• बिहीबार-मङ्सिर-१३-२०८१

मन्त्री बन्न लज्जास्पद हर्कत र चलखेल : सांसद बजगाईंले किन मागे माफी 

 

काठमाडौं । नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य रहेका क्यासिनो सञ्चालनका राजेन्द्र बजगाई यतिखेर विवादमा तानिएका छन् । आफ्नै दल नेपाली कांग्रेसका सह–महामन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै उनको तीव्र आलोचना भइरहेको छ । रूपन्देहीस्थित भैरहवाको पाँचतारे टाइगर प्यालेस होटल रोयल टाइगर्स क्रियेसन प्रालिलाई क्यासिनो संचालनका लागि पुनः अनुमति दिँदा मन्त्री पाण्डेले चार करोड घुस लिएको आरोप सांसद बजगाईंले लगाएपछि सो विषयले निकै चर्चा पाएको छ ।


गैर–आवासीय नेपाली संघका पूर्व अध्यक्ष बुद्धिसागर सुवेदीहरूको लगानी रहेको भैरहवामा सञ्चालित पाँचतारे होटेल टाइगर्स प्यालेसमा मन्त्री पाण्डेले उक्त होटललाई घुस खाएर क्यासिनो सञ्चालन गर्ने लाइसेन्स दिएको भनेर आरोप लगाएका छन् । यो विषयविरूद्ध मन्त्री पाण्डेले सांसद बजगाईंले लगाएको आरोपप्रति पार्टीको अनुशासन समिति र संसदीय दलमा उजुरी दिएर उपचार खोजेका छन् ।


टाइगर प्यालेस होटलमा यस अघिका पर्यटन विभागका महानिर्देशक रूद्रप्रसाद पण्डित र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले क्यासिनो सञ्चालन गर्ने पुनः अनुमति दिएको र हालका मन्त्री पाण्डे र विभागका वर्तमान महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले सहजीकरण मात्र गरिदिएको स्रोतले जानकारी दिएको छ । यो तथ्यलाई तोडमोड गरेर सांसद बजगाईले मन्त्री पाण्डेमाथि चार करोड घुस खाएको आरोप लगाएपछि मन्त्री पाण्डे आक्रोसित हुँदै आएका छन् ।


दलहरुको विरोध, आयोग गंभीर 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने सांसद बजगाईंले मन्त्री पाण्डेविरुद्ध लगाएको आरोपलाई गम्भीर ढंगले लिएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राप्रपालगायतका राजनीतिक दलका नेताहरूले भने सांसद बजगाईंले सामाजिक सञ्जालमा लगाएको आरोप सामान्य नभएको र मन्त्री पाण्डेलाई भ्रष्ट भन्दै राजीनामा दिनुपर्ने मागसमेत गरिसकेका छन् । सांसद बजगाईंको खेल भने मन्त्री पाण्डेलाई हटाएर आफैं मन्त्री हुने  रहेको बताइन्छ ।


उनकै ग्राण्डडिजाइनमा यतिखेर केही सञ्चारमाध्यमबाट मन्त्रीमण्डल पुनर्गठन हुँदैछ भन्ने भ्रमपूर्ण अफवाह चलाइएको स्रोतको दाबी रहेको छ । मन्त्री पाण्डेले चार महिना पूरा हुँदा पनि कुनै विशेष कार्ययोजना र काम नगरे पनि मन्त्रालय र मातहत निकायहरुमा केही सुधार भने गर्ने अठोट चाहिं गर्दै आएका छन् । तर, प्रशासनिक र नीतिगत अनुभव नभएकाले उनले देखिने गरी कुनै सुधार भने गर्न सकेका छैनन् । मन्त्रालय, विभाग र मातहत निकायमा सुधार गर्न नीतिगत, संरचनागत र कार्यशैलीगत सुधारका प्रकृया सुरू गरेको दावी भने गर्दै आएका छन् ।


