• सोमबार-माघ-७-२०८१

सैतिस डीएसपीहरूको बढुवा कहिले : यी जिल्लाको प्रहरी प्रमुख को बन्ला ?   

 

काठमाडौं । नेपाल प्रहरीमा एसएसपी बढुवा सिफारिससँगै ३७ डीएसपीहरुको एसपीमा बढुवाको लागिसमेत आन्तरिक गृहकार्य गरिएको समाचार छ । यसका लागि करिब चार दर्जन डीएसपीहरू दौडधुपमा लागेको चर्चा चल्दै आएको छ । यसअघि बढुवा सिफारिस भएका २५ जना एसएसपीहरूले फुली लगाउनासाथ ३७ जना डीएसपीहरूलाई एसपी बढुवा सिफारिस गर्ने प्रहरी प्रधान कार्यालयले तयारी अगाडि बढाएको स्रोतले जानकारी दिएको छ । नेपाल प्रहरीमा लामो समयदेखि रिक्त रहेका २५ एसएसपीको पदमा बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा एसपी रमेश थापा परेका छन् । उनी संगठनभित्र विवादरहित अधिकृत मानिन्छन् । 


थापा गत भदौदेखि अन्वेषण तथा योजना निर्देशनालयमा कार्यरत रहेका छन् । त्यसअघि उदयपुर जिल्लाको प्रहरी प्रमुख रहेका थिए । प्रहरीको कार्यशैली र अनुशासनमा सुधार गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले २०५३ सालमा नेपाल ल क्याम्पसबाट स्नातक गरेका थिए । बिएल अध्ययन गर्दा पनि उनी अब्बल विद्यार्थी रहेको उनका सहपाठीहरु बताउँछन् । त्यसपछि बढुवा सूचीको दोस्रोमा अजय केसी, तेस्रोमा अनुपम शमशेर जबरा, चौथोमा वीर बहादुर बुढामगर र पाँचौंमा नवराज अधिकारी परेका छन् ।

 

छैठौंमा कृष्ण कोइराला र सातौ नम्बरमा होबिन्द्र बोगटीको नाम रहेको छ । बढुवाको सूचीमा पर्नेहरूमा गोविन्द अधिकारी, विनोद सिलवाल, श्यामकुमार महतो, बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल र सन्तोष खड्का रहेका छन । सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सन्जयसिंह थापा, विमलराज कडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिसको सूचीमा विवादास्पद छवी भएका एसपी कमल थापा, प्रकाश रानाभाट र तुल बहादुर कार्की भने छुटेका छन् । यी एसपीहरू विभिन्न काण्डमा मुछिएकोका कारण बढुवा सिफारिसबाट बन्चित भएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।


उनीहरूको बढुवामा रोकिएकै कारण कँडेल, खड्का र ढकाल बढुवा सिफारिसमा परेको स्रोत बताउँछ । नेपाल प्रहरीका आईजीपी वसन्त बहादुर कुँवरले ६ महिना पद रिक्त राखेर ढिलै भएपनि बढुवामा कार्य दक्षतामा अब्बल रहेका प्रहरी अधिकृतहरुको बढुवा सिफारिस गरेको चर्चा संगठनभित्र चल्ने गरेको छ । 


एसएसपी बढुवाका सम्भावित ३८ प्रतिस्पर्धीमध्ये २५ को छनौट कष्टकर हुँदा बढुवा सिफारिस विलम्ब हुँदै गएको थियो । प्रकाशित बढुवा सिफारिसमा २०७५ फागुन ७ र २०७७ वैशाख ११ मा डीएसपीबाट एसपी बढुवा हुनेहरू पनि समेटिएका छन् । बढुवाको लागि गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा प्रहरी महानिरीक्षक कँुवर सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंह सदस्य सचिव रहेको सिफारिस समिति गठन गरिएको थियो । उता, २५ एसपीको एसएसपीमा बढुवा सिफारिससँगै बारा, सिन्धुपाल्चोक, नुवाकोट र इलाम जिल्लाका प्रहरी प्रमुख पद रिक्त हुन पुगेको छ ।


यी चारसहित एक वर्ष अवधि पुगेका एक दर्जन भन्दा बढी जिल्लाका प्रहरी प्रमुखहरुकोसमेत सरुवा हुने चर्चा चल्न थालेको छ । केही एसपीहरु ती जिल्लामा सरूवा हुन शक्ति केन्द्रमा दौडधुप गर्न सुरु गरिसकेको समाचार बाहिरिएका छन् । बारामा कार्यरत महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का, नुवाकोटका शान्तिराज कोइराला र इलामका प्रभु ढकाल एसएसएपीमा बढुवा सिफारिस भएका छन् । ती जिल्लामा नयाँ एसपी पठाउन प्रहरी प्रधान कार्यालयले तयारी अगाडि बढाएको बुझिएको छ । (साँघु साप्ताहिक, २०८१ माघ ७) 
 

प्रतिकृया दिनुहोस