अक्टोबर २२–२४ तारिखमा रुसको पश्चिमी शहर कजानमा भएको ब्रिक्सको शिखर सम्मेलन अहिले विश्वभर चर्चाको शिखरमा रहेको छ । ब्रिक्सको रुसको शहर कजानमा भएको शिखर सम्मेलनमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका ३६ राष्ट्रहरु सहभागी भएका छन् । शुरुमा ५ राष्ट्रहरुले आपसी सहमतिका आधारमा निर्माण गरेको ब्रिक्समा अहिलेसम्म आइपुग्दा सदस्य राष्ट्रहरु थपिएका छन् र ब्रिक्स अहिले ब्रिक्स–प्लसमा परिणत भएको छ । ब्रिक्स अमेरिका र पश्चिमी राष्ट्रहरुको विश्वब्यापी प्रभुत्वका विरुद्धमा अहिले एउटा नयाँ र सशक्त चुनौतीको रुपमा खडा भएको देखिन्छ ।
आपसी सहमतिका आधारमा आपसी व्यापार र विनिमयका निम्ति एक अर्काका राष्ट्रिय मुद्रालाई स्वीकार र प्रयोग गर्न थालेका ब्रिक्स राष्ट्रहरुमा अहिले छुट्टै ब्रिक्स मुद्रा वा नोटको प्रचलन गर्नुपर्छ भन्ने आवाज पनि बलियो हुँदै आएको छ । कजान शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिनले ब्रिक्स नोटको नमुना समेत देखाएका छन् । ब्रिक्सको विस्तार र सबलीकरणबाट बहुध्रुवीय बिश्वतिरको विश्वको यात्रा धेरै अघि बढेको प्रतीत हुन थालेको छ । विश्वको शक्ति सन्तुलनमा हुँदै गरेको यो बदलावले नेपाल जस्ता कमजोर र भूपरिवेष्ठित राष्ट्रको अघिल्तिर आफ्नो मुलुकको परराष्ट्र सम्बन्धको संचालन गर्ने काम समेत थप चुनौतीपूर्ण हुन थालेको प्रतीत हुन्छ ।
केही समय अघि भारतका प्रधान मन्त्रीले गरेको अमेरिका भ्रमणको समयमा अमेरिकाले मोदीको राम्रो स्वागत गरेको कुरा भारतीय संचार माध्यमहरुले सार्बजनिक बनाएका थिए । तर, यसै बिचमा अमेरिकाले भारतलाई रुससंगको व्यापार नघटाएमा भारतसितको व्यापारमा प्रतिबन्ध वा अंकुश लगाउने र पुर्व सम्झौता अनुसार हतियार समेत नदिने धम्की दिएको कुरा समेत सार्बजनिक भयो । यसै बिचमा एफ. बि. आइ.ले भारतीय नागरिक विकास यादवका विरुद्धमा पक्राउ पुर्जी जारी गरेको समाचार समेत आएको छ र भारत र क्यानडाको विवादमा अमेरिका, ब्रिटेन, अस्ट्रेलिया र न्युजील्याण्ड समेतका ‘‘फाइभ आइज’’ भनेर चिनिने राष्ट्रहरु क्यानडाको पक्षमा उभिएका छन् ।
संभवतः अमेरिका लगायतका पश्चिमी राष्ट्रहरुले आफूप्रति अपमानजनक व्यवहार गरेको अनुभव गरेपछि भारत ब्रिक्स शिखर सम्मेलनमा निर्भिक ढङ्गले प्रस्तुत भएको छ । चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीको बिचमा भएको वार्ता पनि अमेरिकाको कल्पना बाहिरको कुरा हुन पुगेको देखिन्छ । अहिले पश्चिमी ब्लक फेरि भारतलाई फकाउने प्रयासमा लागेको कुरा समेत कतिपय पर्यवेक्षकले बताउन थालेका छन् । अमेरिका लगायतका केही पश्चिमी राष्ट्रको भारतसितको सम्बन्धमा हालका दिनमा देखापरेको यो उतार चढावले परराष्ट्र सम्बन्धलाई हलुका ढङ्गले लिनुहुँदैन भन्ने संकेत दिएका छन् । बिडम्बनाको कुरा के छ भने नेपाली नेताहरुले परराष्ट्र सम्बन्धलाई असाध्यै हलुका ढङ्गले लिंदै आएको देखिन्छ ।
महाभारतको एउटा प्रसङ्गले पनि परराष्ट्र सम्बन्धको संचालनमा होशियारी नअपनाउंदा हुने नोक्सानीको झलक दिएको छ । पाण्डवहरुको पक्षबाट युद्ध गर्ने उद्देश्य लिएर युद्धक्षेत्रतिर लागेका शल्यलाई बाटोमा पर्ने कौरवको शिविरमा भव्य स्वागत गरेर दुर्योधनले आफूलाई सहयोग गर्न वाचा गराएपछि शल्य कौरवको पक्षबाट लड्न विवश भएको कुरा महाभारतमा उल्लिखित छ । त्यसैले कुनै विदेशी राष्ट्रको भ्रमणको बेलामा आफूहरु मध्ये कसैले पाएको स्वागतले राष्ट्रले इज्जत र प्रतिष्ठा पाएको ठानिदैन, उल्टै कुनै जालमा पार्ने प्रयत्न समेत पो भएको छ कि भनेर बिचार गर्नुपर्छ भन्ने सन्देश मोदीले अमेरिकामा पाएको स्वागत र कौरवको शिविरमा शल्यले पाएको स्वागत सम्बन्धि दुइटा दृष्टान्तले दिएका छन् ।
