• बुधबार-माघ-२३-२०८१

माधव नेपालको ‘एस’दल विघटनतर्फ ! 

 

माउबाट छुट्टिएर ‘जङ्गलमा भौँतारिएको बाच्छो’ जस्तो अवस्थामा पुगेका माधव नेपाल र झलनाथ खनालहरू राजनीतिका ‘जिरो’ हुन् । जिरोमा जतिनै जिरो मिलेपनि ‘अङ्क’ बन्न सक्दैनन् । त्यसमा फेरि वामदेवले मूलघर रोजेपछि नेपालको समूह उत्तानो पर्ने देखिन्छ । एमालेको केन्द्रीय कमिटी बैठकपछि पार्टीले नयाँ ‘स्पिरिट’ तथा ‘गियर’ पक्डन देखियो । अहिले पनि वैचारिक र वामआन्दोलनको ‘स्कुलिङ्ग’बाट आएका सचेत राजनीतिक कार्यकर्ताहरूमा एमालेमा सानो पदमा बस्दा पनि ठूलो ‘सोसल÷पोलिटिकल स्टाटस’ हुन्छ भन्ने मनोविज्ञान बढी छ । 


२०३९ सालदेखि २०४२ सालसम्म तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव रहिसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०६४ सालमा एमालेको अध्यक्ष रहे । उपाध्यक्ष रहेका डा. भीम रावलहरू तिनका अराजनीतिक हर्कत र अराजक कार्यशैलीका कारण राजनीतिमा ‘जिरो’ अवस्थामा पुगिसकेका छन् । संवैधानिक र कानुनी भूमिकाबाट मात्र होइन राजनीतिक, सामाजिक, सार्वजनिक र नैतिक धरातल समेत ध्वस्त भइसकेका राजनीतिका डेटएक्सपायर्ड ‘जिरोहरू’को कूल जोड जिरोभन्दामाथि हुन सक्दैन । जतिनै जिरो मिलेपनि चौरासीमा एमालेलाई कुनै क्षति गर्न सक्ने स्थिति छैन ।

 

प्रधानमन्त्री केपी ओलीको विरोध मात्र गरेर अब तिनलाई किन नेपाली जनताले विश्वास गर्नुपर्ने ? कुनै वस्तुगत तर्क र आधार देखिन्न । ‘अब एमालेबाहेक कुनै नयाँ कम्युनिस्ट पार्टी चल्दैन’ भन्ने सत्य स्वीकार गरेका डा.रावलको अब भने राजनीतिमा कुनै अर्थ देखिन्न । माधव नेपाल, रावल, खनाल सबै राजनीतिका ‘डेटएक्सपायर्ड’ व्यक्ति हुन् । तिनले भर्भराउँदो कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन प्रतिगामी भूमिका खेले । अब फेरि एमालेभन्दा नयाँ र विशिष्ट कुरा तिनले नेपाली राजनीतिमा के दिन सक्छन् होला ? तिनीहरूसँग कुनै पनि राजीतिक, वैचारिक, कार्यक्रमिक र प्रगतिशील दृष्टि छैन । फेरि किन एमालेको ‘स्कुलिङ्ग’ र ‘मुभमेन्ट’बाट आएका सचेतहरूले तिनलाई समर्थन गरिदिनुपर्ने ? कुनै पनि कारण र अर्थ छैन ।


 एमालेविरोधीहरूको अहिले एउटै ‘गीत’ छ–‘अब एमाले कमजोर हुन्छ ।’ त्यसमा कुनै वस्तुगत आधार छैन । माधव नेपाल, झलनाथ, भीम रावल आदि मिलेपछि एमालेलाई ‘गम्भीर’ क्षति हुने तर्क गर्नेहरू प्रतिगामी हुन् । तिनीसँग राजनीतिको ज्ञान छैन । कुनै समय एमालेमा रहेर मोजमस्ती गरेकाहरु अहिले कम्युनिस्ट मुभमेन्टबाट मात्र होइन राजनीतिबाट नै पतन भइसकेका उनीहरूको मिलनबाट एमालेलाई कतिपनि राजनीतिक क्षति हुने स्थिति देखिन्न । अब नेपाल, गौतम र रावलहरू आफैँ सकिन्छन् । 


