• शुक्रबार-पौष-१९-२०८१

सूचना आयोगको पदाधिकारीका लागि दौडधूप : पटक–पटक अवसर पाएका पनि नियुक्ति हुने दाउमा

 

काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदाधिकारीका लागि आवेदन माग गरिएपछि नियुक्ति खानेहरुको दौडधूप शुुरु भएको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सूचना आयु्क्तद्वयमा कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल सकिएपछि रिक्त हुने पदाधिकारीमा नियुक्ति हुन एमाले र कांग्रेसनिकट पत्रकारहरुको दौडधूप शुुरु भएको हो । 


सूचना आयोगको प्रमुख आयुक्तका लागि एमालेनिकट पत्रकारहरु महेन्द्र बिष्ट, गगन बिष्टदेखि कांग्रेसनिकट धर्मेन्द्र झा र सुरेश आचार्य पनि आकांक्षा राखेको चर्चा छ । रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिएपछि बनेको सार्वजनिक सेवा प्रशारण(पीएचपी)कोे अध्यक्ष र पत्रकार महासंघको अध्यक्ष पनि एमालेले दावी गरेपछि सूचना आयोगको प्रमुख आयुक्त नेपाली कांग्रेसले पाउनुपर्ने आवाज बलियो ढंगले उठेको प्रेस युनियनका पत्रकारहरु बताउछन् । 


एमालेनिकट भएर सबैभन्दा बढी नियुक्तिको अवसर पाउने महेन्द्र बिष्ट फेरि पनि आयोगको प्रमुख सूचना आयुक्तको नियुक्तिका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलकोमा धाइरहेको प्रेस चौतारीका पत्रकारहरु बताउछन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यदेखि सचिव, महासचिव, अध्यक्ष एमालेकै नाममा भएका उनी न्यूनतम पारिश्रमिक निर्धारण समिति, पत्रकार जेपी जोशी हत्या छानबिन समिति, नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष भइसकेका छन् । प्रेस चौतारी र एमालेनिकट क्षमतावान र योग्य पत्रकारहरु सयौं छन्, तर अवसरजति पटक÷पटक सीमित व्यक्तिले मात्रै पाउने गरेको गुनासो प्रेस चौतारीका पत्रकारहरुले गरेका छन् ।


 एमाले–कांग्रेसको गठबन्धन सरकार बनेपछि प्रधानमन्त्री केपी ओलीको प्रेस सल्लाहकार हुनका लागि डा. महेन्द्र बिष्ट पनि निकै लागेका थिए । उनी अब रिक्त हुन लागेको प्रमुख सूचना आयुक्तको दौडमा लागेको प्रेस चौतारीका पत्रकारहरु बताउछन् । 


  एमालेका प्रचार विभाग सचिव गगन बिष्ट पनि सूचना आयोगको प्रमुख आयुक्त वा आयुक्तका लागि लागेका चर्चामा छन् । अहिलेसम्म लाभको पदमा कुनै राजनीतिक नियुक्ति नपाएकाले गगन प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्ने चर्चा  थियो । तर, प्रधानमन्त्रीले सल्लाहकार नराखेपछि उनी अब आयोगको नियुक्तिको आशामा रहेको एमाले पत्रकारहरु बताउछन् । एमालेमा दुःख गरेका र अहिलेसम्म कुनै राजनीतिक नियुक्ति नपाएकाले संचार मन्त्री गुरुङदेखि उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललगायतका नेताहरु गगन बिष्टप्रति सकारात्मक नै रहेको बताइन्छ ।  

 

नेपाल पत्रकार महासंघको अध्यक्ष र पीएसपीको अध्यक्ष एमालेको भएमा प्रमुख सूचना आयुक्तको पद आफूले पाउनुपर्ने दाबी कांग्रेसले गर्दैआएको छ । कांग्रेसबाट प्रमुख सूचना आयुक्तका लागि डा. सुरेश आचार्य र धर्मेन्द्र झाको नाम चर्चामा छ । झा अहिले राष्ट्रिय समाचार समितिका अध्यक्ष छन् । एमाले र कांग्रेसका पत्रकारहरुको यो रस्साकस्सीमा सूचना आयोगको प्रमुख आयुक्त पद कुनै पूर्वसचिवले नै पड्काएमा आश्चर्य नहुने प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।


त्यसैगरी, एमालेको लागि सिन्को नभाँचेका तर पटक पटक राजनीतिक नियुक्ति लिन सफल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई पनि सार्वजनिक सेवा प्रशारण(पीएसबी)को अध्यक्ष नियुक्तिका लागि लागेको चर्चा प्रेस चौतारीमा हुने गरेको छ । उनले श्रीमती रोजी कट्टेलको समेत सहयोगमा पीएसबीको अध्यक्ष हुन लबिङ गरिरहेको प्रेस चौतारीका पत्रकारहरु बताउछन् । उनी एनटीभीको महाप्रबन्धक रहेको समयमा नक्कली धरौटी आरोपमा ७ महिनाजति निलम्बनमा परेपछि काभ्रेकै भएकाले श्रीमती रोजी कट्टेलको अनुरोधमा तत्कालीन संचारमन्त्री गोकुल बाँस्कोटाले उनलाई निलम्बन फुकुवा गरी विज्ञापन बोर्डको अध्यक्षसमेत बनाएका थिए । उनी पुनः तेस्रो नियुक्ति खान एमाले नेताहरुसँग अनुनय बिनय गरिरहेको प्रेस चौतारीका पत्रकारहरुले चर्चा गर्दैछन् ।  


त्यसैगरी, प्रेस काउन्सिलको रिक्त दुई बोर्ड सदस्य पदमा संचारमन्त्री गुरुङले लमजुङका पत्रकारद्वय केशवशरण लामिछाने र बिजयराज अधिकारीलाई नियुक्त गरेका छन् । मन्त्रीस्तरीय निर्णयका आधारमा २०८१ कात्तिक ९ गते उनीहरुलाई नियुक्ति दिइएको छ । अधिकारी नेपाली कांग्रेसनिकट प्रेस युनियनका सदस्य हुन् भने लामिछाने पूर्वमाओवादी पृष्ठभूमिका हुन् । काउन्सिलको बोर्ड सदस्यका लागि पुराना पत्रकार तथा लमजुङको पत्रकार महासंघका सभापति रहिसकेका एमालेनिकट पत्रकार कृष्ण केसीको नाम चर्चामा आएको थियो ।  लमजुङ नै घर भएका प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे प्रबल दावेदार रहेको चर्चा पनि थियो । तर, पाण्डेले प्रेस चौतारीको आगामी अध्यक्ष ताकेकाले हाल राजनीतिक नियुक्तिमा त्यत्ति जोड नगरेको स्रोत बताउछ । 


 पाण्डेले त बधाई नै खाइसकेपछि एकाएक अधिकारी र लामिछाने नियुक्त भएपछि उनी निकै आहत हुन पुगेको प्रेस चौतारीमा चर्चा चल्दैछ । यसअघि अघिल्लो ओली सरकारको पालामा नेपाल टेलिभिजनको बोर्ड सदस्यमा नियुक्ति गरिसकेपछि पाण्डेको नाम काटेर सम थापालाई गरिएको थियो । थापाले पनि पत्र नबुझ्दै उनको नाम काटेर नेपाल टेलिभिजनमा बालकृष्ण बस्नेतलाई नियुक्ति गरिएको थियो । 


यसैबीच, सार्वजनिक सेवा प्रशारण (पीएसबी)मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक १२)
 

प्रतिकृया दिनुहोस