• शुक्रबार-असार-२०-२०८२

गुठी संस्थानमा अनियमित आर्थिक चलखेल : चिनियाँ पुजारी लामाको मनोपोली नियुक्ति !

 

काठमाडौं । विश्व सम्पदामा सूचिकृत मेलम्ची बौद्ध घ्याङ गुठीको अध्यक्ष तथा श्री बौद्धनाथ स्तुपाको पुजारी नियुक्तिमा राजनीतिक चलखेल भएको आशंका गरिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, तत्कालीन सचिव अर्जुन प्रसाद पोखरेल र गुठी संस्थानका प्रशासक शैलेश राज कुँवरले स्वार्थ हेरेर चिनियाँ लामा भुपति बज्र लामालाई नियुक्ति गरेको स्रोतले जानकारी दिएको छ । चिनियाँ लामा नियुक्ति गर्ने कार्यविधि २०७८ विपरीत उनको नियुक्ति भएको भन्दै  विरोध हुँदै आएको छ ।


मेलम्ची घ्याङ गुठीको अध्यक्ष तथा श्री बौद्धनाथ स्तुपाको पुजारी नियुक्ति हुन भूपति बज्र लामाले २०७७ पुसमा आवेदन दिएका थिए । चार वर्ष पछाडि उनलाई गुठी संस्थानले पुजारी लामाका रूपमा नियुक्ति गरेको थियो । त्यसपछि यो नियुक्तिलाई लिएर स्थानीय बौद्ध लामा गुरु, स्थानीय ५८ घरे तामाङ समुदायहरूले विरोध गरेका छन् । लामाले गुठी संस्थानका प्रशासक कुँवरको व्यक्तिगत चित्त बुझाएर लामा पुजारीले नियुक्ति लिन सफल भएको स्थानीयहरूले आरोप लगाएका छन् ।


भूपति बज्र लामालाई पुजारी नियुक्ति गर्नु हुँदैन भनेर काठमाडौं क्षेत्र नं ३ ‘क’ का बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, एमालेका नेता चन्द्रमान लामा, खड्गजित लामा, नेपालजित लामा, डा. गणेश योन्जन, सर्वजित लामा, राजकुमार लामा, वडा ६ नका अध्यक्ष भुवन लामा र सम्पूर्ण कुमार लामा लगायतले विरोध गर्दै आएका पनि थिए । नियुक्ति लिएका लामाले मेलम्ची घ्याङ गुठीको जग्गामा रहेको ५८ घर स्थानीय तामाङ समुदायको ‘तामाङ कल्याण गुठी’ र गुठी संस्थानले शुल्क उठाएर सञ्चालन गर्दै आएको बताइन्छ ।


विवादकैबिच नियुक्ति 
श्री बौद्धनाथ स्तुपा परिसरभित्रको बत्ति बाल्ने छ्यामे घरको ठाउँलाई हटाउन खोजेपछि चिनियाँ लामा र स्थानीय ५८ घरे तामाङ समुदायबीचमा लामो समयदेखि विवाद हुँदै आएको छ । जसले गर्दा बेलाबखत स्थानीय समुदायले भूपति बज्र लामालाई हटाउन आन्दोलन गर्दै आएका छन् । २०७५ पुसमा लामाले पुरातात्विक सम्पदा बौद्धनाथ स्तुपमा लाइटिङ सिष्टम जडान गर्न विभागको अनुमति नलिई जथाभावी किला ठोकेका थिए ।


स्तुपामा प्वाल पारेको, जेनरेटर प्रयोग गरेको आरोपमा बौद्धमा उनीविरुद्ध प्रदर्शन र आन्दोलनसमेत भएको बताइन्छ । २०७६ मंसिरमा पनि लामालाई हटाउन ठुलो आन्दोलन भएको थियो । आन्दोलनपछि सरकारले अनियमितता छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव रूद्र सिंह तामाङको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । 


समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, मन्त्रालय, गुठी संस्थानका प्रतिनिधि तथा पुरातत्व विभागका सदस्य रहेका थिए । छानबिनको अवधिमा श्री बौद्धनाथ क्षेत्र विकास समितिले स्तुपाको नियमित पूजाआजा गर्न स्थानीय लामा पुजारी पुर्ण बहादुर लामालाई तोकेको थियो । बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा बौद्ध क्षेत्रमा क्रियाशील संस्थाले बौद्ध घ्याङ गुठीका चिनियाँ लामालाई बौद्ध क्षेत्र प्रवेशमा रोक लगाएको थियो । बौद्धमा चिनियाँ लामाको विरोध यसअघि पनि हुँदै आएको थियो । बौद्धको पुजारीमा चिनियाँ लामा ‘भूपति बज्र लामा’को नियुक्तिदेखि नै उनको विरोध हुँदै आएको छ ।


उनी अघिका चिनियाँ लामाको भने यति धेरै विरोध भएको थिएन । यसअघि मन्त्रालयका तत्कालीन उपसचिव नीरज पौडेलको संयोजकत्वमा पनि चिनियाँ लामा विवाद सम्बन्धमा छानबिन गर्न समिति गठन भएको थियो । समितिले प्रतिवेदन दिन नसकेपछि अर्काे समिति गठन गरिएको थियो ।


