• सोमबार-माघ-७-२०८१

प्रधानसेनापति समक्ष सैनिक अस्पतालको सेवा सुधारका लागि सुझाव

 

सबभन्दा पहिला नेपाली सेनाजस्तो गरिमामय संस्थाको माथिल्लोतहमा पुग्नु भएकोमा ढिलै भएपनि हार्दिक बधाई तथा शुभकामना । ऐतिहासिक समयदेखि नेपाल र नेपालीको शिर ठाडो पार्ने काममा लागेको सेनालाई केही देशी तथा विदेशी एजेण्टले यसको बद्नाम गर्न सदनमा समेत प्रयास गरेपनि सेना सँधै अटल रहेर नेपाली जनता र देशको रक्षा  र सेवामा सदैब कायम रहन सफल भएको छ । भविष्यमा  सेनाको  जिम्मेवार अझ गहन हुने संभावना देखिन्छ । यस्को लागि केहि सतर्कता अपनाउन जाहेज नै हुन्छ ।


आजको सन्दर्भ सेनाले स्वास्थ्यमा पु¥याएको योगदान बारेमा उल्लेख गर्दैछु । सकलदर्जाहरुको शान्तिसेना तथा मिसनमा भाग लिंदा युएनबाट पाउने भत्ता काटेर शिक्षा र स्वास्थ्यमा उपयोग गरिएको छ ।  नेपाली सेनाका बहालवाला  तथा भूपू तथा परिवारको कल्याणकारी स्वास्थ्य उपचारमा पु¥याइरहेको योगदान अतुलनीय छ । यसलाई अझ समयअनुकूल सुधार गर्दै लानु पनि सान्दर्भिक हुनेछ । 


नेपाली सेनाका महत्वपूर्ण जमिन एकपछि अर्को गर्दै सरकारको दवाव र प्रभावले गुम्दै गरिरहेको अवस्थामा  २०४४ सालमा स्व.प्रधानसेनापति  सत्चीत शम्शेर जबराले पिएसओजको बैठकमा हामी चिफसाबले आफ्नो पालामा कुनै एउटा भएपनि ठोस कार्य सम्पन्न गरौं भन्दा म पनि आर एन्ड डी मा कार्यरत भएर स्टाफको नाताले दर्शक भएर उक्त कुरा सुन्ने मौका पाएको थिएँ । त्यसैलाई कार्यन्वयन गर्दै छाउनीस्थित वीरेन्द्र अस्पताल निर्माण सुरु गरि वहाँकै कार्यकालमा सम्पन्न भयो । 


धेरैलाई अपायक पर्ने भएपनि हाम्रा महत्वपूर्ण जमिन सरकारले लिंदै अरु संस्थालाई दिइरहँदा सेनाले बोल्न नसक्नु र समयमा केही गर्न नसकिरहेको अवस्थामा छाउनीमा यो अस्पताल ठुलो उपलब्धि भएको छ । त्यसपछिका दिनमा महाँकालको सीमित क्षेत्रबाट छाउनीको खुला परिवेशमा आएर यसले लाखौ सकलदर्जाको लगातार सेवा गर्दै आएको छ । यही बिचमा विभिन्न क्षेत्र पृतनाहरुमा फिल्ड अस्पतालहरुमा बृद्धि हुँदै सुविधाहरु बढ्दै गएपनि सबै सुविधाले सम्पन्न वीरेन्द्र अस्पतालले अत्यधिक विरामीको चापलाई धान्ने प्रयास गरिरहेको छ  । 


केही दिन अघि म आफै चिसो र प्रदुषणको कारण केही दिन उपचारको क्रममा छाउनी अस्पतालमा भर्ना हुनु परेको थियो । उपचारको क्रममा डक्टर, नर्सं, स्टाफको सेवा अत्यन्त सह्रानीय लाग्यो । लगातार सफासुग्घर गर्ने परिचारिकाको कारण विरामीलाई सफामा रहने वातावरण निकै सह्रानीय छ । 


छाउनी अस्पतालको  प्रमुख समस्यामा पुरानो संरचना, ओपिडिमा विरामीको अत्यधिक चाप र सरसफाइमा कमी हो ।  उपचारमा आउने जेष्ठ नागरिक र सिनियर अधिकृतलाई अरु सकलदर्जाको भिडमा हराउनु झनै समस्या देखियो । ओपिडिमा सबै पालोमा बसेका बिरामीलाई सिनियर या जेष्ठ नागरिक विरामीले मलाई पहिला पठाइदिन भन्न पनि नमिल्ने र त्यहाँ सबैलाई एउटै लाइनमा जान पर्दा सैनिक संगठनमा बसेको अनुशासित ब्यक्तिलाई अप्ठ्यारो पर्नु स्वभाविक हुन्छ । भारतलगायत अन्यत्र सिनियर अधिकृत तथा जेष्ट नागरिकको लागि वेटिङ्ग रुममा राखेर छुट्टै डक्टरबाट उपचार गरिने व्यवस्था हुन्छ । यसको लागि छाउनी अस्पतालको जनसाधनको दरबन्दी निकै कमी हुन्छ । 