त्यसैले भारत भ्रमणमा परराष्ट्र मन्त्रीले पाएको सम्मानलाई राष्ट्रले पाएको सम्मानको रुपमा प्रस्तुत गर्नुलाई अपरिपक्व तर्कको रुपमा लिनुपर्छ। अझ परराष्ट्र मन्त्रीको भारत भ्रमणको अवसरमा अधिक सम्मान गरेको देखाए पनि परम्परा अनुसार नेपालका प्रधानमन्त्रीलाई अहिलेसम्म भारतले भारत भ्रमणको निम्ता नदिएको तथ्यप्रति आँखा चिम्लिन नमिल्ने अवस्थाले थप रहस्यको सिर्जना गरेको छ ।
त्यसैले नेपाल जस्ता गरिब र साना राष्ट्रले ठुला राष्ट्रले कसको कस्तो स्वागत गर्यो वा गरेन भन्ने कुराका आधारमा होइन, राष्ट्रलाई के फाइदा पुग्यो वा पुगेन भन्ने कुराका आधारमा परराष्ट्र सम्बन्धको लाभ हानीको लेखाजोखा गर्नुपर्छ । दासलाई मालिकले उल्क्याउने, लोभ्याउने, हौस्याउने त गर्छ, सम्मानको लायक ठान्दैन भन्ने सत्यको नेपालका सत्तापक्षका मात्र होइन, प्रतिपक्षका नेताहरुले पनि पहिचान र मनन गर्न जरुरी छ। विदेशी शक्तिको आड लिएर सरकारको विरोध गरेर सत्तामा पुग्ने वा अडिने सपना देख्नेहरुले मुलुकको हितमा काम गर्न सक्दैनन्, विदेशी मालिकको ज्युहजुरी मात्रै गर्न सक्छन् र राष्ट्रको स्वाभिमान, शक्ति र सम्पदा समेत गुमाउँछन् भन्ने कुराका दृष्टान्त खोज्न धेरै अगाडि पनि जानुपर्दैन र अन्यत्र पनि जानुपर्दैन ।
यस पृष्ठभूमिमा नेपालका राजनीतिक दल र नेताहरुले अमुक एउटा वा अर्को विदेशी राष्ट्रको ज्यु हजुरी गरेर होइन, राष्ट्रिय हितको जगेर्ना वा प्रवद्र्धन र राष्ट्रको राष्ट्रिय सम्पदाको स्व–उपयोग गर्ने क्षमताको प्रवद्र्धन गरेर मात्र नेपाल जस्ता राष्ट्रले आफ्नो प्रतिष्ठा उठाउन सक्छन् भन्नेकुरा ब्रिक्सको हालैको शिखर सम्मेलन अघिपछिका भारत समेतका ब्रिक्स राष्ट्रका गतिबिधि र तिनका प्रभावको मूल्यांकन गरेर पनि बुझ्न आवश्यक छ । भारतले चिनसंगको सम्बन्धको र चीनले भारतसंगको सम्बन्धको उपेक्षा गर्न नसकेको तथ्यको मनन गरेर नेपाली नेताहरुले एउटा राष्ट्रले जे भन्यो र चाह्यो त्यही गरेपछि पुग्छ भन्ने सोंचबाट मुक्त भएर सन्तुलित परराष्ट्र सम्बन्धको संचालन गर्नुपर्छ भन्ने शिक्षा लिन सक्छन् । नेपालका देउवा, ओली र प्रचण्ड समेतका नेताहरु कसैले पनि हामीहरुले आफ्नो हितमा भारत वा चीन वा अमेरिका आदिलाई उपयोग गर्छौं भन्ने सपना नदेख्दा दल, राष्ट्र र नेता सबैलाई फाइदा पुग्न सक्छ ।
बदलिंदो विश्व परिवेश अनुसार सन्तुलित परराष्ट्र सम्बन्धको संचालन नगरेर वितेका २०÷३० बर्ष यताको जस्तो विदेशीको भक्ति र आदेश पालनको आधारमा परराष्ट्र नीतिको संचालन गरे पुग्छ भन्ने मानसिकता राखेर अब पनि परराष्ट्र सन्बन्ध र नीति परिभाषित गर्न सकिन्छ भन्ने सोंच राखियो भने त्यसले राष्ट्रलाई नै संकटतिर पु¥याउने देखिन्छ । अर्कातिर अदृश्य रुपमा विदेशी शक्तिबाट परिचालित नेता वा प्रत्यक्ष रुपमा विदेशी शक्तिको लहैलहैमा लागेर मुलुकमा अराजकता सिर्जना गर्ने कामले पनि मुलुकको परराष्ट्र सम्बन्धलाई अझ कमजोर बनाउने र अन्तर्राष्ट्रिय प्रतिष्ठामा आघात पु¥याउने अवस्था रहन्छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक १२)
प्रतिकृया दिनुहोस