• बुधबार-माघ-१६-२०८१

केयुको उपकुलपति छनौट रोकेर ‘जात्रा’  

 

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रियामा अनावश्यक रुपमा लम्बिएको छ । उपकुपति भोला थापाको कार्यकाल सकिनुअघि नै प्रक्रिया सुरु भएको भएपनि बीचमै अड्किएको छ । थापाको कार्यकाल सकिएसँगै रजिस्टार अच्युत वाग्लेलाई कार्यवाहकको जिम्मेवारी दिइएको छ । प्रक्रिया लम्बिएका कारण उकुलपति कहिले आउने हो भन्ने पनि यकिन भएको छैन । सरकारमा रहेका दुई दलले विश्वविद्यालयका उपकुलपतिहरु भागबण्डा गरेका थिए । भागबण्डा भएअनुसार कृषि विश्वविद्यालय एमालेको भागमा थियो भने काठमाडौं विश्वविद्यालय कांग्रेसको भागमा परेको थियो । एमालेले कृषि विश्वविद्यालयमा आफ्नो कोटाबाट शान्ता थपलियालाई उपकुलपति बनाइसकेको छ । 


काठमाडौं विश्वविद्यालयमा भने उपकुलपति हुन लागि भइरहेको लिगलिगे दौडका कारणले पनि समस्या भएको छ । पूर्व उपकुपति सुरेशराज शर्माको नेतृत्वमा छनौट समिति बनेको छ । उक्त समितिले निवेदन दिएका १७ मध्ये १६ जनाको नाम सर्टलिष्ट गरेको छ । ती १६ जनामध्येबाट ३ जना छनौट गरी कुलपतिलाई नियुुक्तिका लागि सिफारिश गर्नुपर्ने हो । तर, यसवीचमा राजनीतिक दल, पूर्वउपकुलपति र प्राध्यापकहरुले विभिन्न राजनीतिक दाउपेचको खेल खेलेपछि समस्या बढेको हो ।

 

स्रोतहरुका अनुसार, पूर्वउपकुलपति तथा छनौट समितिका संयोजक शर्माको चाहना एउटा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको अर्को चाहना रहेको छ । देउवाले उपकुलपतिका लागि रजिस्टार अच्युत वाग्लेलाई अगाडि सारेका छन् । भोला थापाको विकल्पमा उनको नाम अघि सारेपछि वाग्ले र थापाको पछिल्ला दिनमा प्रतिस्पर्धा चर्को भएको छ । थापा बहालवाला उपकुपति भएको र आरजु राणासँग निकट सम्बन्ध रहेका कारणले उनी थप बलियो रहेको बताइन्छ । यद्यपि, वाग्ले पनि यसअघि देउवाको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् । कुनै बेला राष्ट्र बैकको गर्भनर नै बनाउनुपर्ने भन्दै वाग्लेले प्रयास गरेका थिए । त्यसैले, अहिले वाग्लेलाई देउवाले साथ दिएको चर्चा गरिन्छ । यद्यपि, शर्माको चाहना थापालाई नै निरन्तरता दिनेमा रहेको छ । 


 त्यसबाहेक, मेरिटोक्रेसीको आधारमा पनि उपकुलपति नियुक्तिको प्रयास भइरहेको छ । त्यसमा भने वाग्ले १६ मध्ये १२ नम्बरमा रहेको बताइन्छ । वाग्ले अखवारी लेखनमा काविल रहे पनि अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान लेखहरु कम रहेका कारणले उनी पछाडि परेको पनि बताइन्छ । त्यसरी हेर्दा चाहिँ वाग्ले १० जनाभित्र पनि नपर्ने भएका कारणले उनलाई उपकुलपति बनाउन नहुने तर्क पनि थापा पक्षले गरिरहेको छ । राजनीतिक पहुँचको आधारमा हुने हो भने अहिले थापा र वाग्लेमध्ये एकजना हुने चर्चा गरिन्छ ।

 

तर, प्राज्ञिक अनुभव र व्यवस्थापकीय क्षमता र ज्ञानको कमीका कारण वाग्ले अरु प्रतिस्पर्धीभन्दा कमजोर मानिएको छ ।  यता, धुलिखेल अस्पतालको समूह अर्थात पूर्वउपकुलपति रामकण्ठ माकाजुको समूहको राजनीतिले पनि अबको उपकुलपतिमा को आउने भन्ने फरक पार्ने देखिएको छ । थापा उपकुलपति भएर आएपछि माकाजुले असहयोग गर्दै आएका थिए । धुलिखेल अस्पताललाई काठमाडांै विश्वविद्यालयबाट अलग गराउन प्रयास गरेका थिए । यो विवाद चर्को भइरहेका बेलामा केही साताअघि मात्रै सहमति गराईएको छ । त्यो सहमतिले भने थापालाई अघि बढाउने गरी शर्माको पहलमा भएको हुनसक्ने अनुमान भइरहेको छ । 


माकाजुको समूहले भनेको व्यक्ति रजिस्टार बनाउने वा अन्य केही ठूलो निर्णयमा सहमति भएको अनुमान भइरहेको छ । तर, त्यहीवीचमा शर्माले आफ्ना भाञ्जा नवीन पोखरेल अर्को एक आफन्तलाई पनि उपकुलपतिको दाबेदारको १६ जनाको सूचीमा पारेपछि थप विवाद भइरहेको छ । छनौट समितिका सदस्यहरुका आफन्तले प्रतिस्पर्धा गर्न नमिल्ने कानूनी व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई अनदेखा गरी शर्माले आफ्ना भाञ्जालाई अगाडि सारेका छन् । त्यसैले अहिले बजारमा शर्माले कि भोला बनाउँछन् कि झोलीका देउता (भाञ्जा) बनाउँछन् भन्दै चर्चा भइरहेको छ । त्यसो त, अर्कोतिर अहिले छनौट समितिले पुनः आव्हान गर्न सक्ने चर्चा पनि भइरहेको छ । धुलिखेल अस्पतालसँग भएको नयाँ सम्झौता कारण उक्त अनुमान भएको हो ।

 

कार्यविधिमा मेडिकल डाक्टरहरुले प्रतिस्पर्धा गर्न नपाउने अवस्था सिर्जना गरिएको थियो । सोहीकारण मेडिकलका प्राध्यापकहरु अदालत पनि गएका थिए । अदालतले अन्तरिम आदेश भने दिएन तर धुलिखेल अस्पतालसँग सम्झौता चाहिँ मेडिकल प्राध्यापकहरुले प्रतिस्पर्धा गर्न पाउने गरी भएको छ । सोहीकारण रिकल हुने संभावना रहेको पनि चर्चा भइरहेको छ । (साँघु साप्ताहिक, २०८१ माघ १४)
 

प्रतिकृया दिनुहोस