• बिहीबार-पौष-११-२०८१

साढे ३ अर्बको ठेक्का प्रकरण : सिक्टाका प्रमुख दुई महिनामै किन फेरिए ?

 

काठमाडौं । सिक्टा सिंचाई आयोजनाको प्रमुख २ महिनामै परिवर्तन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले २ महिनाअघि मात्र सहसचिव( सुई) गोपाल शर्मालाई सिक्टाको आयोजना प्रमुख बनाएर पठाएका थिए । सिक्टास्थित आयोजना निर्माणका लागि बिनियोजित साढे ३ अर्ब रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अगाडि बढाउन लागेकै बेला प्रमुख शर्मा सरुवा भएका छन् । सरुवामा उनीमात्र होइन, आयोजनाका २ जना डीई सन्देश पौडेल र नापित पनि परेका छन् । केही बर्षअघि आयोजनाको टेण्डर पाएको पप्पु कन्ष्ट्रक्सनको ठेक्कासम्बन्धी विवाद अदालतमा पुगेको थियो । उक्त मुद्दा सर्वोच्च अदालतले फैसला गरेपछि निर्माण प्रक्रिया अगाडि बढाउन बाटो खुलेको हो । 


  साउदी फन्डको सहयोग रहेको सिक्टा आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन २ बर्षदेखि नै आयोजनाका कर्मचारीहरुले तयारी गरेका थिए । आयोजना प्रमुखले अन्तिम रुप दिनै लाग्दा सरुवा हुनुलाई सिंचाई मन्त्री भन्दा पनि मन्त्रालयकी सचिव सरिता दवाडी र महानिर्देशक संजीव बरालको ठूलो स्वार्थ रहेको बताइन्छ । 


स्रोतका अनुसार, मन्त्री खड्का आफैंले पठाएका आयोजना प्रमुख शर्मामार्फत् काम गराउन चाहिरहेका थिए । तर, सचिव दवाडी र सिंचाई विभागका महानिर्देशक बराल साढे ३ अर्बको बजेट एउटै कम्पनीलाई नदिनका लागि बजेट टुक्र्याएर आफ्नानिकट कन्ष्ट्रक्सन कम्पनीलाई ठेक्का दिने पक्षमा रहेको र यसलाई शर्मा लगायतले अस्वीकार गर्दा २ महिनामै प्रमुखसहित डीईहरुको एकैपटक सरुवा भएको स्रोत बताउँछ ।

 

सरुवा भएलगत्तै आयोजनाबाट २०८१ मंसिर ५ गते मंगलबार उनीहरु रमाना लिएर काठमाडौं आइसकेका छन् । गोपाल शर्मालाई विभागमा तानिएको छ भने पौडेललाई दाङस्थित जनताको तटबन्ध कार्यालय र नापितलाई भेरी–बबई आयोजनामा पठाइएको छ । शर्माको ठाउँमा  आयोजना प्रमुखको जिम्मेवारी सिंचाई विभागका उपसचिव(डीई) राजु आचार्यलाई दिइएको छ । सुईको दरबन्दीमा पठाइएका डीई महानिर्देशक बरालनिकट हुन् । उनले सचिव दवाडी र महानिर्देशक बरालको स्वार्थ अनुसार काम गर्ने र मन्त्री खड्कालाई ठेक्काको कमिसन अग्रिम बुझाउनेगरी पठाइएको स्रोत बताउँछ । उनी सिक्टामा सरुवा भएको पत्र बुझेको तर आयोजनामा हाजिर भने भइसकेका छैनन् ।

 

ठेक्का प्रकरण टुंगिनुअघि आयोजना प्रमुख गोपाल शर्माको मेजमानी खान सचिव दवाडी र महानिर्देशक बराल आयोजना कार्यालय नेपालगंज पुगेका थिए । सिद्धार्थ होटलमा उनीहरु एक रात बसेको बिलमात्रै ६० हजार रुपैयाँ पुगेको स्रोत बताउछ । आयोजना प्रमुख गोपाल शर्माको सत्कारपछि राजधानी फर्केलगत्तै शर्मासहितको टोलीको सरुवा हुनुलाई आश्चर्यका रुपमा लिइएको छ ।  (साँघु साप्ताहिक, २०८१ मंसिर १०)

प्रतिकृया दिनुहोस