 एमालेको १५ वर्ष शक्तिशाली महासचिव चलाएका माधव नेपाल समाजवादी नामको ‘च्याँखे दल’ जबर्जस्ती चलाएर बसेका छन् । एमालेका अध्यक्ष भइसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल कहिलेकाँही कसैले ‘पुस्तक विमोचन’मा बोलाए ‘प्रमुख अतिथि’ बन्ने भूमिकामा सीमित हुन पुगेका छन् । कुनैबेला उनीहरूको नेपाली राजनीतिमा ठूलै मान, सान र इज्जत थियो । अब त्यो अवस्था रहेन । खनाललाई नाम मात्रको ‘सम्मानित’ नेता बनाइएको छ । यसअघि पनि सत्ता राजनीति, नियुक्ति र पार्टीको आन्तरिक निर्णय नेता नेपाल र उनको कोर टिमले गर्दैआयो । खनाललाई कुनै जानकारी दिइएन । 


 प्रचण्डले एमाले अध्यक्ष ओलीसँग ‘वार्गेनिङ्ग’ गर्न खोलेको ‘समाजवादी मोर्चा’को औचित्य सकियो । प्रचण्ड फेरि त्यसको पुत्ला बनाएर सत्ताको बार्गेनिङ्ग गर्न खोज्दैछन् । जसको कुनै अर्थ छैन । अहिले चाहिँ एमाले अध्यक्ष ओलीले ‘बोलाए र पत्याए’ दुई कान समातेर माफीमाग्दै एमालेमा छिर्न खोज्ने नेताहरूको समूह समाजवादीमा ठूलो छ । आधा दर्जन सांसद ओलीसँग ‘कुरा मिलाउन’ ओली निकटहरूसँग निरन्तर भेटघाट र दौडधुप गर्दैछन् । कानुनी बाटो खुल्ने वित्तिकै माधवसँग सम्बन्धविच्छेद गर्ने उनीहरूको तयारी छ । पहिले राष्ट्रिय पार्टी चाहिँ बन्ने पूर्वअनुमानले हावा खाएपछिदेखि नेता नेपाल ‘काँचो रायोको साग खाएजस्तो’ अनुहार लगाएर सार्वजनिक मञ्चमा देखिन्छन् । 


२०८१ साल वैशाख १५ गते सम्पन्न भएको इलाम र बझाङको निर्वाचनमा त समाजवादीले शर्मनाक हार व्यहोर्नु प¥यो । उसले एमालेलाई हराउन पुग्ने मत समेत ल्याउन सकेन । यसले पनि पार्टीको खास हैसियत देखाइदियो । २०८१ मङ्सिर १५ को स्थानीय निर्वाचनमा पनि माधवको ‘धोती’ खुस्कियो । यसअघि नेता झलनाथ खनालको जिल्ला इलाममा कलममा आएको भोट केवल चार सय आठ मात्र थियो । त्योबेलादेखि नेता खनाललाई नेपालले एउटा केन्द्रीय सदस्यजस्तो पनि ‘भ्यालु’ दिएका छैनन् । नेता खनाल आफैँ पनि एमालेमा जान पाए हुने भन्ने मन बनाएर बसेको भएपनि ओलीले ‘भ्यालु नदिएको’ कारण डल्लुमा आसेपासेहरूसँग ‘चिया गफ गरेर’ बसेका छन् । वामदेव मूलघर प्रवेश गर्ने भएपछि खनाल समेत एमालेमा जान पाए हुन्थ्यो भन्ने मनस्थिति बनाएर बसेका छन् । 


