• बुधबार-मङ्सिर-५-२०८१

शहरीमा नयाँ सचिवको खोजी 

 

काठमाडौं । आगामी २०८१ मंसिर १३ गते बुधवार हाल शहरी विकास मन्त्रालयमा कार्यरत सचिव मणिराम गेलाल सचिवको पाँचवर्षे कार्यकाल पूरा गर्दै अवकाशमा जाने भएका छन् । उनको अनिवार्य अवकासको मिति नजिकिदैं गर्दा उप–प्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयको सचिवमा कसलाई भित्र्याउने भन्ने विषयमा नजर घुमाउन थालेको बताइएको छ ।

 

शहरीमा भित्रिनको लागि हाल शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको प्रविधितर्फका सचिव विश्वबावु पुडासैनी, प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख एवम् सचिव सरजु कुमार बैद्य आकांक्षी रहेको स्रोतले जानकारी दिएको छ । हाल जल तथा उर्जा आयोग सचिवालयमा कार्यरत सचिव गोपाल प्रसाद सिग्देल, नेपाल ट्रष्टको कार्यालयका रामआधार शाहले पनि मन्त्रालयमा भित्रिनको लागि लबिङ गरिरहेको बुझिएको छ । उनीहरु मध्ये सचिव पुडासैनीले भने निकै नै जोडबल लगाएको स्रोतले बताएको छ । हाल खानेपानी मन्त्रालयमा कार्यरत सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई भित्र्याउनका लागि मन्त्री सिंहलाई पार्टीका केही नेता तथा कार्यकर्ताहरुले सुझाव दिंदै आएको बताइन्छ । 


यसअघि सचिव बैद्यले मन्त्रालयमा काम गरिसकेकी हुन् । उनको कार्यशैली सुस्त र कार्य सम्पादन पनि अति कमजोर रहेको बताइन्छ । यही कारण नेपाली काँग्रेसकै तत्कालीन शहरी विकास मन्त्री सीता गुरुङले उनलाई मन्त्रालयमा भित्र्याएर पनि स्वयम् गुरुङले नै सचिव बैद्यलाई अन्यत्र सरुवा गरेकी थिइन । त्यसकारण पनि सचिव बैद्यको दोश्रो पटक मन्त्रालयमा इनिङ भने त्यति सहज नरहेको मन्त्रीसिंह निकट स्रोतले जानकारी दिएको छ । सचिव सिग्देल भने नेपाली काँग्रेस निकट हुनुका साथै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा निकट मानिन्छन् ।


उनलाई वर्तमान उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उर्जातर्फको सचिवबाट हटाएर आयोगमा लखेटेका थिए । त्यसपछि भने आयोगमा कार्यरत सचिव सुरेश आर्चायलाई उर्जातर्फ जिम्मेवारीमा भित्र्याएका थिए । मन्त्री खड्काले सचिव सिग्देललाई हटाएकोमा भने काँग्रेसका केही मन्त्री तथा सांसदहरुले असन्तुष्टिसमेत जाहेर गरेका थिए । त्यसकारण पनि सचिव सिग्देललाई मन्त्रालयको सचिवमा भित्र्याउनको लागि मन्त्री सिंहमाथि पार्टीभित्रैबाट पनि दवाव परेकोले उनको संभावना निकै बलियो रहेको बताइन्छ ।


उता, खानेपानी मन्त्री प्रदीप यादवको कार्यशैलीप्रति सचिव बज्राचार्य निकै असन्तुष्ट हुँदै आएको स्रोत बताउछ । उनी दायाँवायाँ नगर्ने स्वभावकी सचिव भएकोले पनि मन्त्री यादवसँग उनको कामगर्ने शैलीमा मेल खान सकेको छैन । त्यही भएर काठमाडौंकै रैथाने भएकोले पनि उनलाई शहरी मन्त्रालयमा भित्र्याउन पनि मन्त्री सिंहमाथि दावाव पर्न थालेको बताइन्छ । सचिव रामआधार शाहले चाहना व्यक्त गरेपनि उनी सहसचिव हँुदादेखि नै विभिन्न काण्डमा विवादमा पर्दै आएका छन् । यसकारण पनि उनको मन्त्रालयमा प्रवेशको संभावना निकै कम रहेको स्रोत बताउँछ ।


उनी खानेपानी सचिव हुँदा पनि तत्कालीन मन्त्री महिन्द्र राय यादवसँग रामआधार साहको राम्रो सम्वन्ध थिएन । मन्त्रीलाई असहयोग गरेका कारण उनलाई तत्कालीन सरकारले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको थियो । त्यसकारण पनि माथि सचिव साहले चाहना गरेपनि सिग्देल, पुडासैनी र बज्राचार्य मध्ये एकले बाजी मार्ने संभावना प्रवल रहेको बताइएको छ । बज्राचार्य राम्रै मन्त्रालयमा रहेकोले पनि पुडासैनी वा सिग्देलमध्ये एक जनालाई मन्त्री सिंहले भित्र्याउन सक्ने अडकलबाजी हुँदै आएको छ । हाल मन्त्रालयमा कार्यरत सचिव गेलाल भने यो अवधिमा कुनै पनि विवादमा नपरीकन घर जाने भाग्यमानी सचिवमा दरिएका छन् ।


भक्तपुर चाँगुनारायण झौखेल निवासी सचिव गेलालले शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकको नेतृत्वमा रहेर पनि काम गरेका थिए । सचिव बढुवा भएपनि शहरी मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्राविधिक सचिवका रूपमा पनि काम गरेका थिए । उनको अवकासपछि रिक्त हुने प्राविधिक सचिवमा चाहिं खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दिनानाथ मिश्र बढुवाको लाइनमा रहेका छन् । (साँघु साप्ताहिक, २०८१ मंसिर ३)
 

प्रतिकृया दिनुहोस