काठमाडौं । मानिस जति नै बुद्धिजीवी, अनुभवी, सन्तुलित वा सार्वजनिक जीवनमा परिपक्व देखिए पनि पद, प्रभाव, पहुँच र राज्य-संरचनाबाट पूर्ण रूपमा अलग बस्न सजिलो नपर्ने रहेछ । नेपालका सत्ता, प्रशासन र सुरक्षा वृत्तमा बारम्बार देखिने यही मनोविज्ञानको पछिल्लो उदाहरणका रूपमा निवर्तमान परराष्ट्र मन्त्री तथा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा चर्चामा आएका छन् ।
मन्त्री पदमा रहँदा उनले आफूलाई सादगीप्रिय, सेवा-सुविधामा आकर्षित नभएको र राज्यको जिम्मेवारीलाई बोझ होइन, दायित्वका रूपमा ग्रहण गर्ने व्यक्ति जस्तो सन्देश दिन खोजेका थिए । तर सैनिक वृत्तमा अहिले उठिरहेको चर्चा भने ठीक उल्टो छ । सार्वजनिक रूपमा “म सेवा-सुविधा लिन्नँ” भन्ने शैलीको छवि बनाउन खोजिए पनि व्यवहारमा भने उनी आफू सम्हालिरहेको अर्को प्रभावशाली जिम्मेवारीबाट अलग बस्न तयार नभएको आरोप सुनिन थालेको छ ।
सैनिक स्रोतहरूका अनुसार, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी-एनडीयु) अहिले स्थापना प्रक्रियामा छ र त्यसको नेतृत्वको केन्द्रमा शर्मा नै रहेका छन् । मन्त्री हुँदा पनि उनले उक्त संरचनाबाट दूरी कायम नगरेको, र मन्त्री पदबाट बाहिरिएलगत्तै पुनः त्यही भूमिकामा सक्रिय रूपमा फर्किएको चर्चा छ । यसले एउटा सामान्य प्रशासनिक निरन्तरताभन्दा बढी अर्थ बोकेको देखिन्छ-उनी औपचारिक रूपमा एउटा पदबाट हटे पनि प्रभावको वृत्तबाट भने बाहिर निस्किन चाहेनन् भन्ने सन्देश गएको छ ।
यो प्रसंग सामान्य नियुक्ति वा जिम्मेवारीको मात्र विषय होइन । यो राज्यका उच्च तहमा पुगेका व्यक्तिहरूको मनोविज्ञानसँग जोडिएको प्रश्न हो । पद छोडेपछि पनि प्रभावको केन्द्रमै बसिरहने चाहना, संस्थामा आफ्नो पकड निरन्तर कायम राख्ने अभिलाषा, र “म नभए यो संरचना चल्दैन” भन्ने प्रकारको अदृश्य अहंकार-यी सबै नेपाली सार्वजनिक जीवनका पुराना रोग हुन् । बालानन्द शर्माको पछिल्लो भूमिकाले त्यही रोगलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ ।
अवकाशपछि पनि निरन्तर सक्रियता
बालानन्द शर्मा २०६३ सालमा नेपाली सेनाबाट अवकाशमा गएका व्यक्ति हुन् । सामान्यतः यति उच्च पदबाट अवकाश पाएपछि व्यक्ति अनुभव बाँड्ने, सल्लाहकार भूमिकामा सीमित हुने वा सार्वजनिक जीवनबाट केही दूरी कायम गर्ने अपेक्षा गरिन्छ । तर शर्मा त्यसबाट पृथक् व्यक्तित्वका रूपमा प्रस्तुत हुँदै आएका छन् । अवकाशपछि पनि उनी विभिन्न संरचना, औपचारिक–अनौपचारिक जिम्मेवारी र प्रभावका वृतमा सक्रिय रहँदै आएका व्यक्ति मानिन्छन् ।
सैनिक वृत्तमा उनलाई “पदबाहिर बस्न नचाहने रथी” का रूपमा व्याख्या गर्नेहरू कम छैनन् । राज्यले बोलायो भने जिम्मेवारी लिनु एउटा कुरा हो; तर राज्य–संरचनासँग निरन्तर जोडिइरहन चाहनु अर्कै कुरा हो । अझ ७९ वर्षको उमेरमा पनि उनी पुनः प्रभावशाली संस्थागत भूमिकाको केन्द्रमै देखिनु संयोग मात्र हो भनेर पत्याउन कठिन हुन्छ । यसलाई उनको दीर्घ सार्वजनिक जीवनको निरन्तरता मात्र भनेर बुझ्दा अपूरो हुन्छ; यसमा प्रभावबाट टाढा बस्न नसक्ने प्रवृत्तिको तत्व पनि स्पष्ट देखिन्छ ।
सादगीको भाषण, व्यवहारमा पदको मोह
नेपालमा पद र सुविधा त्यागेको भाषण गर्ने, तर व्यवहारमा शक्ति–संरचनासँग गाँसिइरहने प्रवृत्ति नयाँ होइन । सार्वजनिक रूपमा सादगी, अनुशासन, राष्ट्रिय हित, त्याग र सेवा जस्ता शब्द धेरै सुनिन्छन् । तर भित्री अभ्यासमा ती शब्दहरू प्रायः छवि निर्माणका साधन मात्रै बन्ने गरेका छन् । पदमा हुँदा “म केही लिन्नँ” भन्ने, तर पद छोडेपछि फेरि अर्को ढोकाबाट प्रभावशाली भूमिकामा फर्किने संस्कारले नै सार्वजनिक नैतिकतालाई कमजोर बनाएको हो ।
बालानन्द शर्मामाथि उठेको प्रश्न पनि यही हो-यदि साँच्चै उनी सेवा–सुविधा र पदमोहभन्दा माथि थिए भने किन अर्को संस्थागत जिम्मेवारीको डोरी पनि हातबाट छुटाउन सकेनन् ? किन मन्त्री पदमा रहँदा नै उक्त भूमिकाबाट पूर्ण रूपमा अलग बसेनन् ? किन मन्त्री पदबाट बाहिरिएलगत्तै पुनः त्यही घेरामा फर्किनुपर्यो ? यी प्रश्नहरू व्यक्तिगत आलोचनाभन्दा पनि सार्वजनिक चरित्रको परीक्षणका प्रश्न हुन् ।
उच्च पद जिम्मेवारी हो कि प्रभावको उपकरण ?
