काठमाडौं । सरकारले ल्याउन लागेको सवारी तथा यातायात व्यवस्था ऐन २०८१ मा भएको कानुनी प्रावधानले यातायात मजदुरहरुलाई पार्ने असरबारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बसपार्क आधारित अन्तरक्रिया गरेको छ ।
विहीबार भक्तपुरको ब्रह्मायणी बसपार्क च्यामासिं र बुढानिलकण्ठ बसपार्कमा चालक, परिचालक संघ, संगठनका नेताहरुले भेटघाट गरी ऐनमा भएको व्यवस्था र संगठनले प्रस्तुत गर्ने सुझावका विषयमा अन्तरक्रिया गरेको हो ।
सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मार्फत ल्याउन लागेको सवारी तथा यातायात व्यवस्था ऐन २०८१ को दफा ६३ रहेको ज्यान मारेमा हुने सजायसम्बन्धी उपदफा–२ चालकहरु प्रतिकूल रहेको र त्यसलाई सच्याउन नसकिए चालकहरुले नेपालको जेल भरिने अवस्था आउने संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
उक्त दफामा लापरबाही भन्ने शब्दावली भएपनि त्यसलाई परिभाषित गर्दै लापरबाहीका कन्डिसनहरु उल्लेख गरेर सुझाव पठाइएको र कैद सजाय तीन वर्षदेखि १० वर्षसम्म भन्ने उल्लेख भएकाले त्यसलाई समेत बढीमा १० वर्षसम्म भन्ने सुझाव पठाइएको राईले बताए ।
त्यस्तै दफा ६४ मा रहेको अङ्गभङ्गमा समेत श्रमिक प्रतिकुल व्यवस्था गरिएकाले त्यसलाई समेत परिमार्जनका लागि संशोधन तयार गरिएको अध्यक्ष राईले जानकारी दिए । त्यस्तै चालक बन्न चाहिने लाइसेन्स लिने प्रकृयामा समेत आठ कक्षा उतिर्ण गर्नुपर्ने व्यवस्था रहेकाले यसलाई संशोधन गर्दै मान्यता प्राप्त ड्राईभिङ स्कुलमा तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने सुझाव गरिएको राईले जानकारी गराए ।
त्यस्तै चालकका लागि ६० वर्ष उमेरहदलाई ६५ वर्ष बनाइनुपर्ने समेत सुझाव दिइएको राईले बताए । सोही क्रममा भेटघाटसंगैं सदस्यतापत्र वितरण तथा नविकरण पनि सम्पन्न भएको छ । मजदुरहरुलाई बसपार्कमै पुगेर भेटघाट गरिएको समयलाई सदुपयोग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र जिफन्टको सदस्यहरुको सदस्यतापत्र नविकरण तथा मजदुरहरुलाई नयाँ सदस्यता वितरण गरिएको छ ।
बुढानिलकण्ठका १३६ सदस्यहरुको सदस्यतापत्र नविकरण गरिएको छ । त्यस्तै १५ वटा नयाँ सदस्यता वितरण गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश सचिव शिवकुमार श्रेष्ठले जानकारी गराए । त्यस्तै ब्रह्मायणी बसपार्कमा २३ जना मजदुरहरुलाई संगठनको सदस्यता वितरण गरिएको श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस