🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनिक अस्पतालभित्रको बेथिति, शोषण र अनुशासनहीनताबारे छानबिन हाेस्

श्रीमान् सम्पादकज्यू
साँघु साप्ताहिक
काठमाडौं ।

महोदय, नेपाली सेना अनुशासन, मर्यादा र चेन अफ कमाण्डको कठोर अभ्यासमा चल्ने संस्था मानिन्छ । तर नेपाली सेनाको कोषबाट सञ्चालित वीरेन्द्र सैनिक अस्पतालभित्र पछिल्लो समय देखिएको भनिएको बेथिति, पक्षपात, आर्थिक अनियमितता, राशन दुरुपयोग, ड्युटी व्यवस्थापनमा विभेद, सरुवामा दबाब तथा तल्लो दर्जाका सैनिकमाथि शोषणका घटनाले गम्भीर प्रश्न उठाएको छ । यस्ता विषय सार्वजनिक चासोका मात्र होइनन्, संस्थागत शुद्धता र सैनिक मर्यादास“ग प्रत्यक्ष जोडिएका विषय पनि हुन् ।

अस्पतालमा कार्यरत केही जिम्मेवार व्यक्तिहरूमाथि तालिमको नियम उल्लंघन गर्ने, प्रशासनिक प्रभाव प्रयोग गर्ने, सामान खरिदमा अपारदर्शी चलखेल गर्ने, टेण्डर प्रणालीलाई निष्प्रभावी बनाउने, बोर्डलाई दबाबमा पारेर निर्णय गराउने, राशन तथा बिरामी मेसको सामग्रीसमेत दुरुपयोग गर्ने, ड्युटी र सरुवामा आफूअनुकूल चलखेल गर्ने, सजिलो र भत्ता आउने जिम्मेवारी पैसावाल वा निकटस्थलाई दिने, नमान्नेहरूलाई टाढा युनिटमा सरुवा गराइदिने धम्की दिने जस्ता गम्भीर आरोप लागेका छन् ।

यति मात्र होइन, केही व्यक्तिले आर्थिक लेनदेन, लोभलालच र अनुचित प्रभावमार्फत महिला तथा पुरुष सैनिकमाथि फरक–फरक किसिमको दबाब सिर्जना गरेको, ड्युटी मिलाइदिने नाममा रकम वा अन्य लाभ मागिएको, सिनियर–जुनियरको औपचारिक मर्यादासमेत तोडिएको, अस्पतालको प्रशासनमा समानता र निष्पक्षताको साटो निजी नेटवर्क हाबी भएको भन्ने गुनासो बारम्बार सुनिन थालेका छन् । यदि यस्ता आरोपहरू सत्य हुन् भने यो केवल अस्पतालभित्रको अव्यवस्था मात्र होइन, नेपाली सेनाको संस्थागत विश्वसनीयतामाथिको प्रहार पनि हो ।

अझ पीडादायी पक्ष के छ भने, गुनासो गर्नेहरू प्रत्यक्ष रूपमा उजुरी गर्न डराइरहेका छन् । कारण स्पष्ट छ–कसैले गुनासो वा रिपोर्ट गरे सरुवा, प्रतिशोध, दबाब र भविष्य बिग्रिने भय ।

यसले संस्थाभित्रको उजुरी प्रणालीमाथि भरोसा कमजोर भएको संकेत गर्छ । कसैले गल्ती गरे सैनिक नियमअनुसार छानबिन, स्पष्टीकरण, कोर्ट अफ इन्क्वायरी र कानूनी कारबाही हुनुपर्छ ! तर, नियमबमोजिम कारबाही नभई उल्टै सोझा र कमजोर दर्जाका व्यक्तिलाई दबाब र सरुवाबाट थिच्ने प्रवृत्ति बढेको हो भने त्यो अत्यन्तै चिन्ताजनक विषय हो ।

कतिपय सैनिकहरू नियमविपरीत सरुवामा परेका, बढुवाको मुखमा रहेका व्यक्तिहरूको करिअर अवरुद्ध भएको, सुत्केरी अवस्थामै अन्यायपूर्ण निर्णयको मार परेका र सेवाअवधि पूरा नहुँदै उपदानमै बाहिरिन बाध्य पारिएका घटनाहरू पनि अत्यन्तै संवेदनशील छन् । यस्तो अवस्था सैनिक कल्याण, मानवीयता र संस्थागत न्याय–तीनै दृष्टिले अस्वीकार्य हुनुपर्छ ।

श्रीमान प्रधानसेनापतिज्यू, महासेनानी हरिश बम र सुवेदार नेत्रबहादुर मल्ल नै बेथिति र मनपरीतन्त्रका नायक हुन् ? कमाण्डरले त सबै स्टाफको गुनासो सुन्नुपर्ने र सन्तुलित र निष्पक्ष व्यवहार गर्नु पर्ने होइन ? तर म.से. बमले नेत्र मल्लको मात्र कुरा सुन्नुपर्ने हो र ? सुवेदार नेत्रबहादुर मल्लले प्राविधिकको अस्पतालअन्तर्गत युनिट र इन्फेन्ट्रीको अन्य इन्फेन्ट्री गण गुल्ममा सरुवा गराइदिन्छु भनी धम्की दिने गरेका छन् । अस्पतालमा प्राविधिकको प्राविधिक र इन्फेन्ट्रीको इन्फेन्ट्रीमा अन्यायपूर्वक सरुवा हुने गरेको छ ।

