• बिहीबार-माघ-१७-२०८१

यी सहसचिवले कसरी मारे बाजी ?

 

काठमाडौं । ०८१ माघ ७ गते बसेको मन्त्रिपरिषद बैठकको बुँदा नं ४ मा अर्थ मन्त्रालयमा कार्यरत सहसचिव श्रीकृष्ण नेपाललाई एसियाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशक जस्तो महत्वपूर्ण पदमा नियुक्तिका लागि मनोनयन गर्ने निर्णय गरेको छ । सहसचिव नेपाल अर्थ मन्त्रालयको शक्तिशाली बजेट तथा कार्यक्रम महाशाखामा २०८१ जेठ महिनादेखि प्रमुखको  भूमिकामा रहेका थिए । नेपाललाई सरकारले २ वर्षका लागि मासिक रु. ३० लाख लगभग कमाई हुने एडिबीको वैकल्पिक कार्यकारी निर्देशकमा पठाउने निर्णय गरेको छ । सो निकायको बैकल्पिक कार्यकारी भएर जानको लागि मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख रहेका सहसचिव धनीराम शर्मा र नेपालको बिचमा हानाथाप चल्दै आएको चर्चा हुने गरेको थियो ।


अन्ततः पाल्पा निवासी सहसचिव नेपालले मासिक २० हजार अमेरिकी डलर अर्थात् महिनाको लगभग रु ३० लाख नेपाली तलव पाउने एडिबीको महत्वपूर्ण पद हात पार्न सफल भएका छन् । उपसचिव हुँदै विश्व बैंकको कार्यालय अमेरिकामासमेत बसेर आर्थिक रूपमा उनी मालामाल भैसकेका हुन् । उनै नेपाललाई पुन सरकारले एडिबीमा पठाउने निर्णय गरेको छ । 


 सहसचिव नेपाल नौ वर्षदेखि अर्थ मन्त्रालयमा कार्यरत छन् । त्यसमा पनि उनी अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख भएर लामो समयदेखि कार्य गरेका थिए । उनलाई उप–प्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ०८१ जेठमा सो महाशाखाबाट सरूवा गरी बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी सुम्पेको बताइन्छ । अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखामा भने विगतमा वामदेव गौतम निकट भएर काम गरेका सुर्खेतका धनीराम शर्मा भट्टराईलाई लगिएको छ । सहसचिव शर्मा त्यसअघि संस्थान समन्वय महाशाखा प्रमुख रहेका थिए । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग महाशाखालाई एडिबी, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, दातृ निकाय र संस्थाहरूबाट आर्थिक ऋण, अनुदान र सहयोग जुटाउने निकै शक्तिशाली मानिन्छ ।


 वर्षमा १५–२० पटक विदेश भ्रमण, डलरमा भत्ता,  कूटनैतिज्ञसँग उठबस, प्राय ः तारे होटलमा ज्युनार र नेपालको जागिर सकिएपछि पनि पुन अवसर पाइने भएकोले पनि यो महाशाखामा सहसचिवहरुको बढी आँखा लगाउने गरेका छन् । विदेशीसँगको निकट सम्बन्धका कारण एडिबी, विश्व बैंक, आईएमएफ, विदेशी सहायत नियोग, आईएनजिओमा डलरमा जागिर खान पाइने भएकाले सो महाशाखा प्रमुखको लागि राम्रो अंग्रेजी भाषामा दख्खल र सत्ता निकट शक्तिशाली सहसचिवबीच निकै चलखेल र हानाथाप हुने गरेको स्रोत बताउँछ । यो महाशाखामा सहसचिव हुँदा पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल र पूर्व अर्थसचिव मधुकुमार मरासिनी लामो समय बसेका थिए । त्यसपछि सहसचिव नेपालले नै यो महाशाखाको जिम्मेवाली लामो समयसम्म संहाल्ने अवसर प्राप्त गरेका थिए ।


यो महाशाखा संहाल्ने सहसचिवहरूले विदेशीले दिने जस्तोसुकै ऋण र अनुदान स्वीकार गरी राम्रो आर्थिक लाभ लिनेको गरेको आरोप लाग्ने गरेको छ । राष्ट्रिय हितमासमेत उनीहरुले कुठाराघात गरेर विदेशी एजेण्ट बनेको आरोप पनि खेप्ने गरेका छन् । सहसचिव नेपाल आगामी चैत्रमा फिलिपिन्सको मनिलातर्फ प्रस्थान गर्नेछन् । एडिबीको मनिलामा जाने खोज्ने सहसचिवहरू प्राय अलिक रसिक स्वभावका मानिन्छन् । सहसचिव नेपाल मनोनित भएको एडिबीको उक्त पदमा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी पैसाको लोभमा गएका थिए । सरकारले सुवेदीलाई लाभको पदको लोभ देखाएर मुख्यसचिवबाट राजीनामा दिन लगाएर पठाइएको थियो । त्यसपछि रिक्त स्थानमा कानून सचिव राजेन्द्र कुमार क्षेत्रीलाई मुख्यसचिवमा बढुवा गरिएको थियो ।


सत्ता परिर्वतन भएपछि सुवेदीलाई फिर्ता बोलाएर बाँकी अवधिका लागि अर्थ मन्त्रालयका अर्का शक्तिशाली सहसचिव रामशरण पुडासैनीलाई खटाइएको थियो । उनीपछि अर्थ मन्त्रालयको राजस्व सचिव भएर सेवा निवृत्त भएका थिए । हाल उनी यतिखेर कृषि विकास बैंकको भत्तँ मात्रै खाने अध्यक्षको भूमिकामा रहेका छन् । तर, अहिले पुडासैनी जसरी पनि बीमा प्राधिकरणको अध्यक्ष हुने दौडधुपमा लागेको बताइन्छ । एमालेमा राम्रो पहुँच भएका उनका सहोदार भाइ हरिशरण पुडासैनी अहिले भन्सार विभागका महानिर्देशकको भूमिकामा रहेका छन् । उनीपनि अवसरमाथि अवसर प्राप्त गर्ने सहसचिव हुन् । हरिशरण चीनमा चार वर्ष महावाणिज्यदूत भएर गत वर्ष असोजमा मात्र नेपाल फर्किएका थिए । 


२०७१ फागुन १२ गते सहसचिव बढुवा भएका सहसचिव नेपाल अझै दुई वर्ष सचिवमा बढुवा हुने पालो नआउने भएपछि नेपाल छाडेर डलर कमाउन मनिला जान लागेको जानकार स्रोत बताउँछ । उनी सहसचिव बढुवा भएपछि दस वर्षसम्म कुनै प्रदेशको सचिव भएर उपत्यका बाहिर जानु परेको छैन । (साँघु साप्ताहिक, २०८१ माघ १४)
 

प्रतिकृया दिनुहोस