• बुधबार-मङ्सिर-५-२०८१

काठमाडौंमा बाह्य गुप्तचरहरुको सलबलाहट : भारतको चासो : ओलीले चीनमा के गर्लान् ?

 

काठमाडौं । प्रधानमन्त्री केपी  शर्मा ओलीको चीन भ्रमण आन्तरिक राजनीतिका लागि भन्दा धेरै भूराजनीतिक सन्देशका रुपमा चर्चामा रहेको छ । प्रधानमन्त्री ओलीले पहिलो राजकीय भ्रमण चीनबाट सुरु गर्दैछन् । यो क्रमभंगताबाट ओलीले भूराजनीतिक जटिलता सामना गर्नुपर्ने विश्लेषण हुन थालेको छ । पहिलो त चीन भ्रमण रोक्ने त्यो संभव नभएर ठूला निर्णय वा सहमति गर्न नदिने त्यति पनि गर्न नसके गठबन्धन भत्काउनेलगायतका अनेकन चर्चा र विश्लेषण काठमाडांंैमा भइरहेको छ । 


त्यही विश्लेषणलाई बल पुग्नेगरी विपक्षी दलका नेता प्रचण्डले भारतीय सञ्चारमाध्याममा प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको आरोप लगाए । देशको प्रधानमन्त्रीको विदेश भ्रमणलाई विवादित बनाउने प्रचण्डको अभिव्यक्ति आफैमा भ्रत्र्सना योग्य त थियो नै भारतीयहरुलाई खुसी पार्न प्रचण्डको अभिव्यक्तिले राष्ट्रियतामाथि पनि प्रश्न उठाएको थियो । 


प्रचण्डको त्यही अभिव्यक्तिले भारतीयहरु ओलीको चीन भ्रमणलाई कसरी हेरिरहेका छन् ? भन्ने प्रष्ट हुन्छ । भारतीयहरु अहिले हरेक मन्त्रालयहरुमा गुपचुप रुपमा आफ्नो मान्छे पठाएर ओलीले चीनसँग के के सम्झौता गर्न खोज्दैछन् भनेर सूचना संकलन पनि गरिरहेको कूटनीतिक क्षेत्रमा चर्चा छ  । नजानिँदो तरिकाले भारतले ओलीका एजेण्डा सिंहदरबारमा खोजिरहेको छ तर मन्त्रालयमा खास धेरै तयारी भने भइरहेको छैन । प्रधानमन्त्री कार्यालयमा स्वयम् ओलीको टीमले त्यसलाई अध्ययन गरिरहेको छ । त्यसले गर्दा ओलीले चीन भ्रमणमा के गर्छन् ? वा चीनले नेपाललाई कस्तो सद्भाव देखाउँछ भन्ने अहिलेसम्म अनुमान गरिएको छैन । 


यद्यपि, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाह गर्ने र बीआरआई फ्रेमवर्कमा साइन हुने संभावना भने रहेको छ । यी दुईविषयमात्र होइन, नेपालको विद्युत चीनमा निर्यात गर्ने बाटो खोल्नका लागि ट्रान्समिसनलाइनसम्बन्धी परियोजनामा पनि साइन हुने संभावना रहेको छ । यी चर्चा र अनुमानपछि नै भारतले चीनसँग सम्झौता हुनसक्न्ने संभावित एजेण्डाको खोजी गर्न थालेको हो । पोखरा विमानस्थलको ऋण मिनाहा नहोस् भन्ने भारतीय र अमेरिकी चाहना रहेको छ ।

 

साथै, बीआरआईमा रोक्ने त उनीहरुको घोषित नीति नै हो । त्यहीकारणले कांग्रेसभित्र पनि दुई धार निर्माण गराइरहेका छन् । बीआरआईको सबैभन्दा बढी विरोध प्रकाशशरण महतसहितको एउटा टीम विरोधमा रहेको छ । महत परराष्ट्रमन्त्री आरजु देउवानिकट मानिन्छन् । त्यसैले, बीआरआई फ्रेमवर्कको साइनमा आरजु राणाको धारणा के हो  ? भन्ने पनि अहिलेसम्म खुलेको छैन । त्यसैले, ओलीले चीनमा गर्ने सम्झौताको विषयमा अहिलेसम्म खुल्न सकेको छैन ।


ओलीको चीन भ्रमण भने भूराजनीतिक रुपमा निकै पेचिलो बन्ने खतरा रहेको छ । भारतीयहरुले अधिक चासो राखेको यो भ्रमणलाई चीनले पनि महत्व नै दिएको छ । चीनबाट प्रधामनन्त्रीको पहिलो विदेश भ्रमण हुँदैछ भन्ने जानकार रहेको चीन पनि नेपालको सन्दर्भमा भारतीय र अमेरिकी प्रभाव कम गर्न चाहन्छ । अनि, काठमाडांैमा अमेरिकी लविमा बनेको सरकार हो भन्ने जुन खाले सन्देश प्रचण्डसहितको एउटा पंक्तिले प्रचार गरिरहेको छ, त्यसआधारमा पनि चीनको रेस्पोन्स अर्थपूर्ण हुने अनुमान गरिन्छ । चीनसँग तुलनात्मक रुपमा कठोर मानिने डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाको नेपाल नीतिमा कति फरक पर्छ ? भन्ने विश्लेषण पनि भइरहेको छ । सोहीकारणले अमेरिकी नीतिले ओली सरकारमाथि पर्ने भूराजनीतिक दबाबबारे विश्लेषण हुन थालेको हो । 


भारत भने जसरी पनि ओली सरकारको विकल्पमा जान खोजेको देखिन्छ । काठमाडौंमा त्यसैअनुसार गुप्तचरहरु परिचालन भइरहेको चर्चा छ । चीनबाट फर्केपछि भारत भ्रमणको तयारी गर्ने ओलीले बताइरहेका छन् । भारतको महाराष्ट्रको चुनावपछि भ्रमण हुनसक्ने चर्चा पनि रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल भ्रमणलाई त्यही चुनाव देखाएर टारेका थिए भने ओलीलाई पनि त्यसरी टार्न भनिएको छ । त्यसैले, अबको भारतको नेपाल नीतिमा मूलतः ओली सरकार ढाल्नेमै केन्द्रित हुने अनुमान भइरहेको छ । त्यसको विकल्पमा कांग्रेसलाई मनाउन ठुलो प्रयास हुने संभावना रहेको छ ।


कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा भारतीय दबाबलाई झेलेर जानुपर्ने लाइनमा रहेका कारण तत्काल ओलीको साथ नछोड्ने संभावना रहेको छ । यद्यपि, देउवा र माधव नेपालमध्ये एकलाई प्रधानमन्त्री बनाउने वातावरणसहित काठमाडौंको राजनीति चलखेल हुने संभावना रहेको पनि विश्लेषण भइरहेको छ । त्यसैले, ओलाीको चीन भ्रमण देशका लागि भन्दा भारत र अमेरिकाको चासोको विषय बनेको विश्लेषण भइरहेको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर ३)
 

प्रतिकृया दिनुहोस