• मंगलबार-माघ-२९-२०८१

युके, सिंगापुर र क्रोएसिया पठाइदिने बहानामा लाखौं ठगी, तीन जना पक्राउ

 

काठमाडौं । बेरोजगार युवा-युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ घर भई हाल ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया राजपुर नगरपालिका-७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुर सूर्यविनायक-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन् ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार रायमाझीलाई ललितपुर, पौडेललाई बुढानिलकण्ठबाट पक्राउ गरेको हो । यस्तै, राईलाई शुक्रबार भक्तपुरबाट पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

 

राईविरूद्ध युके पठाइदिने बहानामा पाँच जना व्यक्तिबाट २७ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनीविरूद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ६ लाख ४० हजार रुपैयाँको तीन वटा र प्रहरी वृत्त कीर्तिपुरमा २ लाख रुपैयाँ र युके पठाइदिने भन्दै १९ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार रहेको मुद्दा वैदेशिक रोजगार विभागमा रहेको एसएसपी बस्नेतले बताए ।

 

यसैगरी, रायमाझीले सिंगापुर पठाइदिने बहानामा तीन जना पीडितबाट ७ लाख र पौडेलले क्रोएसिया पठाइदिने बहानामा दुई जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको पाइएको बस्नेतले बताए । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस