काठमाडौं, चैत ३० । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा सञ्चालित सि.सं. १७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह चैत ३० गते सम्पन्न भएको छ। समारोहलाई सम्बोधन गर्दै माननीय गृहमन्त्री सुधन गुरुङले नेपाल सरकारका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमार्फत देश विकासको अभियानमा सशस्त्र प्रहरी बल नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

गृहमन्त्री गुरुङले कठोर अनुशासन, समर्पण र लगनशीलतासहित आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरूलाई बधाई दिँदै विभिन्न विधामा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गर्नुभएको थियो। उहाँले सशस्त्र प्रहरी बल नेपालले स्थापना कालदेखि नै आफ्नो क्षमता, दक्षता र व्यावसायिकतामार्फत आफूलाई सक्षम, विश्वासिलो र अब्बल सुरक्षा निकायका रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो।
उहाँले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन तथा महत्वपूर्ण व्यक्ति र प्रतिष्ठानको सुरक्षामा सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। साथै, सशस्त्र प्रहरीले अंगीकार गरेको BIRD (Border Security, Internal Security, Revenue Support and Disaster Management) अवधारणाअनुसार कार्यक्षेत्रमा प्रभावकारी योगदान दिँदै आएको बताउँदै तालिम शिक्षालयहरूको स्तरोन्नति, निरन्तरता र गुणस्तर अभिवृद्धिका लागि गृहमन्त्रालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले वर्तमान परिवेशमा जघन्य अपराध, सीमापार अपराध, विपद् जोखिम, बन्द–हडताललगायत गतिविधिले आन्तरिक सुरक्षामा थप चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै यस्ता गतिविधिमाथि समयमै निगरानी राखी नियन्त्रण गर्न पेशागत दक्षता, संयमता र जिम्मेवारीबोधका साथ परिचालन हुन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।
उहाँले सशस्त्र प्रहरी बल नेपाल ७७ वटै जिल्लामा उपस्थित रही देशको शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै संगठनलाई राज्यले दिएको जिम्मेवारी प्रभावकारी ढंगले सम्पन्न गर्न जनशक्ति, भौतिक पूर्वाधार, सुरक्षा सामग्री र बन्दोबस्ती व्यवस्थापनका विषयमा आवश्यक नीतिगत तथा कार्यान्वयनगत सहयोग गृहमन्त्रालयबाट उपलब्ध गराइने बताउनुभयो।
विपद् व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले समुदायमा आधारित विपद् प्रतिकार्य तालिममा आफू स्वयं सहभागी भएको र त्यसको व्यवहारिकता तथा प्रभावकारिता नजिकबाट अनुभूति गरेको स्मरण पनि गर्नुभयो। उहाँले दीक्षित भएर कार्यक्षेत्रमा जान लागेका अधिकृतहरूलाई साहस, अनुशासन, इमान्दारिता, कर्तव्यनिष्ठा र अथक परिश्रमलाई जीवनको मार्गदर्शक सिद्धान्त बनाउँदै राष्ट्र र जनताको सेवामा समर्पित रहन प्रेरणा दिनुभयो। साथै, राष्ट्रसेवाका लागि आफ्ना सन्तानलाई प्रेरित गर्ने अभिभावकप्रति हार्दिक आभार पनि व्यक्त गर्नुभयो।
समारोहमा गृहमन्त्री गुरुङले तालिममा सर्वप्रथम हुने प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक समिर बहादुर रावललाई खुकुरी प्रदान गर्नुभयो। त्यसैगरी कवाजतर्फ प्रथम जनक बडायर जोशी, शारीरिक सहिष्णुतातर्फ पुष्कर जोशी र चाँदमारीतर्फ प्रदीप कुँवरलाई पुरस्कार प्रदान गरिएको थियो।
दीक्षान्त समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले प्रशिक्षार्थी अधिकृतहरूलाई सपथ ग्रहण गराउनुभएको थियो। करिब ५६ हप्ते तालिम सफलतापूर्वक सम्पन्न गर्नेहरूमा ३ जना महिलासहित कुल ४९ जना सशस्त्र प्रहरी निरीक्षक रहेका छन्।
समारोहमा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष अनिता लामिछाने अर्याल, अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, अतिरिक्त महानिरीक्षकहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, वरिष्ठ अधिकृतहरू तथा दीक्षित अधिकृतका अभिभावकहरूको उपस्थिति रहेको थियो।