यही मेसोमा मन्त्री पाण्डेमाथि पार्टीकै सांसदले चार करोड लिएर क्यासिनो सञ्चालनको पुनः अनुमति दिएको आरोप लगाएपछि पार्टीभित्रैबाट पनि बजगाईंको चौतर्फी विरोध र आलोचना हुँदै आएको छ । मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा सुधार गर्न खोजेपनि सफलता भने हात पारिसकेको भने छैन । मौखिक रुपमा सुधार गर्ने विषय मात्र बाहिर आएका छन् । तरपनि मन्त्री पाण्डेले सुधार गर्ने हुटहुटी छोडेका भने छैनन् ।


सांसद बजगाईं पार्टी केन्द्रीय कार्यालयमा पुगेर मन्त्री पाण्डेसँग आवेशमा आएर आफू बोलेको एवं सामाजिक सञ्जालमा लेखेको भन्दै माफी मागेका छन् । महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानासमेतको छलफलमा बजगाईंले आवेशमा आएर अभिव्यक्ति दिनु गलत भएको बताएको स्रोतले बताएको छ । मन्त्री पाण्डे र सांसद बजगाईं दुवैलाई अनुशासन समितिले केन्द्रीय कार्यालय बोलाएको थियो । पार्टी केन्द्रीय कार्यालयमा नै सांसद बजगाईंले आत्म–आलोचनासहितको स्पष्टीकरण बुझाएको स्रोतले जनाएको छ । 


मन्त्री हुने चलखेलमा बजगाईं 
०७९ मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा गोरखा जिल्लाको प्रतिनिधिसभाको क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चाहना गरेका थिए । तर, क्यासिनो सञ्चालक बजगाईले  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई क्षेत्र नम्वर २ बाट उम्मेदवार बन्दा केही निर्वाचन खर्चसमेत बेहोर्नेगरी उम्मेदवार बनाउन सफल भएको स्रोतको भनाई रहेको छ । साथै, आफूले पनि पार्टी सभापति शेरबहादुर देउवा समूहबाट टिकट लिएर चुनावमा जित हासिल गरेका थिए ।


अहिले उनी मन्त्री पाण्डेलाई बद्नाम गरेर हटाउन सके देउवा समूहबाट सो मन्त्रालयको मन्त्री आफू हुने उद्देश्यले विरोधमा लागेको स्रोतको दावी छ । कांग्रेसका सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेले ०८१ कार्तिक २९ गते कांग्रेस सांसद राजेन्द्र बजगाईँले आफूविरुद्ध श्रृंखलावद्ध कु–प्रचार गरेको भन्दै पार्टीको अनुशासन समिति र २०८१ कार्तिक ३० गते पार्टीको संसदीय दलमा उजुरी दिएका छन् । उजुरीमा कांग्रेसका महासमिति सदस्य, गोरखा १ बाट संघीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै श्रृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कु–प्रचार गर्दै आएकाले कारवाहीको माग गरेका छन् ।


‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको मन्त्री पाण्डेले उजुरीमा बताएका छन् । लोकतन्त्र र विधिको शासनमा यस्ता अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाएर इमान र निष्ठाको उपहास हुनेछ,’ उनले दर्ता गरेको उजुरीमा भनिएको छ ।


 मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानूनी बाटो अपनाउने प्रतिक्रिया दिएका थिए । पार्टीमा दिएको उजुरीमा मन्त्री पाण्डेले आरोपलाई चुनौती दिँदै सत्य तथ्यको उजागर गराई यस खालका अमर्यादित, अवाञ्छित, अराजक तथा गैर–कानूनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाहीका लागिसमेत माग गरेका छन् ।


बक्यौता भुक्तानीमा आलटाल
सांसद बजगाईले काठमाडौं लाजिम्पाटस्थित सांग्रिला होटलमा क्यासिनो संचालन गर्दै आएका थिए । उनको क्यासिनोले विगत तीन वर्षदेखि नवीकरण दस्तुर, रोयल्टी र जरिवाना रकम डेढ अर्ब भन्दा बढी बक्यौता सरकारलाई भुक्तानी नगरेको पर्यटन विभाग स्रोत बताउछ । उनीबाहेक अन्य व्यवसायीहरुले पनि सरकारलाई कोरोना महामारी, विश्व आर्थिक मन्दी आदि कारणले क्यासिनो बन्द भएको अवधिको नवीकरण, रोयल्टी र जरिवाना छुटको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेका छन् ।


उनले आफूमात्र नतिर्ने होइन, अरू क्यासिनोलाई पनि रोयल्टी, नवीकरण  र जरिवाना शुल्क नतिर्न र छुट गराउन उकास्दै आएको स्रोतले दावी गरेको छ । त्यसकारण अन्य केही क्यासिनोहरूले पनि सरकालाई बक्यौता रकम भुक्तानी गरेका छैनन् ।


पर्यटन विभागले पटक–पटक बक्यौता रकम भुक्तानीका लागि पत्राचार गर्दै आएको छ । तरपनि बजगार्इंसहितका आधा दर्जन क्यासिनो सञ्चालकहरूले राजश्व भुक्तानी गर्न आनाकानी गर्दै आएका छन् । यसअघि देखि नै विभागका महानिर्देशक, सचिव र मन्त्री भएर आउनेहरूलाई मोटो रकम बुझाएर बक्यौता रकम भुक्तानी गर्न भने आनाकानी गर्दै आएको स्रोतले दाबी गरेको छ ।


होटल कब्जा गर्ने योजना
गैर आवासीय नेपालीहरूको लगानी रहेको भैरहवामा सञ्चालित पाँचतारे होटेल टाइगर प्यालेस बन्द गराउन बजगाईसहितका केहीले चलखेल गरेका थिए । विदेशी लगानीमा सञ्चालित पाँचतारे होटेल मुलुकभित्रकै केही हर्ताकर्ताहरुको कारण चङ्गुलमा परेर करोडौँको घाटा व्यहोरेर फर्किएको स्रोत बताउँछ । विदेशी लगानीकर्ता फर्किएर कम्पनी बन्द भएपछि अन्तर्राष्ट्रिय जगतमा हुने नेपालको बेइज्जत रोक्न गैरआवासीय नेपालीहरूले चुनौती सहेर लगानी गरेको टाइगर प्यालेसका अध्यक्ष बुद्धिसागर सुवेदीले त्यसबखत जानकारी दिएका थिए ।


विभिन्न चुनौतीका बाबजूद होटेल र क्यासिनो नेपालको कानून अनुसार खरिद गरी नियमानुसार सञ्चालनमा ल्याएको ३ महिना नबित्दै मुलुक भित्रकै पहुँचवाला केही शक्ति चलखेलमा लागेका थिए । माफियाको चलखेलकै कारण करिब ४ अर्बभन्दा बढी लगानी गरेर खरिद गरेको टाइगर प्यालेस रिसोर्टमा सञ्चालित क्यासिनो २०८० साउन १ गतेदेखि बन्द हुन पुगेको थियो । क्यासिनो बन्द हुँदा करिब चारसय जनाको रोजगारीसमेत गुमेको बताइन्छ । करोडौँको सरकारी राजश्व पनि गुमेको बताइन्छ । सांसद बजगाईसहितको क्यासिनोका डनहरूले विभिन्न समाचारमाध्यलाई प्रयोग गरेको स्रोत बताउँछ ।


मन्त्रालय, विभागका कर्मचारी तथा उच्च अधिकारी हरूलाई आर्थिक चलखेल गरेको आरोप लाग्दै आएको छ । सांसद बजगाईंले पयर्टन मन्त्री, विभागका कर्मचारीहरुविरुद्ध निराधार कपोकल्पित हल्ला फिजाएर मानमर्दन गरिरहेको भन्दै जनस्तरबाट विरोध भइरहेको छ । क्यासिनो संचालक सांसद बजगाईले आफैँले लेख्न लगाएका प्रायोजित सामग्रीलार्ई मन्त्रालयका अधिकारीलाई पठाउँदै धम्की दिने गरेको स्रोत बताउँछ । जसका कारण नियमानुसार पाउनुपर्ने क्यासिनोको लाइसेन्स रोकिएको थियो ।


