• बिहीबार-मङ्सिर-२७-२०८१

प्रहरीका डीआईजीहरुको पदस्थापना–सरूवामा सकस

काठमाडौं । गृह मन्त्रालयले गतसाता आठजना डीआइजीहरुको बढुवा गरी दर्ज्यानी चिन्हसमेत लगाई सकेका छन् । तर, बढुवा भएका उनीहरुको अझै पदस्थापन भने हुन सकिरहेको छैन । करिब आठ महिनादेखि प्रदेश प्रमुख, विभाग, महाशाखा, निर्देशनालय र व्युरोमा रहेका डीआइजीपीहरुको पनि सरुवा हुन सकिरहेको छैन ।

 

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझावको आधारमा डीआईजीको सरूवा र पदस्थापनको सूची तयार गर्न प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई निर्देशन दिएको बुझिएको छ ।

सम्भवत आजभोलि नै हालै बढुवा भएका आठ जनासहित कम्तीमा दुई दर्जन डीआईजीपीहरूको सरूवा हुने प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।


आठ डीआइजीपीको बढुवा भएपनि उनीहरुको समयमा पदस्थापन हुन नस्कदा सिङ्गो संगठन नै आलोचित हुनु परेको छ । त्यसकारण पनि यो अवस्थालाई मध्यनजर गर्दै प्रहरीका सातै प्रदेश प्रमुखहरुको सरुवाको तयारी पनि भित्रभित्रै चलिरहेकोे बताइन्छ ।

 

अघिल्लो साता बढुवा भएका ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई पदास्थापन गर्नेक्रममा प्रदेश डीआइजीपीहरुको पनि हेरफेर गर्ने तयारी भईरहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


स्रोतकाअनुसार, कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा ०८१ जेठमा बढुवा भएका डीआइजीहरुलाई खटाउने तयारी भइरहेको बताइएको छ । उनीहरुमध्ये कृष्णहरि पोखरेल हाल बाग्मती प्रदेशमा रहेका छन् । अन्य तीन जना भने काठमाडौंमै रहेका छन् ।

 

प्रहरी प्रवक्ता रहेका डीआईजी दानबहादुर कार्कीले आफ्नै गृह लुम्बिनी प्रदेश सरुवाका लागि माग गरेको बताइन्छ । भावी आईजीपीका दावेदारहरू प्रायः पहिलो पोष्टिङमा कोशी प्रदेश जान रुचाउने भएपनि कार्की, मनोज केसी र राजन अधिकारीले भने सो प्रदेशमा जानको लागि खासै रूची नदेखाएको स्रोतले दावी गरेको छ ।


यद्यपि, विशेष व्यूरोमा रहेका राजन अधिकारीलाई कोशी प्रदेश पठाउने तयारी प्रधान कार्यालयले गरेको बुझिएको छ । अधिकारी राष्ट्रिय अनुसन्धान विभागबाट २०५४ पुसमा नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए । सो व्याजबाट उनी पहिलो लटमै डीआईजी बढुवा हुन सफल भएका थिए । कोशी प्रदेश प्रमुखको नेतृत्वमा यतिखेर डीआईजी चन्द्रकुवेर खापुङ रहेका छन् ।

 

उनी हेडक्वार्टर आउन चाहेका स्रोत बताउँछ । मधेस प्रदेशमा भने भरखरै बढुवा भएका भोला बहादुर राउत र ध्रुवराज राउतमध्ये एकलाई पदस्थापना गर्ने तयारी भइरहेको स्रोत बताउँछ । नयाँ पाँच जना डीआईजीहरूलाई बाहिर पठाएर प्रदेशमा कार्यरत डीआईजीहरू केन्द्र, विभाग, महाशाखा, निर्देशनालय र व्युरोमा भित्र्याउने योजना रहेको स्रोतको भनाई रहेको छ ।


गण्डकीमा रहेका डीआईजी बुद्धि गुरुङ एआईजीमा बढुवा भएपछि काठमाडौं आइसकेका छन् । त्यसकारण सो प्रदेश यतिखेर डीआईजीविहीन हुन पुगेको छ । लुम्बिनीमा कुँवेर कडायत रहेतापनि उनी २०८१ पुष महिनाभित्र एआईजी बढुवाको लाइनमा रहेका छन् । सिनियर भएरपनि यसअघिका एआईजी बढुवामा उनी पछि पर्दै आएको बताइन्छ ।

 

गण्डकी प्रदेशको डीआईजीमा राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा गएका सिद्धिविक्रम शाही र एकेडमीका डीआईजी मनोज केसी मध्ये एकलाई खटाउने तयारी भइरहेको बताइन्छ । केसी सहकारी अपचलन र ठगी अभियोग लागेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निकट रहेको स्रोतले दावी गरेको छ ।


कर्णालीमा भने डीआईजीपी सुशीलसिंह राठौरलाई खटाउने संभावना बढी रहेको बताइन्छ । प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखामा रहेका केदार ढकालको बढुवा भएसँगै उक्त शाखामा सरूवाका हुनका लागि केही डीआइजीपीहरुले चलेखल बढाएको बुझिएको छ ।


प्रबन्ध शाखाले संगठनका लागि आवश्यक सामग्री खरिद गर्ने भएकोले निकै आकर्षक मानिन्छन् । सुदूरपश्चिम प्रदेशबाट रविन्द्र केसीलाई सरुवा गरेर हालै दिल्ली दूतावासको सुरक्षा सहचारीबाट फर्किएका डीआईजीमा उमाशंकर चतुर्वेदीलाई पदास्थापन गर्ने तयारी भइरहेको स्रोतको दावी छ ।

 

उनी एसपी हुँदा कञ्चनपुर बसिसकेका हुन् । यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दरवन्दी थप नभएको कारण एसएसपीबाट नै काम चलाउने संभावना रहेको बताइएको छ ।


०८१ मंसिर २१ गते एआईजी केदार ढकाल उमेरहदका कारण अवकाशमा गइसकेका छन् । यही मंसिर २७ गते बिहीवार एआईजी भीम प्रसाद ढकाल पनि उमेरहदका कारण अनिवार्य अवकाशमा घर जाने  छन् । उनीहरुको स्थानमा पनि बढुवा लागि तयारी अगाडि बढाइएको बुझिएको छ । यी दुई स्थानमा डीआईजीहरु दुर्गा सिंह चन्द, भरत बहादुर बोहोरा र चन्द्र बहादुर कुवेर मध्येबाट बढुवा गर्ने तयारी भैरहेको छ ।

 

आगामी २०८१ पुस १४ गते काठमाडौं उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्य पनि अवकासमा जाँदैछिन् । उनको स्थानमा  डीआइजी कुवेरलाई एआईजीमा बढुवा गर्ने तयारी भैरहेको स्रोत बताउँछ । यसपटक आईजीपी  कुँवरका व्याचीहरु तीन डीआईजीबाहेक सबै एआईजी हुने संभावना रहेको स्रोतले बताएको छ ।

(साँघु साप्ताहिक, २०८१ मंसिर २४) 
 

प्रतिकृया दिनुहोस