श्रीमान प्रधानसेनापतिज्यू, सैनिक व्यक्ति भनेको उच्च अनुशासनमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने व्यक्ति मात्र सेना होइन ? सेनामा सैनिक नियमविपरीत कार्य गर्ने व्यक्तिलाई सैनिक नियमअनुसारको कारबाही हुनुपर्ने होइन । तर, वीरेन्द्र अस्पतालमा त्यस्तो हुँदैन, गल्ती गर्नेलाई कारबाही हु“दैन तर जो आफ्नो सोझो गरिखानेलाई कारबाही गरिन्छ ।

केही समय अगाडि अस्पतालका साधारणतर्फका पदिक, विल्लादार, सिपाही गरी १० जनालाई अन्यत्र इन्फेन्ट्री युनिटमा सरुवा गरियो । यो सरुवा सरासर नियमविपरीत थियो किनभने सरुवा गर्दा सैनिक स्वास्थ्य महानिर्देशनालयअन्तर्गत युनिटमा गर्नुपर्ने नियमावली नेपाल सरकारको मन्त्रिपरिषद्बाट पास भएको छ ।

यदि यी १० जनाको कुनै गल्ती थियो भने स्पष्टीकरण सोध्ने र कोर्ट अफ इन्क्वायरी गरी गरेको गल्ती कसुर अनुसार एक दर्जा घटुवा गर्ने, बढुवा रोक्का गर्ने र सेवाबाट अलग गर्ने, नसिहत दिने जस्ता कारबाही हुनुपर्ने थियो । तर, के कति कारणले सरुवा गरियो यसमा कुनै जानकारी दिइएन, भएन । ठुलै गल्ती गरेजस्तो गरी सरुवाको कागजातमा निजहरुको तीन–तीन महिनामा गोप्य प्रतिवेदन पेश गर्नु भन्ने देखियो ।

श्रीमान के यो ठिक हो त ? कोही व्यक्ति बढुवाको सिनियरमा रहेका थिए । कुनै व्यक्ति सुत्केरी बिदामा रहेका थिए । के कस्तो गल्ती गरेको हो आजसम्म पनि प्रमाणित गर्न सकेको छैन । सैनिक नियमअनुसार सिपाही दर्जाको पेन्सन पाउने अवधि १६ वर्षको रहेको छ तर ४ वर्षपछि अर्थात् जागिर सुरुवातको २० वर्षमा मासिक पेन्सन पाइन्छ ।

यसरी नियमविपरीत सरुवामा पर्ने मध्ये सिपाही आरतीकुमारी सिंह पनि हुन् । निज सिंह सरुवा भएको समयमा सुत्केरी बिदामा रहेकी र सुत्केरी बिदापछि सरुवा भएको युनिटमा हाजिर हुन गएको तर त्यहाँ उनलाई गरेको व्यवहारले गर्दा सिपाही आरतीकुमारी सिंहलाई १५ वर्ष ७ महिनामा उपदान निस्कन बाध्य पारियो । उनको ५ महिनापछि पेन्सन आजीवन आउँथ्यो तर उपदान मात्र पाए ।
यस्तो अन्याय गर्नेहरुलाई अवश्य पनि सिपाहीको आंसु लाग्ने छ । आरतीका शिशु र नालाबक सन्तानले पनि सराप्नेछन् । श्रीमान प्रधानसेनापतिज्यू, यो सबै सुवेदार नेत्रबहादुरको सिफारिसमा म.से. बमले गरेका हुन् । यी सुवेदारले यतिसम्म गरेका छन् कि श्रीमान संपादकज्यू, निवेदन प्रधानसेनापतिज्यू र नेपाली सैनिक अदालतसम्म पुगोस् भनेर अनुरोध गर्दछौं ।

त्यसैले यस विषयलाई सामान्य आन्तरिक विवाद ठानेर पन्छाउन मिल्दैन । सम्बन्धित निकाय–जंगीअड्डा, सैनिक प्रहरी, सैनिक अदालत तहबाट–निष्पक्ष, गोप्य र प्रभावकारी छानबिन होस् । आरोपित, पीडित, साक्षी र प्रशासनिक पक्षलाई एउटै मापदण्डमा राखेर तथ्य परीक्षण गरियोस् ।

वीरेन्द्र सैनिक अस्पतालका मोबाइल, मेसेन्जर, खरिद प्रक्रिया, राशन अभिलेख, ड्युटी तालिका, सरुवा सिफारिस, बोर्ड पास छकि छैन, कागजात र आर्थिक निर्णयहरू सबैको प्राविधिक तथा प्रशासनिक परीक्षण गरियोस् । यदि आरोप झुटा हुन् भने सार्वजनिक रूपमा स्पष्ट गरियोस् । यदि सत्य हुन् भने सैनिक, ऐन नियम विपरीत अन्याय दोषीमाथि सैनिक नियमअनुसार कठोर कारबाही होस् ।

अन्त्यमा,

सैनिक संस्था राष्ट्रको भरोसाको स्तम्भ हो । त्यही स्तम्भभित्र यदि शोषण, भय र बेथिति मौलाउँछ भने त्यसको असर केवल एउटा अस्पतालमा सीमित रहँदैन–पुरै संस्थामाथि जनविश्वास डगमगाउँछ । त्यसैले, तपाईंको सम्मानित साँघु साप्ताहिकमार्फत मार्फत यो विषयलाई सशक्त रूपमा उठाइदिनुहुन, जनचासोको मुद्दा बनाइदिनुहुन तथा सम्बन्धित निकायलाई उत्तरदायी बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

“अनुशासनको नाममा अन्याय ढाक्न पाइँदैन–न्याय नै सैनिकको असली शक्ति हो ।”

भवदीय,
एक चिन्तित सैनिक परिवार/पीडित पक्षको तर्फबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *