• मंगलबार-मङ्सिर-११-२०८१

ट्रमा सेन्टरको फार्मेसीमा अनियमितता !

 

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले औषधी गरिद गर्दा अनियमितताको गन्ध आएको गुनासो स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा पुगेको छ । बीमा गरिएका बिरामीहरूलाई फार्मेसीबाट निःशुल्क रुपमा औषधीहरु वितरण गरिनुपर्नेमा लापरहाबी गरिएको बताइएको छ । सेन्टरले वार्षिक रुपमा करिव २५ करोडको औषधी, सिरिन्ज, व्याण्डिज, अप्रसेन सामग्रीलगायत सामग्री खरिद गर्दै आएको समाचार स्रोतले जानकारी दिएको छ । अस्पताल प्रशासनले यस्ता औषधिजन्य सामग्री खरिद गर्दा उत्पादक र सप्लायर्स कम्पनीहरूले २५ प्रतिशतसम्म कमिशन बुझाउने गरेको बुझिएको छ ।


कमिशनको लोभमा पर्दा उनीहरुले गुणस्तरहीन औषधि भिडाउने गरेको समाचारस्रोतले दाबी गरेको छ । औषधी खरिदमा मात्र अस्पताल प्रशासनले वार्षिक ६ करोडसम्म कमिशनको चलखेल हुने गरेको अनुमान छ । यही कारण औषधी खरिदमा व्यापक अनियमितता भएको गुनासो मन्त्रालयसम्म पुगेकोे स्रोतले बताएको छ । कार्यकारी निर्देशक डा.रूद्र मरासिनी र फार्मेसी विभाग प्रमुख रूपा रानाको मिलेमतोमा लेखाका कर्मचारी र स्टोरकिपरमाथि उक्त आरोप लागेको छ ।


अस्पतालमा राम्रै कमाई हुने भएकोले ठूलै थैली बुझाएर सरूवा हुन कर्मचारीहरूले जोडबल र चलखेल गर्ने गरेका छन । अचम्मको कुरा त के छ भने खरिद गरिएका औषधी, सर्जिकलका सामग्रीहरू सिधै स्टोरमा दाखिला हुनपर्नेमा त्यसो गरिएको छैन । स्टोरमा दाखिला गरेपछि मात्र फार्मेसी विभागले माग गरेअनुसार लैजानुपर्नेमा खरिद गरेर स्टोर दाखिल नगरी सिधैं सप्लायर्स कम्पनीमार्फत सिधै फार्मेसीमा लगिने गरेको समाचारस्रोतले जानकारी दिएको छ । 


खरिद गरिएका कतिपय औषधी र अन्य सामग्रीमाग बमोजिम नभएर कम परिमाणमा कम्पनीहरुले अस्पतालका कर्मचारीसँग मिलेमतोमा लैजाने गरेका छन् । तर, बिल भने बढी सामानको बनाएर अनियमितता गर्दै आएको बुझिएको छ । अस्पताल प्रशासनले पनि कमिशनको लोभमा परेर आँखा चिम्लिएर भुक्तानी गर्दै सरकारी रकमको चरम दूरुपयोग गरेको बताइएको छ । त्यसकारण खरिद गरिएको औषधीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाउने हो भने उनीहरुले गर्दै आएको अनियमिता छर्लङ्ग हुने केही इमान्दार कर्मचारीको माग रहेको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १०)
 

प्रतिकृया दिनुहोस