• मंगलबार-पौष-९-२०८१

प्रचण्ड नै एकताको बाधक–विप्लव समूह

 

काठमाडौं । माओवादी केन्द्रसँग एकता गर्नका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निर्णयको पर्खाइमा थियो । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकको निर्णय कुरिरहेको थियो । अध्यक्ष प्रचण्डले पटकपटक दिएको आश्वासनका कारणले पनि विप्लव आशावादी बनेर पार्टीको निर्णय कुरिरहेका थिए । 


 तर, माओवादी केन्द्रका नेताहरु भने विप्लवलाई भित्र्याउने भन्दा उनलाई रोक्ने प्रयास धेरै भएका छन् । त्यसैले, प्रचण्डले चाहेर पनि उनलाई भित्र्याउने विषयमा निर्णय लिन सकेका छैनन् । र, केन्द्रको केन्द्रीय कमिटी बैठक पनि सरिरहेको छ । त्यसको कारण भने प्रष्ट छैन तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अन्य केही नेताहरु नै एकताको पक्षमा नभएको हो कि भन्ने शंका विप्लवले गरेको स्रोत बताउछ । कतिपय विप्लवनिकट नेताहरुले भने प्रचण्डले अझै गलाएर एकता गर्न खोजेको अर्थमा पनि लिएका छन् ।

 

२०८१ पुस २ गते सकिएको विप्लवको केन्द्रीय कमिटी बैठकले एकताका लागि माओवादी तयार नभएको उल्लेख गरेका छन् । नेताहरुका अनुसार, प्रचण्ड र अन्य केही नेताहरु नै एकताको विपक्षमा रहेको पनि उक्त बैठकमा कुरा उठेको थियो । स्रोतका अनुसार, प्रचण्ड, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा विशेषगरी एकताको पक्षमा नदेखिएको हुन् । प्र्रचण्डले चाहेर पनि पुन र शर्माको दबाबमा एकता गर्न नसकेको विश्लेषण विप्लवको पार्टीमा भएको छ । 


 प्रचण्डले प्रधानमन्त्री हुँदादेखि नै विप्लवलाई भित्र्याउन खोजेका थिए । त्यतिबेला कृष्णबहादुर महराले निकै पहल गरेका थिए । पार्टीमा ल्याएर महासचिव बनाउन खोजेका कारण महराविरुद्ध पुन र शर्मा नै सक्रिय भएर लागेका थिए । कतिपयले महराविरुद्ध सुन काण्ड पनि त्यसैकारण निस्केको पनि बताइन्छ । अहिले महरा सक्रिय भएका छैनन् भने महासचिव देव गुरुङले विप्लवको पार्टीसँग एकताका लागि संयोजनको भूमिका निर्वाह गरिरहेका छन् । दुई कमरेडहरु पुन र  शर्माका लागि गुरुङ पनि रुचाइएका पात्र होइनन् । शर्मा र पुन आफै महासचिवका दावेदार हुन् ।

 

प्रचण्डपछिको नेता आफूहरु भएको उनीहरुको दावी छ । त्यहीकारकण शर्मा र पुनको वीचमा पनि प्रतिस्पर्धा रहेको छ । यसवीचमा शर्माले भने विप्लवलाई भेटेर नै सम्बन्ध सुधारको प्रयास गरेका छन् । एक महिनाअघि शर्माले विप्लवसँग् भेट गरेका थिए । त्यतिबेला एकताकै बारेमा पनि छलफल भएको थियो । शर्माले आफू एकताको विपक्षमा नभएको सन्देश दिएका थिए । स्रोतहरुका अनुसार, वर्षमान पुनलाई साइजमा राख्न पनि विप्लवलाई भित्र्याउनुपर्ने रणनीतिमा शर्मा पुगेका छन् ।

 

त्यसैले, पछिल्ला दिनमा शर्माले विप्लवलाई ल्याएर बलियो समूह बनाउन खोजेको अर्थमा विश्लेषण पनि भइरहेको बताइएको छ । तर, प्रचण्डले भने नन्दबहादुर पुनलाई ल्याएर वर्षमान र जनार्दन दुवैलाई साइजमा राख्न खोजेको पनि चर्चा छ । प्रचण्डले पुनसहित विप्लवलाई पनि ल्याउने तयारी गरेको बताइन्छ । त्यसैले, केन्द्रीय कमिटीले निर्णय नगरेको र सम्भवत ः अर्को केन्द्रीय कमिटीले निर्णय लिन सक्छ । (साँघु साप्ताहिक, २०८१ पुस ८)

प्रतिकृया दिनुहोस