२०४९ सालदेखि २०६४ सालसम्म एमालेका महासचिव र २०६५ सालेखि २०६७ सालसम्म देशको ३४औँ प्रधानमन्त्री भइसकेका नेता नेपाल ओलीको अराजनीतिक ‘रिस गर्दा’ जिरो स्टाटसको दलमा खुम्चिएका हुन् । नेपाल, खनाल, रावल सबै राजनीतिक र सार्वजनिक जीवनबाट ‘आउटडेटेट’ भए । चुनावमा नेपालको पार्टीले डा. सि.के. राउतको दलले जति पनि मत ल्याएन । ‘बुराहालत’मा पुगेका नेपालको दलमा राजनीतिमा फेरि ‘डेटएक्सपायर्ड’ भइसकेका रावलहरू मिसिनुले नेपाली राजनीतिमा तात्विक फरक पार्दैन । रावल समेत तिनै ‘जिरोहरूको ग्याङ्ग’तर्फ ढल्किएका छन् । यद्यपि रावल जागरण भन्दै ‘अर्थहिन विचारविहीन गाइजात्रा’मा निस्केका छन् । ‘जिरो’मा जतिवटा जिरो मिसाएपनि परिणाम चाहिँ ‘जिरो’ भन्दा बढी हुन नसक्ने ‘जिरोहरू’को जोडबाट कुनै पनि अंक बन्दैन । माधव नेपाललाई आफू बाहेकका नौ साँसद जोगाउन मुस्किल पर्दै गएको छ । नेपालले पहिले उनीहरूलाई मन्त्रि दिने भन्दै ढाँट्दै थुमथुमाएका थिए । अहिले नेता नेपाल मन्त्रि बाड्ने हैसियतमा छैनन् । 


एमालेका अध्यक्ष ओलीसँग अराजनीतिक द्वन्द्वको कारण घनश्याम, डा. भीम रावलहरू राष्ट्रिय राजनीतिको परिदृष्यबाटै ओझेल परिसके । अहिले उनीहरू सबै ‘सिनआउट’ जिरो हुन् । माधव नेपाललाई उनको ‘पार्टी’ चौरासी सालसम्म लैजान नसकिने चिन्ता बढेको छ । यस्तोबेला समाजवादीमा ‘जिरो मिसिएर’ केही अर्थ छैन । माधवले केन्द्रीय कमिटीको मिटिङ गराउनेदेखिबाहेक राजनीतिमा कुनै भूमिका छैन । पहिले एमालेमा तल्ला कमिटीमा रहेका र जिम्मेवारी पूरा नगर्ने असन्तुष्टहरूलाई केन्द्रमा भरेका छन् नेपालले । माधवका केन्द्रीय सदस्यले समेत आफू समाजवादीको फलानो पदमा रहेको भन्ने कुरा समाजमा ढुक्कसँग भन्न सक्ने अवस्था छैन । भोली फेरि एमालेमा नै फर्कने हो भन्ने ‘मनोविज्ञान’ व्यापक रहेको छ ।

 

यहीकारण नेपालको दलको कुनै पनि अर्थ छैन । एमालेको केन्द्रीय कमिटीको बैठकद्वारा संगठन सुदृढीकरणका कार्यक्रमलाई वडासम्म लैजाने र राजनीतिक, वैचारिक र कार्यक्रमिक दृष्टिल पार्टीलाई गति दिन ठोस कार्यक्रम अघिसा¥यो । यसले एमालेले नयाँ ‘गियर’ पक्डने पक्का छ । सयममा नै भविश्य देख्नेहरू मूल घर प्रवेश गर्दैछन्  पत्रकार विश्वमणि सुवेदी, शन्तराम विडारी, माधव पौडेलहरू यसअघि नै एमाले भइसकेका छन् । यस्तो अवस्थामा माधवको ‘जिरो स्टाटस’ भएको दलमा सचेत नेता र कार्यकर्ता बस्नुको कुनै अर्थ छैन । राजनीतिक, वैचारिक र सामाजिक दृष्टिले इमान्दार र राजनीतिक भविश्य भएका सबै आफ्नो पुरानो घर फर्किन ढिला गर्नु हुन्न । (साँघु साप्ताहिक, २०८१ माघ १४) 
 

प्रतिकृया दिनुहोस