यो घटनाले एउटा गम्भीर प्रश्न उठाउँछ-नेपालमा उच्च पदमा पुगेका व्यक्तिहरूका लागि पद केवल जिम्मेवारी हो कि प्रभाव कायम राख्ने माध्यम ? यदि पदलाई केवल दायित्वका रूपमा बुझिएको भए, पद समाप्त भएपछि त्यससँग जोडिएको प्रभावबाट पनि स्वाभाविक दूरी देखिनुपर्ने थियो । तर यहाँ समस्या ठीक उल्टो देखिन्छ । जिम्मेवारी फेरिन्छ, कुर्सी फेरिन्छ, औपचारिक पदनाम फेरिन्छ; तर प्रभावको चाहना भने जस्ताको तस्तै रहिरहन्छ ।
राजनीति, प्रशासन, सेना, कूटनीति र शैक्षिक संस्थासमेतमा यही प्रवृत्तिले नयाँ पुस्तालाई निरुत्साहित गरेको छ । एउटै अनुहार, उही पुराना शक्ति–सम्बन्ध, उही पूर्वाधिकार र उही प्रभाव-सञ्जाल निरन्तर दोहोरिरहँदा संस्थागत लोकतन्त्रीकरण कमजोर हुन्छ । व्यक्तिले संस्थालाई चलाउने, संस्थाले व्यक्तिलाई होइन भन्ने विकृत संस्कार बलियो बन्छ । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयजस्तो भावी पुस्ता र राज्यको रणनीतिक सोचसँग जोडिएको संस्थामा पनि पुरानै प्रभाव–मोहको छाया देखिनु चिन्ताको विषय हो ।
सैनिक संस्कार कि व्यक्तिगत महत्त्वाकांक्षा ?
नेपाली सेनाबाट आएका उच्च पदस्थ पूर्वअधिकारीहरूमा अनुशासन, मर्यादा, आदेश-पालना र संस्थागत निष्ठाको चर्चा प्रायः गरिन्छ । तर अवकाशपछि उनीहरू राज्यका अनेक संरचनामा कसरी प्रयोग भइरहेका छन्, वा उनीहरू स्वयं ती संरचनाभित्र कसरी सक्रिय रहन खोजिरहेका छन् भन्ने प्रश्न कम उठ्ने गरेको छ । बालानन्द शर्माको प्रसंगले यही मौनतालाई तोडेको छ ।
यदि कुनै पूर्व रथीले अवकाशपछि पनि निरन्तर नयाँ-नयाँ भूमिकामा आफूलाई टिकाइरहन खोज्छ भने त्यो व्यक्तिगत महत्त्वाकांक्षा हो कि सैनिक वृत्तमै विकसित भएको प्रभाव–संस्कारको विस्तार ? यो प्रश्न अब केवल व्यक्ति–केन्द्रित रहेन । यो संस्था-केन्द्रित विमर्शको विषय बन्दै गएको छ ।
अन्तिम प्रश्न
बालानन्द शर्माको नाम जोडिएको यो प्रसंगले फेरि सम्झाएको छ-नेपालमा पद छोड्नु सजिलो होला, तर पदको मनोविज्ञान छोड्नु धेरैका लागि कठिन छ । कुर्सीबाट उठे पनि प्रभावको कुर्सी नछोड्ने प्रवृत्ति नै हाम्रो सार्वजनिक जीवनको पुरानो रोग हो । भाषणमा त्याग, व्यवहारमा मोह; मुखमा सादगी, भित्री रूपमा निरन्तर प्रभावको खोज-यही दोहोरो चरित्रले संस्थाहरूप्रति जनविश्वास खस्काउँदै आएको छ ।
पूर्व मन्त्री तथा पूर्व रथी शर्माको पछिल्लो भूमिकाले पनि त्यही संस्कारलाई फेरि चर्चामा ल्याएको छ । प्रश्न व्यक्ति मात्र होइन, प्रवृत्तिको हो । राज्यका उच्च तहमा पुगेका मानिसहरू कहिले वास्तवमै विश्राम लिन सिक्छन् ? कहिले उनीहरू संस्था भन्दा माथि आफूलाई राख्न छोड्छन् ? र कहिले नयाँ पुस्तालाई ठाउँ छोड्ने राजनीतिक–प्रशासनिक संस्कारको विकास हुन्छ ?
अहिलेलाई यति मात्र भन्न सकिन्छ-नेपालमा पदभन्दा ठूलो समस्या पदपछि पनि नछुट्ने प्रभाव हो । र, यही प्रभावमोहको कथामा अहिले ‘जर्सा’ब पनि जोडिएका छन् ।




