• शुक्रबार-पौष-१९-२०८१

विप्लव माओवादी केन्द्रको जीएस बन्दै ?  

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक साताअघि चितवनमा पुगेर पूर्वमाओवादीहरु एक हुनुपर्ने तर्क गरेका थिए । माओवादीका नेताहरुसहित पूर्वमाओवादी नेत्रविक्रम चन्दसहितका विभिन्न नेताहरु उपस्थित भएको कार्यक्रममा प्रचण्डको उक्त भनाइ आएको थियो । प्रचण्डको भनाइमा सही थाप्दै उपमहासचिव जनार्दन शर्माले पनि सबैले आआफ्नो अहम् छोेडेर एकतामा आउनुपर्ने तर्क गरेका थिए । चितवनमा उक्त धारणा आउनुअघि शर्माले विप्लव र घनश्याम भुसाललाई भेटेका थिए । पूर्वमाओवादीहरु एक बनाउने उक्त प्रयासका लागि शर्मा सक्रिय भएकै कारण विप्लवका लागि भने सजिलो बाटो आउन लागेको माओवादीभित्र चर्चा हुन थालेको हो । माओवादी नेताहरुका अनुसार पछिल्ला दिनमा शर्मासहितको ठूलो पंक्ति एकताको पक्षमा उभिएका छन् । 


 विगतमा प्रयासमा शर्मा र वर्षमान पुनको चर्को विरोध र घेराबन्दीका कारण विप्लवको बाटोमा अवरोध भएको थियो । नत्र एक बर्षअघि नै विप्लव माओवादी केन्द्रको महासचिव हुने अवस्था थियो । शर्मा र पुनकै कारण रोकिएको बताइन्छ । अहिले भने उनीहरु विप्लवलाई भित्र्याउन तयार भएको पनि बताइन्छ । त्यसैले, माओवादी केन्द्रका नेताहरुका अनुसार २०८१ मंसिरको समयमा विप्लवलाई माओवादी केन्द्रमा भित्र्याउने गरी छलफल भइरहेको छ । त्यहीकारण शर्माले दसैँलगत्तै विप्लवलाई भेट गरेको पनि बताइएको छ । 


 मंसिरमात्र विप्लवलाई भित्र्याउने रणनीति भइरहेका बेलामा अन्य पूर्वमाओवादीहरु मोहन बैद्य, धर्मेन्द्र बास्तोला र आहुतिलाई पनि भित्र्याउन सकिने चर्चा भएको छ  । आहुति र बैद्यले सहजै स्वीकार गर्ने संभावना भने देखिएको छैन । हुन त, शर्माले बाबुराम भट्टराईलाई पनि भित्र्याउनुपर्ने तर्क गरेका थिए । शर्माको उक्त धारणापछि बाबुरामले भने सामाजिक सञ्जाल एक्समा लामो प्रतिक्रिया दिएर माओवादीको चर्को आलोचना गरेका छन् । बाबुरामले माओवादीका साथै अध्यक्ष प्रचण्डको पनि विरोध गरेका छन् । पूर्वमाओवादी एक हुने कुराको प्रयासमै बाबुरामले प्रश्न उठाएका छन् । र, त्यसको औचित्य नभएको पनि तर्क गरेका छन् ।  


त्यसैले, माओवादीको पूर्वमाओवादी एक हुने कुरामा बाबुराम भट्टराई भने सहमत नहुने देखिएको छ । तर, सबैभन्दा पहिला विप्लव भने उक्त अभियानमा जोडिने संभावना रहेको बताइएको छ । शर्मा र विप्लव चाहिँ बाबुरामलाई पनि ल्याउनुपर्ने लाइनमा रहेको पनि माओवादीभित्र चर्चा भइरहेको छ । 


 यता, माओवादीभित्र रवि लामिछानेको विषयमा मौन बस्नुपर्ने तर्क पनि उठेको छ । लामिछाने सहकारी ठगीमा मुछिएर पक्राउ परेका कारण उनको बचाउमा बोल्न नहुने तर्क माओवादीभित्र उठेको हो । केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेर नै उक्त धारणा राखेका छन्  । लामिछानेका पक्षमा उभिँदा माओवादी पनि ठगीको पक्षमा उभिएको सन्देश जाने भएकोले त्यसो गर्न नहुने उनको तर्क रहेको छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक १२)
 

प्रतिकृया दिनुहोस