के हो विवाद ?
टाइगर प्यालेसले रोयल टाइगर रिक्रियसन प्रा.लि.लाई लिजमा क्यासिनो सञ्चालन गर्न दिनेगरी २०८० बैशाखमै सहमति प्रदान गरेको थियो । क्यासिनो अनुमति आवेदक कम्पनी रोयल टाइगर रिक्रियसन प्रा.लि.ले नियमानुसार प्रक्रिया पु¥याई तोकिएको समयमा आवेदन गरेको थियो । गत असार मसान्तसम्म एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.को नाममा क्यासिनोको लाइसेन्स रहेको थियो । जसमा सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रा.लि.को ९० प्रतिशत र टाइगर काठमाडौँ इन्भेस्टमेन्ट प्रा.लि.को नाममा १० प्रतिशत सेयर रहेको थियो ।


एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.ले कोभिडका कारण लामो समयसम्म क्यासिनो सञ्चालन गर्न नपाउँदा सरकारलाई भुक्तानी गर्न करिब ५१ करोड राजश्व रकम भुक्तानी गरिएको छैन । यसको अलावा बजगाईको काठमाडौँमा सञ्चालित सांग्रिलाको क्यासिनोको भाडा, टाइगर प्यालेसमा सञ्चालित क्यासिनोको भाडा तथा अन्य बक्यौता गरी धेरै रकम तिर्नुपर्ने भएका कारण आफैले क्यासिनो सञ्चालन गर्न नसक्ने अवस्था भएकाले सञ्चालकहरू क्यासिनो सञ्चालन नगर्ने निर्णयमा पुगेका थिए ।


एसएमएसके कम्पनी अघिल्लो आर्थिक वर्षमा १ अर्ब २० करोड घाटामा रहेको दावी गरिएको थियो । सोही घाटा पूर्ति गरी कम्पनी नाफामा लैजान कठिन भएको भन्दै सबै सेयरधनीको सहमतिमा साधारणसभाले कम्पनी बन्द गर्ने निर्णय गरेको थियो । सो साधारणसभामा सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रा.लि.को तर्फबाट सञ्चालकहरू बुद्धि सागर सुवेदी र दीपक गौतम तथा टाइगर काठमाडौँ इन्भेष्टमेण्ट प्रा.लि.को तर्फबाट सञ्चालक सदस्य सञ्चित श्रेष्ठको हस्ताक्षर गरेका थिए । साधारणसभाको सोही निर्णय बमोजिम एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.ले आर्थिक वर्ष २०८१÷८२ का लागि क्यासिनो नवीकरणको आवेदन गरेको थिएन ।


रिसोर्ट सञ्चालक टाइगर वान कम्पनीलाई समयमै आफूले क्यासिनो सञ्चालन गर्न नसक्ने जानकारी दिएको थियो । १० प्रतिशत शेयर रहेको टाइगर काठमाडौँ इन्भेस्टमेन्ट प्रा.लि.का तर्फबाट सञ्चालक सदस्य सञ्चित श्रेष्ठले सरकारलाई बुझाउनुपर्ने राजश्व र अन्य दायित्व लिनुभन्दा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.लाई बन्द गर्न अनुरोध गरेका थिए । उनकै प्रस्ताव अनुरूप एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रा.लि. बन्द गर्न सञ्चालक सदस्यहरू बुद्धिसागर सुवेदी र दीपक गौतम सहमत भएका थिए । 


  गैर आवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीको समूहले लाभ कर र क्यासिनोको बक्यौताबापतको करिब ५५ करोड नेपाल सरकारलाई बुझाएका थिए । त्यतिमात्र होइन कोभिडको समयमा क्यासिनो बन्द भएर तलब नपाएका टाइगर प्यालेसका मजदूरको समस्या समेत हल गरेका थिए । काठमाडौँमा रहेको होटेल सांग्रिला हाल सञ्चालनमा नभएका कारण त्यहाँका मजदूरको समस्या समाधान गर्न कठिन भएको सञ्चालकको भनाई छ । यद्यपि, टाइगर प्यालेसमा श्रमिक समस्या विषय भने हल भएको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १०)
 

प्रतिकृया दिनुहोस