समितिलाई बौद्ध घ्याङ गुठीका चिनियाँ लामा विवादलगायत विषयमा छानबिन गर्ने जिम्मेवारी दिइएको थियो । स्थानीयवासीको विरोधपछि गुठी संस्थानले बौद्ध स्तुपा, घ्याङ गुठीलगायत स्थानमा पूजा गर्न परम्परागत ५८ घरे गुठियार परिवारमध्येका पूर्णबहादुर लामालाई पूजाआजा गर्ने गरी जिम्मेवारी दिएको थियो ।


राहदानी र नागरिकतामा पनि विवाद
हाल यस क्षेत्रका चार सय घर रैथाने तामाङ र लामा गुठियार रहेका छन् । २०७७ मंसिरदेखि चार वर्षे औपचारिक पदावधि सकिएका भूपति बज्र लामाले म नै श्री बौद्धनाथ स्तुपाको पुजारी लामा र मेलम्ची घ्याङ गुठीको प्रमुख हुँ भन्दै देश विदेशबाट करोडौं सहयोग राशी र भेटी उठाउदै आएको स्रोत बताउछ । २०७७ पुसपछि भूपति बज्र लामाले अनौपचारिक रूपमा श्री बौद्धनाथ स्तुपाको लामा पुजारी भएर काम गर्दै भेटीघाटी दुरुपयोग र अनियमितता गर्दै आएको आरोप पनि भोग्दै आएका छन् ।


उनीसँग नेपाल, चीन, कम्बोडियाको नागरिकता र राहदानी रहेको भनी विवादमा हुँदै आएको छ । उनकी श्रीमती कम्बोडियाको राजपरिवारको सदस्य रहेको बताइएको छ । राणा शासनकालमा राजा सुरेन्द्र शाहले श्री बौद्धनाथ स्तुपाको पूजाआजा र संरक्षण गर्ने जिम्मेवारीमा लालमोहर छाप लगाई चिनियाँ लामालाई दिएको बताइन्छ । तिनै लामाको आठौं पुस्ताका पुजारी भूपति बज्र लामा हुन् । पहिला चीन, भोट र तिब्बत जाने व्यापारी र पर्यटकलाई बौद्धका चिनियाँ लामाले नै भिसा अर्थात् प्रवेश अनुमति कागजात दिने गरेका थिए ।


चिनियाँ लामा नियुक्ति सम्बन्धी कार्यविधि–२०७८ लाई गुठी संस्थानको सञ्चालक समितिले २०७८ असोज १४ मा बसेको ३ सय ३८औं बैठकबाट स्वीकृत गरेको थियो । सो कार्यविधि विपरीत चिनियाँ लामा भूपति बज्र लामालाई श्री बौद्धनाथ स्तुपाको पुजारी तथा मेलम्ची बौद्ध घ्याङ गुठीको अध्यक्ष नियुक्ति गरिएको स्रोतको दावी रहेको छ । कार्यविधिको  दफा २ मा ‘चिनियाँ लामाको छनौट गर्दा महन्त, पूजारीलगायत देवस्थल जनशक्ति व्यवस्थापन निर्देशिकामा तोकिएका योग्यताका आधारमा हुनेछ’ भनिएको छ ।


यसका अतिरिक्त देहायका विषयमा ध्यान दिई विद्वत समितिको सिफारिसवाट र नभएको अवस्थामा सम्वन्धित विधाका विज्ञ आमन्त्रण गरी सञ्चालक समितिवाट चिनियाँ लामाको छनौट गरिने कार्यबिधिमा स्पष्ट उल्लेख रहेको छ । (क) बौद्ध धर्म सम्बन्धी ज्ञान भएको एवं सदाचारमा रहेको, (ख) शास्त्र बमोजिम लामाको दीक्षा लिएको हुनुपर्नेछ । लामा विधामा कम्तीमा मर्दा र जन्मदा गर्नुपर्ने विधि विधान गर्न सक्ने उल्लेख गरिएको छ ।


(ग) नियमित पूजा, पाठ, ध्यान, जप आदिमा अभ्यस्त भएको,(घ) फौजदारी अभियोगमा कसुरदार नभएको, असल चालचलन भएको हुनुपर्नेछ । (ङ) अन्य देशको नागरिकता नलिएको नेपाली नागरिक हुनुपर्ने,(च) चिनियाँ÷तिब्बती भाषाको ज्ञान भएको र (छ) लामा परम्पराको सैद्धान्तिक र व्यवहारिक ज्ञान भएको भनिएको छ ।’ यस्तै, दफा नं ३ मा ‘चिनियाँ लामा नियुक्ति हुने व्यक्तिले गुठीको सम्पत्ति संरक्षण गरी प्राप्त हुने आम्दानी सम्पदा क्षेत्रको विकासमा लगाउने भनिएको छ ।


