• बुधबार-माघ-३०-२०८१

पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले मुलुकमा तरङ्ग !

“चल्लालाई बाजले झम्टिन खोज्दा माउले उपस्थिति त जनाउँछ नि ? त्यस्तै हो”–पूर्वराष्ट्रपति

 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने सङ्केत देखिन थालेपछि एमालेको आन्तरिक राजनीति निकै पेचिलो बन्न थालेको छ । एमालेका नेताहरुको समीकरण परिवर्तन हुनेदेखि बुद्धिजीवीमा पनि तरंग पैदा भएको छ । राजनीतिमा सक्रिय हुनेगरी भण्डारीले भेटघाट र गतिविधि बढाएकी छिन् । त्यही क्रममा २०८१ माघ १४ गते कोशी प्रदेशमा पुगेर लगभग एक हप्ता औपचारिक तथा अनौपचारिक भेटघाट छलफल कार्यक्रममा सहभागी भएर काठमाडौंमा फर्किएको अवस्था छ ।

 

एमालेभित्र आन्तरिक असन्तुष्टि पनि बढ्दै गएको कुराले चिन्तित बन्नु भएकी विद्या भण्डारी परस्पर घृणा र लान्छना बढ्ने कृयाकलाप कसैबाट नहोस् भन्ने सद्विचार रहेको बुझिन्छ । एमालेको वैधानिक व्यवस्था अनुसार अब केपी शर्मा ओली अध्यक्ष पदमा तेहेरिन नपाउने र हाल दोस्रो पुस्तामा रहेका  नेताहरूबीच  आपसी विश्वास र समझदारी  बन्न  सकेको पनि छैन ।


 कोशी प्रदेशमा जानुअघि  पूर्वराष्ट्रपति भण्डारीले गण्डकी प्रदेशको समेत औपचारिक भ्रमण गरेकी थिइन् । स्थानीय नेतृत्व र जनतासँग संवाद गरेर राजनीतिमा सक्रिय हुने सङ्केत गरेर माहोल बुझ्न र बनाउन भण्डारीले प्रयास गरेको अर्थमा पनि राजनीतिक क्षेत्रमा विश्लेषण भइरहेको छ । यस क्रममा केन्द्रीय र स्थानीय एमाले नेताहरुले भण्डारीको पुरागमन चाहेको सङ्केत दिएका छन् । तर, केही एमाले नेताहरु भने भण्डारीको सक्रियताप्रति असहमत रहेको पाइएको छ । 


विराटनगरमा एमालेका नेताहरुमात्र होइन, बुद्धिजीवीसँग पनि पूर्वराष्ट्रपति भण्डारीबाट भेटघाट र छलफल भएको थियो । त्यसक्रममा बुद्धिजीवीहरुले मिश्रित सुझाव दिएका छन् । राजनीतिशास्त्री कृष्ण पोखरेललगायतको टीमले सक्रिय राजनीतिमा आउन भण्डारीलाई सुझाव दिएका छन् ।


एमाले नेता विनोद ढकालको व्यवस्थापनमा विराटनगरमा भण्डारीको बसाई भएको थियो । एमालेका धेरै जसो नेताहरु अहिले पूर्वराष्ट्रपति भण्डारीलाई केपी ओलीपछिको अध्यक्षको रुपमा हेर्न चाहन्छन् । एमाले नेताहरु कर्ण थापा, गोकुल बास्कोटा, विशाल भण्डारी, शेरधन राई, विनोद ढकाललगायत दोस्रो तहका अनेकौं नेताहरु समेत भण्डारीको सक्रिय राजनीतिको पक्षमा देखा पर्दैछन् । 


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरमा ‘कुखुराको चल्लालाई बाजले झम्टिन खोज्दा माउले उपस्थिति त जनाउँछ, त्यस्तै हो, अहिले यहाँ भन्दा धेरै नबुझौं,’ भन्दै भण्डारीले  विशेषरूपले नै गतिविधि बढाएपछि काठमाडौंमा उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने बताएका थिए ।


लामो समय कुनै प्रतिक्रिया नदिएका ज्ञवालीको यो भनाईलाई एमालेभित्र र बौद्धिक क्षेत्रमा अर्थपूर्ण रुपमा हेरिएको छ । साथै, महासचिव शंकर पोखरेल पनि भण्डारीको सक्रिय राजनीतिको विपक्षमा देखिएका छन् ।


महासचिव शंकर पोखरेल अहिले एमालेभित्र अध्यक्ष ओलीको अति निकट नेताको रुपमा चिनिन्छन् । पोखरेललाई ज्यादा महत्वदिइएकै कारण पछिल्ला दिनमा एमालेका अन्य नेताहरु पूर्व राष्ट्रपति भण्डारीको सहारा लिन बाध्य भएको अनुमान पनि गर्न थालिएको छ ।


विराटनगर पुगेपछि भण्डारीले उपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा आउँदा आफूलाई खुसी लागेको बताएकी थिइन् । भण्डारीको त्यस भनाई पछि राजनीतिक क्षेत्रमा तरङ्ग पैदा गरेको हो ।


