• बुधबार-मङ्सिर-५-२०८१

सुरक्षा निकायमा बढ्दो बेतिथि : प्रहरीमा दुई दिने एआईजीपी बढुवा प्रचलन किन ?

 

काठमाडौं । नेपाल प्रहरीमा एक–दुई दिनका लागि विशिष्ट श्रेणीको एआईजीमा बढुवा गरी पेन्सन सुविधा दिलाउने प्रचलन बढ्दा बेतिथि बढेको गुनासाहरु सुनिन्छ । २०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षकको फुली लगाएका थिए । लामाले अवकाश हुनु एक दिन अघि मात्रै एआइजीमा बढुवा हुने अवसर प्राप्त गरेका थिए । २०७९ साल वैशाख २३ गते लामालाई गृह मन्त्रालयले बढुवा समितिमार्फत एआईजी सिफारिस गरेको थियो ।


त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षेत्री रहेका थिए । लामालाई एक दिनको लागि मात्रै एआईजी बनाएको भन्दै तत्कालीन आईजीपी थापाको निकै आलोचनासमेत हुन पुगेको बताइन्छ । उनीपछि २०८१ असार १० गते छोटो समयका लागि डीआइजी पोषराज पोखरेल एआईजी सिफारिस भएका थिए । त्यतिबेला उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने रहेका थिए ।


तर, पोखरेलले फुली लगाउन भने पाएनन् । सत्ता गठबन्धन परिवर्तन भएर लामिछाने गृहमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठित नयाँ सरकारले बढुवा सिफारिस भएका पोखरेललाई फुली नलगाई डीआईजीबाट अवकास दिएर घर पठाएको थियो । त्यसपछि वर्तमान गृहमन्त्री रमेश लेखकले एआईजी सिफारिसलाई बेवास्ता गरेपछि पोखरेलले आफूलाई अन्याय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।


विवाद अझै सर्वोच्चमा
उनको सो मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । पोखरेलको बढुवा सदर भएको भए उनले दुई दिनका लागि मात्र एआईजी हुने अवसर प्राप्त गर्ने थिए । नेपाल प्रहरीको विशिष्ट श्रेणीको पद एआईजीमा छोटो अवधिका लागि बढुवा सिफारिसमा पर्ने लामा र पोखरेल मात्र उदाहरण भने होइनन् । यतिखेर प्रहरी नायब महानिरीक्षक किरण राणा पनि थपिएकी छिन ।


उनी ०८१ कार्तिक १६ गते फुली लगाएकै दिन एआईजीबाट अवकास हुन पुगिन । उनलाई पनि एआईजीको पेन्सन खुवाउन मात्र बढुवा गरिएको भन्दै आलोचना हुँदै आएको छ । डीआईजीबाट एआईजीमा बढुवा हुँदा चार हजार बढी पेन्सन सुविधा पाइने जानकारस्रोत बताउँछ । २०८१ कात्तिक ५ गते राणालाई एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो ।  मन्त्रिपरिषदबाट बढुवा सिफारिस स्वीकृत गरेकै दिन रातारात कार्तिक १६ गते उनले एआईजीको फुली लगाएपनि स्वत अवकासमा गएकी थिइन ।


राणा अवकाशमा गएको भोलिपल्ट २०८१ कात्तिक १७ गते एआईजी रामदत्त जोशीले अवकाश पाएका थिए । योसँगै नेपाल प्रहरीमा दुई एआइजी पद रिक्त भएको छ । यी रिक्त पदमा प्रहरी नायब महानिरीक्षक केदार ढकाल र बुद्धि गुरुङ सिफारिस भएका छन् । डीआईजी गुरुङ वर्तमान प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसँगै आगामी २०८१ चैत ४ गते ३० वर्षे सेवा अवधिका कारण पुगेर अवकाशमा जाने स्रोतले बताएको छ । साथै, डीआइजी भीम प्रसाद ढकालद्वय र किरण बज्राचार्य पनि अवकाशमा जाँदैछन् ।


अनुभवीहरुको बढुवामा चासो
माथि उल्लेखिको अवकाशसँगै डीआईजीहरु दुर्गा सिंह, कुबेर कडायत र भरत बोहराको एआईजीमा बढुवा हुने सम्भावना  रहेको बताइन्छ । बोहरा ०८१ पुस दोस्रो साता अवकाशमा जाँदैछन् । त्यसपछि सिंह र कुँवर भने करिब तीन महिना मात्र एआईजी पदमा बहाल रहने स्रोतले जनाएको छ  । प्रहरी संगठनमा ३० वर्ष सेवा गरेका व्यक्ति अवकाश भएसँगै विशिष्ट श्रेणीमा बढुवा हुन खोज्नुलाई नाजायज मान्न सकिदैन ।


स्रोत भन्छ ‘३० वर्ष सुरक्षा निकायमा सेवा गरेको र वरिष्ठ अधिकृतले विशिष्ट श्रेणीमा दावी गर्नु अस्वाभाविक होइन ।’ संगठनले डीआइजी ढकाल र गुरुङलाई एआईजीमा बढुवा सिफारिस गरेको छ । बढुवा भएपछि ढकाल भने २०८१ मंसिर २२ गते अनिवार्य अवकाशमा जाने छन् । गुरूङ भने आगामी चैत्र ४ गतेसम्म पदमा बहाल रहने गृह स्रोतले बताएको छ । डीआईजीहरु ढकाल, गुरुङ, सिंह, कडायत र बोहरा उनीहरु एउटै ब्याची पनि हुन् । उनीहरू ०५२ सालमा सुरु भएको नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्ध झेलेका अनुभवी वरिष्ठ अधिकृतमा दहरिएका हुन् ।


 जसले द्वन्द्वमा अत्यधिक प्रताडना खेप्दा पनि व्यावसायिक कुशलता र धैर्यता नगुमाएको स्रोतको भनाई रहेको छ । उनीहरू प्रहरी संगठनमा व्यावसायिक छवि बनाएका अब्बल मानिन्छन् । 

 

अहिले सिनियर डीआईजी ढकाल र गुरुङ बढुवा भएपछि भविष्यमा एआईजी बढुवा हुने क्षमता र योग्यहरू कोही नछुट्ने संभावना रहेको बताइन्छ । जसले सबैलाई ‘न्याय’ हुने गरी सरकारले निर्णय गरेको बताइन्छ । दस वर्षे सशस्त्र द्वन्द्वका बेलामा नेपाली सेना, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरी व्यवसायिक कुशलतामा नचुकेका ब्याचका सबै अटाउने संभावना बढ्दै गएको छ ।


यही कारण अब बढुवा हुने एआईजीका बारेमा महत्व र चासोका साथ हेरिएको स्रोतको भनाई रहेको छ । सरकारले क्रमगत रुपमा बढुवा गरेको खण्डमा एउटै एउटा ब्याचका प्राय डीआईजीहरू एआईजी हुँने अनुमान गरिएको छ । जसले गर्दा उनीहरूको सेवा र योगदानलाई मात्र नभएर उनीहरूका परिवार, भावी पुस्ताका प्रहरी अधिकृतहरुको लागिसमेत नजिर बस्नसक्छ । नेपाल प्रहरीमा ३० वर्ष जागिर खाएर अवकाशमा जान लागेको वरिष्ठ र अनुभवीलाई एआइजी बनाउँदा कुनै फरक नपर्ने सुरक्षाविद्हरु बताउँछन् ।


आफ्नो कार्यक्षमता, कार्यसम्पादन अनुसार एआईजी हुन पाउँछन्। तर, सरकारले समयमा बढुवा प्रक्रिया अगाडि बढाएर अनुभवी र लामो समय सेवा गरेकाहरुलाई न्याय दिनुपर्ने माग पनि उनीहरुले गरेका छन । निजामती संगठनमा एक दिन मात्रैका लागि भएपनि सहसचिवबाट सचिव बढुवा गरिएको धेरै उदाहरण रहेका छन । कतिपय सन्दर्भमा सरकारले विशेष पद नै सिर्जना गरेर पनि सचिव बढुवा गरेको बताइन्छ ।

प्रतिकृया दिनुहोस