🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो sanghunews.com
—
—

नेपाली सेनाकाे आयुक्त पद प्रदान कवाज सम्पन्न : प्रधानमन्त्री शाहद्वारा कर्तव्यनिष्ठ बन्न आग्रह

काठमाडौं । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा २०८२ चैत २६ गते आयोजित आयुक्त पद प्रदान कवाज समारोह भव्य रूपमा सम्पन्न भएको छ । उक्त समारोहमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख अतिथिको रूपमा सहभागिता जनाउँदै नव-आयुक्त अधिकृतहरूलाई सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति समर्पित हुने दृढ सङ्कल्पका साथ कठिन तथा कठोर सैनिक तालिम पूरा गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा नव-अधिकृतहरूलाई हार्दिक बधाई दिनुभयो । उहाँले नेपाली सेनाको गरिमा, अनुशासन र परम्परालाई आत्मसात् गर्दै राष्ट्रसेवामा समर्पित हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री शाहले सैनिक जीवन केवल पेशा नभई राष्ट्रप्रति समर्पणको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै नव-अधिकृतहरूलाई सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही आफ्नो जिम्मेवारी र दायित्वप्रति सधैं सजग र कर्तव्यनिष्ठ रहन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहँदै आएको छ, यसलाई अझ सुदृढ बनाउने जिम्मेवारी अब तपाईंहरूको काँधमा आएको छ ।”

उक्त कार्यक्रममा अधिकृत आधार तालिममा सहभागी १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज (Commissioning Parade) प्रदर्शन गरेका थिए । उनीहरूले तालिम अवधिमा हासिल गरेका सैनिक दक्षता, नेतृत्व क्षमता तथा अनुशासनलाई प्रदर्शन गर्दै उत्कृष्ट कवाज प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाका वरिष्ठ अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, क्याडेटका अभिभावक तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । समारोहले नव-अधिकृतहरूको नयाँ यात्राको औपचारिक सुरुवातसँगै नेपाली सेनाको पेशागत उत्कृष्टता र अनुशासनको परम्परालाई पुनः स्थापित गरेको सन्देश दिएको छ ।

नेपाली सेनाले नियमित रूपमा यस्ता तालिम तथा कवाज कार्यक्रममार्फत दक्ष, अनुशासित र राष्ट्रप्रति समर्पित जनशक्ति उत्पादन गर्दै आएको छ, जसले मुलुकको सुरक्षा र स्थायित्वमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *