौलाले पनि सक्रियता बढाएका छन् । उनले आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । सिटौलाको टीम ठूलो नभए पनि देउवालाई जिताउनका लागि निकै ठुलो प्रभाव देखाएको थियो । त्यहीकारण सिटौलाले सभापति दावी गरेका छन् । सिटौलाको दावीपछि देउवा समूहका नेताहरु शशांक कोइराला, प्रकाशशरण महत र विमलेन्द्र निधि भने विच्चिकने अवस्था पुगेका छन् । यी राजकुमारहरुले कांग्रेसको ट्रोइकाको रुपमा चिनाउने प्रयास गरिरहेका छन् । उपसभापति पूर्णवहादुर खड्का देउवा टिममा रहने कि नरहने भन्ने अर्को गम्भीर प्रश्न पनि छ ।
सभापतिमा जसलाई अगाडि सारे पनि देउवापछि उनको टीम सग्लो नरहने भने संकेत गरेको छ । सभापति देउवाको निवासमा देउवा र टीमबीचमा २०८१ फागुन २ गतेको सो बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउद, उमाकान्त चौधरीलगायत नेताहरु सहभागी भएका थिए । छलफलपछि टीम सग्लो नरहने संकेत देखिएको नेताहरुले बताएका छन् ।
सभापति देउवाले अहिलेसम्म उत्तराधिकारीको रुपमा अर्को नेतालाई संकेत गरेका छैनन् । पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले देउवासँग उत्तराधिकारीको दावी गरिरहेका छन् । संस्थापन इतर समूहको नेता भएपनि महामन्त्री थापाले पनि पछिल्ला दिनमा देउवासँग सम्बन्ध सुधार गरेर उत्तराधिकारीको चाहना व्यक्त गरेका छन् । देउवाका हरेक मोर्चामा साथ दिँदै हैंसे गरिरहका थापा देउवा समूहको पछिल्लो बैठकबाट भने विच्किएको चर्चा छ ।
देउवा टीमबाट पछिल्ला दिनमा चलेको चर्चा अनुसार सिटौला र कोइरालामध्ये एकजनाले टिकट पाउने संभावना रहेको छ । त्यस्तो अवस्थामा खड्का, सिंह, निधि,सहितको टीम असन्तुष्ट हुने संभावना छ । त्यो बेलामा उनको टीमका अरु नेताहरु एनपी साउद, भीष्मराज आङदेम्बे, डीना उपाध्याय, प्रकाशरण महत, सहितका विभिन्न नेता यो टीममा नरहने संभावना रहेको छ । महतले सार्वजनिक रुपमा नै आफू सभापतिका लागि योग्य रहेको दावी गरेका छन् । यद्यपि, उनको भूगोल र संगठनमा राजनीतिक प्रभाव भने छैन ।
देउवाको साथ पाएर नेता, मन्त्री भएको भन्दै उनको आलोचना पनि हुने गरेको छ । साउद भने विगत केही समयदेखि निरन्तर शेखर कोइरालासँग पनि सम्बन्ध सुधारको प्रयासमा रहेका छन् । कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार हुने तयारीसहित उनले सम्बन्ध सुधार गरेको चर्चा पनि भइरहेको छ । त्यसो त, उनीहरुमात्र होइन, बालकृष्ण खाँड पनि कोइरालानिकट देखिन थालेका छन् । सभापति देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संरक्षण नगरेको खाँडका आरोप छ । त्यही असन्तुष्टिको वीच कोइरालासँग निकट भएर खाँडले राजनीतिक सम्बन्ध विस्तार गरेको बताइएको छ । आङदेम्बे भने महामन्त्री थापा, कोइरालासँग पनि सम्बन्ध सुधारमा रहेका छन् । सहमहामन्त्री रहेका आङदेम्बे अबको महाधिवेशनमा देउवा टीममै रहने संभावना कम रहेको पनि बताइन्छ ।
देउवाको टीममा नरहने नेताहरु शेखर कोइरालाको टीमबाट उम्मेदवार हुने संभावना रहेको छ । अहिलेदेखि नै चलेको उक्त चर्चाले कांग्रेसभित्र महाधिवेशनको माहोल भने तात्तिन थालेको संकेत गर्छ । शेखर कोइराला भने आफ्नो टीम बनाएर देश दौडाहामा निस्केका छन् । अनि, सभापतिको तयारीमा रहेका गगन थापा पनि रणनीति निर्माणमा रहेका छन् । त्यसैले, कसले देउवाको टीम भत्काउने र धेरै नेताहरु आफ्नो टीममा ल्याउने भन्नेमा कोइराला र थापा रहेका छन् ।
हुन त, थापा भरसक देउवाकै टीममा बस्न पाए हुने भन्नेमा देखिएका छन् । उनी देउवाको टिमबाट सभापति उम्मेदवार हुन पाए जित्ने संभावना रहने भन्दै प्रयास गरिरहेको कांग्रेस नेताहरु बताइरहेका छन् । अनि, पछिल्ला दिनमा थापा भारतीय संस्थापनलाई विश्वासमा लिनका लागि नै प्रयागराज स्नान गर्न गएको पनि चर्चा कांग्रेसमा चलिरहेको छ । (साँघु साप्ताहिक, २०८१ फागुन १२)
प्रतिकृया दिनुहोस