केही महत्वपूर्ण ब्यक्तिसंगको जानकारीमा कमसेकम अरु दरबन्दी कटाएर भएपनि २०० जना डक्टर र ४०० जना नर्सको संख्या थप्न अत्यावश्यक देखिन्छ । किनकि सेनाको दरबन्दी बढाउन इन्फ्यान्ट्रीमा केही कठिन भएपनि स्वास्थ्य उपचारमा बढाउन धेरै कारणहरु दिन सकिन्छ । उपत्यका बाहिर बिभिन्न अस्पतालमा दरबन्दी अनुसार  डक्टर नर्स पठाउन आवश्यक छ ।  दैविक प्रकोपदेखि विभिन्न स्वास्थ्य क्याम्प संचालन गर्न सरकारलाई पनि मद्दत पु¥याउने काम भएका छन् । शान्तिसेना, मिसनहरुमा जानेको संख्या अत्यधिक बढेको छ । त्यसलाई घटाउने भन्दा बढाउन जरुरत छ । यसबाट युएनमा नेपालको नाम अझ उज्वल पार्न मद्दत पुगिरहेको छ । अहिले हाम्रै मेडिकल कलेज भइसक्दा त्यहाँबाट उत्पादन हुने डाक्टर नर्स कमसेकम हाम्रै अस्पताल तथा फिल्ड अस्पतालमा पूर्ति गर्न जरुरी छ । 


प्रधानसेनापतिज्यू,  भविष्यको पनि ख्याल गर्दै छाउनी अस्पतालका प्रमुख व्यक्तिहरुसंगको समन्वय बैठक गरि आवश्यक निर्णय पेस गर्न निर्देशन दिने हो भने धेरै सकारात्मक सुझाबहरु  निस्किनेछन् जसले सेनाको कल्याणकारी कार्यलाई मद्दत पुग्नेछ ।  नेपाल सरकारले के गर्ला र, अर्थ मन्त्रालयले रकम देला र भन्ने सोच्नु भन्दा आवश्यक  थप दरबन्दीको लागि लबिङ्ग गर्न जरुरी छ । यो देशमा बोल्नेको पिठो बिक्छ भन्ने उक्ति एकदम सही हुन्छ । चिफसा’बको समय ३ वर्ष भएपनि यति कार्य गर्न सके अवकास पछि पनि छाउनी अस्पताल प्रवेश गर्दा सबैले वहाँको हार्दिकरुपमा सम्मान गर्नेछन् ।  


अर्को महत्वपूर्ण विषय प्याथोलोजी  देखियो । अझैपनि धेरै किसिमका ब्लड, स्पुट्यानिक, तथा विभिन्न परीक्षणहरु बाहिर टेकु अस्पताललगायतमा लैजानु पर्ने रहेछ । त्यहाँ लैजान पनि अस्पतालमा भनेको बेलामा मानिस नपाउँदा विरामीका आफन्तले लैजानु पर्ने देखियो । त्यसैले अस्पतालको प्याथोलोजीमा नहुने रिसर्चहरुको लागि टेण्डर गरेर भएपनि बाहिरबाट  ल्याएर कुनै युनिट छाउनी अस्पताल कै परिसरमा खोल्न जरुरी भएको कुरा त्यहाँ कार्यरत सिनियर अधिकृतको पनि विचार रहेछ । यसका लागि केही रकम कल्याणकारीबाट खर्च गर्न सकिन्छ । अन्यत्र प्याथोलोजीको रिपोर्ट अहिले अनलाइन (क्युआर)बाट तत्कालै हेर्न सकिन्छ । त्यो सिस्टम हाम्रो प्याथोलोजिमा रहेनछ । यसले गर्दा विरामीको भिंड रिपोर्ट लिने ठाउँमा थुप्रिन्छ । यसलाई हटाउन अनलाइनबाट रिपोर्ट हेर्ने सिस्टम तत्कालै सुरु गरियोस् । 


पहिलाको बिशाल खुला क्षेत्र भएको छाउनी अस्पताल अहिले अत्यधिक भवन बनेर निकै साँगुरो मात्र होइन हरियाली देख्न पनि कठिनाइ भइसकेछ । त्यसैले अब कुनैपनि थप भवन निर्माण नगरि भएका भवनहरुको सदुपयोग गरियोस् । बोट विरुवा संरक्षण गरि थप बिरुवा बढाउन आवश्यक छ । यसबाट बिरामी र सकलदर्जाको स्वास्थ्यमा अनुकूल प्रभाव पर्नेछ । 


चिफसा’ब यति कुरा मैले राखे । म समसामयिक विषयमा लेखिरहने हुनाले आफ्नै सेनाको बारेमा सबैको हित हुने गरि यति लेख्ने हिम्मत गरें । अन्यथा नलिइदिनु होल । धन्यबाद ।
– पूर्ण ओली (अ.प्रा. महासेनानी), बालकुमारी ललितपुर नेपाल, २०८१ माघ ३ (साँघु साप्ताहिक, २०८१ माघ ७)
 

प्रतिकृया दिनुहोस