काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक अवस्था र कांग्रेस पार्टीभित्र देखिएका चुनौतीबारे विभिन्न क्षेत्रका बुद्धिजीवी तथा नेताहरूसँग छलफल गर्नुभएको छ।
डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा कांग्रेसको आन्तरिक अवस्था, समसामयिक राजनीति, संगठन सुदृढीकरण र मुलुकको आगामी दिशाबारे विचार आदानप्रदान गरिएको बताइएको छ।
दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको छलफलमा वरिष्ठ पत्रकार तथा बुद्धिजीवीहरू पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेललगायत सहभागी हुनुहुन्थ्यो।
छलफलमा नयाँ पुस्ताका प्रतिनिधिका रूपमा अभिजित अधिकारी र करिना पुरीको पनि सहभागिता रहेको थियो।
त्यसैगरी, कांग्रेस नेताहरू डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल पनि छलफलमा सहभागी हुनुभएको थियो।
कांग्रेसभित्र नेतृत्व, संगठन र भविष्यको रणनीतिबारे बहस चर्किरहेका बेला डा. कोइरालाले बुद्धिजीवी तथा नेताहरूसँग गरेको यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।



