• मंगलबार-पौष-९-२०८१

सशस्त्रका एसएसपीको बढुवामा अवरोध ? : चार जना डिआईजीपीको म्याद थपिदै 

 

काठमाडौं । सशस्त्र प्रहरी बलका २०७७ पुस १६ मा डिआईजीमा बढुवा भएका कमल गिरी, गणेश ठाडा मगर, कुल बहादुर नेम्बाङ र शम्भु सुवेदी यसै साताभित्र डिआईजीको एक वर्षे म्याद थप गर्न गृह सचिव गोकर्णमणि दुवाडी र गृह मन्त्री रमेश लेखकको निवाससम्म दौडधुप गरिरहेको स्रोत बताउछ । सशस्त्र प्रहरी बलमा डिआईजीको कार्यकाल चार वर्षको हुन्छ । त्यसमा फेरि राम्रो काम गर्नेलाई संगठन प्रमुखको सिफारिसमा सरकारले एक वर्ष म्याद थप्न सक्ने कानूनी व्यवस्था छ ।

 

डिआईजी गिरी, ठाडा मगर, नेम्बाङ र सुवेदीको चार वर्षे कार्यकाल २०८१ पुस १५ गते सकिन लागेकाले सशस्त्र प्रहरी विभागबाट पदावधि थपको सिफारिस  गृहमा पुगेको स्रोत बताउछ । उनीहरूसहित अभि कुमार खत्री र दुर्गा प्रसाद भट्टराई ६ जना २०७७ पुस १६ गते डिआईजीमा बढुवा भएका थिए । त्यसमध्ये दुई डिआईजी खत्री र भट्टराई  २०८१ भदौ १६ गते ३० वर्षे सेवाअवधि पूरा भएर अनिवार्य अवकासमा गइसकेका छन् । तर, विभागले अहिलेसम्म बढुवाको सूचना प्रकाशित गर्न सकेको छैन ।  


यसै साता वा अर्काे सातासम्म चारै जना डिआईजीको एक वर्षे म्याद थपिने सम्भावना छ । तर, तल्लो तहका अधिकृतहरू भने यसरी डिआईजीहरूको एक वर्षे म्याद थप्ने पक्षका विरूद्धमा  देखिएका छन् । उनीहरूको एक वर्ष म्याद थप्नु भन्दा तलका एसएसपीहरूलाई बढुवा गरेर फ्रेस डिआईजी बनाइ सशस्त्र प्रहरी बलको तल्लो तहको बढुवा जाम खोल्नुपर्ने पक्षमा छन् । 


सशस्त्र प्रहरी बलमा २०८१ भदौ १६ मा अवकास भएका डिआईजी खत्री र भट्टराईका ठाउँमा सूचना प्रकाशित गरेर वरिष्ठका आधारमा बढुवा प्रकृया अगाडि बढाउनु पर्नेमा विभागले सो कार्य किन गर्न सकेको छैन भन्ने प्रश्न खडा भएको छ । कांग्रेसका सभापति शेर बहादुर देउवाका स्वकीय सचिव भानु देउवाका आफ्नै बहिनी ज्वाइँ एसएसपी दीपेन्द्र बहादुर कुँवरलाई डिआईजीमा बढुवा गर्न  दरबन्दी रिक्त भएको झण्डै चार महिना पूरा हुन लाग्दा पनि बढुवा प्रकृया अगाडि नबढाइ बढुवाको लाइनमा रहेका एसएसपीहरू कृष्ण ढकाल, मनिष थापा, प्रकाश थापा, दिग्विजय सुवेदी, विष्णुप्रसाद भट्ट, सुधिरजंग थापा, किरण वस्नेत, माधव प्रसाद पौडेल, उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, शंकर खनाल, राजेश उप्रेती, रविनराज कर्णजीत, भरत खनिया, रमेश कुमार पाण्डे, सूर्य बहादुर सेन ओलीलगायतलाई अन्याय परेको गुनासो सुनिन्छ । त्यसो त किशोर प्रधानको अवकासपछि ई. प्रमोद कुमार साह तेली र ई. नानीराम हुमागाई पनि डिआईजीमा बढुवा हुन सकिन्छ कि भनेर आशा गरिरहेका छन् । तर यी दुबै एसएसपीहरू जेष्ठतामा अन्तिममा छन् । त्यसैले २०८१ माघ १७ गतेपछि हुने डिआईजीको रिक्त तीन वटा दरबन्दीमा शक्ति केन्द्रको दवावमा बढुवामा पर्न कुँवर, ढकाल, सुवेदी र थापा सक्रिय रहेको स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८१ पुस ८) 

प्रतिकृया दिनुहोस