एमालेभित्र मात्रै होइन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हिजोआजको सक्रिय राजनीतिक गतिविधिले अहिले माओवादीभित्र समेत तरङ्ग  पैदा गराएको छ । र, नन्दकिशोर पुनको पक्ष र विपक्षमा अभिमतहरु बनिरहेका छन् । त्यसो त, भण्डारीले विराटनगरमा ‘‘आफू यता आउँदा काठमाडौंमा भुँइचालो गएको’’ भनेर अर्को अर्थपूर्ण प्रतिक्रिया दिएको विषयले झनै रमाइलो चर्चा पाएको छ । त्यसैले, अहिले एमाले र माओवादी केन्द्रभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको महाधिवेशनभन्दा पहिला नै सक्रिय राजनीतिमा आउने संभावना रहेको अनुमान गर्न थालिएको छ । 


एमालेको १०औं राष्ट्रिय महाधिवेशन २०७८ साल मङ्सिरमा चितवनको सौराहामा सम्पन्न भएको थियो । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन २०८४ को आम निर्वाचन अघि  कि पछि भन्ने विषय अन्योलमै छ । एमाले विधानअनुसार ५ वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्नुपर्ने व्यवस्था रहेको छ तर, २०८२/८३ मै अर्ली महाधिवेशनको चर्चा पनि अन्तरकुन्तरमा सुनिन्छ । 


‘राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुनेछ र यसको आयोजना केन्द्रीय कमिटीले सामान्यतया हरेक पाँच वर्षमा गर्नेछ’, एमाले विधानको धारा १३ मा उल्लेख छ ।  विशेष परिस्थितिमा चाहिं राष्ट्रिय महाधिवेशन ६/६ महिना गरी थप एक वर्षसम्म सार्न  सकिने वैधानिक व्यवस्था छ ।


एमालेका पदाधिकारीहरू अहिले पार्टीको नेतृत्वमा जिम्मेवारीको संवेदनशीलतासँग अगाडि बढिरहेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि लिएर उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुरेन्द्रराज पाण्डे र गुरुप्रसाद बरालसम्म सबैले पार्टीको नेतृत्वमा ठूलो जिम्मेवारी बोकेका छन् । महासचिव शंकर पोखरेल र उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ्ग र विष्णु रिमालका समेत महत्त्वपूर्ण भूमिका रहेका छन् ।


तर, अहिलेका उल्लेखित पदाधिकारी र  अवस्थाले देखाउँछ कि एक आपसमा सहकार्य र सन्तुलित नेतृत्व कसले दिने ? यसै कारण पूर्व राष्ट्रपति भण्डारीको नाम उठाउनु, जसले समर्पण र सम्मानका साथ पार्टीलाई सशक्त र सन्तुलित नेतृत्व दिन सक्छ भन्ने अपेक्षा गरिन्छ, यसलाई एक सकारात्मक कदमको रूपमा लिनु पर्ने हुन्छ ।


एमालेको वर्तमान नेतृत्व संरचनामा भनेको जस्तो कुनै पनि नेता आफूलाई अगाडि बढाउने अवस्थामा छैनन् । यसले पार्टीलाई एक समृद्ध र सन्तुलित नेतृत्वको खाँचो र आवश्यकता रहेको महसुस हुन्छ । पूर्व राष्ट्रपति भण्डारीको नाम उठाउनुले पार्टीलाई नयाँ दिशा र मजबुत नेतृत्व दिन सक्ने अपेक्षा गरिएको छ ।


विद्या भण्डारी स्वेच्छाले राजनीतिमा सक्रिय हुन खोजेको चाहिं बुझिदैन । मदन भण्डारीको मार्गदर्शन सिद्धान्त उपेक्षित हुँदै गरेको,  पार्टी र देशको राजनीतिमा विकृति बढेको र एमालेभित्र आन्तरिक असन्तुष्टि पनि बढ्दै गएको कुराले चिन्तित बन्नु भएकी विद्या भण्डारी परस्पर घृणा र लान्छना बढ्ने कृयाकलाप कसैबाट नहोस् भन्ने सद्विचार रहेको बुझिन्छ । एमालेको वैधानिक व्यवस्था अनुसार अब केपी शर्मा ओली अध्यक्ष पदमा तेहेरिन नपाउने र हाल दोस्रो पुस्तामा रहेका  नेताहरूबीच  आपसी विश्वास र समझदारी  बन्न  सकेको पनि छैन ।

 

बरु कुनै न कुनै स्तरको वैरभाव रहेकोले एकले अर्कोलाई नेता स्वीकार गर्ने अवस्था बनिरहेको छैन । त्यसैले सबैलाई समेटेर अघि बढ्ने नेताको खोजि हुँदा सबैले विद्या भण्डारीलाई उपयुक्त पात्र ठान्न थालेका छन् । र, विद्यालाई राजनीतिमा सक्रिय हुन दबाब बढ्नुको कारण पनि यही भएको बुझिन्छ । परिस्थितिले विद्यालाई नै एमालेको जिम्मा  लगाउने सम्भावना यसरी बढ्दै गएको अवस्था छ ।


सिद्धान्त र व्यवस्थामा आधारित पार्टी संरचना, पदाधिकारीहरूको उल्लेखित सूची र भण्डारीको सम्भावित नेतृत्वले पार्टीको भविष्यको स्थिरता र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

(साँघु साप्ताहिक, २०८१ माघ २८) 
 

प्रतिकृया दिनुहोस