लामामाथि विभिन्न आरोप 
साथै, तोकिए बमोजिम परम्परागत धार्मिक कृत्यमा खर्च गर्ने र गुठी कोषमा दाखिल गर्ने गरी अनिवार्य रुपमा कार्ययोजना पेश गर्नुपर्नेछ । उक्त कार्ययोजना बमोजिम निजलाई संस्थानले नियुक्ति गर्दा कबुलियतनामा गराउनु पर्ने बताइएको छ । दफा नं ४ मा ‘नियुक्ति सञ्चालक समितिले चिनियाँ लामाको लागि सम्भाव्य दावेदारहरु मध्ये दफा २ बमोजिम योग्यता भएका मध्येवाट सबैभन्दा उपयुक्त देखिएका व्यक्तिलाई यो कार्यविधि बमोजिमको प्रक्रिया पूरा गरी लामा नियुक्ति गर्ने निर्णय रहेको छ ।


यस्तै, दफा ५ मा  दफा ४ बमोजिम नियुक्त चिनियाँ लामालाई दफा ३ बमोजिम कबुलियत गराई निजको काम, कर्तव्य, अधिकार र निजको सेवा, शर्त, अवकाससमेत स्पष्ट उल्लेख गरी प्रशासकले नियुक्ति गरी नियुक्ति–पत्र दिनु पर्ने विषय उल्लेख गरिएको छ । दफा नं ६ मा चिनियाँ लामाको काम, कर्तव्य र अधिकार यसरी तोकिएको छ । (क) दान पर्व लिखत परम्परा बमोजिमको पर्व, पूजा, जात्रा ईत्यादि गर्नुपर्ने काम नरोकिने र धर्मलोप नहुने गरी लगत र परम्परा अनुसार गर्न भनिएको छ ।


(ख) गुठीलाई प्राप्त हुन आएका सम्पूर्ण नगदी जिन्सीको अभिलेख राखी नगद जति बैंकमा जम्मा गरी दरबन्दी बमोजिमका कार्यमा खर्च गर्ने, बाँकी बचेको रकम तथा साल भरिको आम्दानी खर्चको विवरण लेखा परीक्षण गराई सोको प्रतिवेदन समेत प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले ३० दिनभित्र संस्थानमा बुझाउने उल्लेख छ । (ग) प्रत्येक आर्थिक वर्ष शुरु हुनु अगावै आगामी वर्षको प्रस्तावित आम्दानी र खर्चको विवरण संस्थानमा पेश गरी स्वीकृत भए बमोजिम गर्नुपर्ने छ ।


यो कार्यविधि अनुसार चिनियाँ लामा भूपति बज्र लामाले यसअघि कुनै काम नगरेको स्रोतले दावी गरेको छ । अझ श्री बौद्धनाथ स्तुपामा नियमित हुने पूजा बाहेक अन्य रंगरोगन, सरसफाई, ध्वजापतका सजाउने कामसमेत नियमित रुपमा गरिएको छैन । स्तुपा र मेलम्ची घ्याङ गुठीमा देशी– विदेशी भक्तजनहरूले चढाएको करोडौं भेटी, बस्त्र, जिन्सी सामान, सुनचाँदीको हिसाब किताबसमेत पारदर्शी रुपमा नराखेको स्रोतको भनाई रहेको छ ।


विदेश भ्रमण र उठ्तीपुठ्ती 
उनी विगतमा पुजारी हुँदा बौद्धनाथ सतुपाको पूजा, ध्यान, तपमा भन्दा विदेश भ्रमण गरी रकम उठाउन तल्लीन भएको आरोप लाग्दै आएको थियो । श्री बौद्धनाथ क्षेत्र विकास समितिको गठन गर्न स्व. साङ्गे लामा (भज्यू) को धेरै ठुलो योगदान रहेको समाचार स्रोतको दावी छ । समितिले बौद्धनाथ क्षेत्रको भौतिक विकास, निर्माण, मेला जात्रासहितको कार्य हेर्दै आएको छ भने चिनियाँ लामाले पूजापाठ गर्ने गरेका छन् । 


२०५३ सालमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बलबहादुर केसीको मन्त्रीस्तरीय निर्णयबाट बौद्धनाथ क्षेत्र विकास समितिको गठन भएको  थियो । प्रथम अध्यक्षको रुपमा साङ्गे लामा नियुक्त भएका थिए । उनले २०५४ साल माघ १४ गते देखि २०५९ साल असार ३१ गते सम्म समितिको अध्यक्षमा रहेर काम गरेका थिए ।


उनकै पालामा बौद्धनाथ स्तुपा परिसरलाई फराकिलो, छेउछाउका सरकारी जग्गा मिचेर बनाइएका हटरा भत्काएर  फराकिलो बनाइएको थियो । बौद्धनाथ स्तुपाको रंगरोगन, सरसफाई र ध्वजापताले श्रृंगार्ने र जात्रा, पर्वहरू जस्ता कामलाई नियमित गरिएको थियो । त्यस्तै बौद्धनाथ स्तुपाको ऐतिहासिक, धार्मिक महत्वका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनमा स्वर्गीय लामाले ठूलै योगदान पु¥याएको जानकारहरु बताउँछन् । (साँघु साप्ताहिक, २०८२ असार १६) 
 

प्रतिकृया दिनुहोस