निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि प्रदेश नम्बर एकमा २८, दुईमा ३२, तीनमा ३३, चारमा १४, पाँचमा २६, ६ मा १२ र सातमा १६ वटा निर्वाचन क्षेत्र तोकेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि सबैभन्दा धेरै क्षेत्र प्रदेश नम्बर तीनमा तोकिएको छ । सबैभन्दा थोरै चाहिँ प्रदेश नम्बर ६ मा तोकिएको छ ।
प्रदेशसभा निर्वाचनका लागि प्रदेश नम्बर १ मा ५६, २ मा ६४, ३ मा ६६, ४ मा ३६, ५ मा ५२, ६ मा २४ र ७ मा ३२ वटा निर्वाचन क्षेत्र तोकिएको छ । प्रदेश सभा निर्वाचनमा पनि सबैभन्दा धेरै क्षेत्र प्रदेश नम्बर ३ मा तोकिएको छ ।
संविधानले प्रत्येक जिल्लामा एउटा निर्वाचन क्षेत्र अनिवार्य रुपमा तोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ । त्यसैले आयोगले ७७ वटा जिल्लामा कम्तीमा पनि एउटा निर्वाचन क्षेत्र हुने गरेर क्षेत्र तोकेको छ ।
नवलपरासी जिल्लालाई टुक्राउँदा देशमा ७७ वटा जिल्ला बनेको छ । त्यसैले ७७ वटा निर्वाचन क्षेत्र पहिलो चरणमा बनाइएको छ ।
संविधानले तोकेको एक सय ६५ वटा निर्वाचन क्षेत्रका लागि बाँकी चाहिँ जनसंख्याको आधारमा निर्धारण गरिएको हो ।
राजधानी काठमाडौंसहितको क्षेत्रमा सबैभन्दा धेरै जनसंख्या भएकोले प्रदेश नम्बर तीनमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र बनेका हुन् ।



