महोत्तरी । बैंकिङ्ग कसुर अन्तर्गत एक करोड तीस लाख रुपैयाँ विगो रकम रहेको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।
दिपेन्द्र ठाकुरको जाहेरीका आधारमा वादी नेपाल सरकार विरुद्ध जिल्ला महोत्तरी मटिहानी नगरपालिका वडा नं. ७ निवासी जगन्नाथ दास बैष्णवविरुद्ध बैंकिङ्ग कसुर मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा रु. १ करोड ३० लाख बराबरको विगो दाबी गरिएको छ।
घटना पश्चात फरार रहेका बैष्णवलाई खोजतलास गर्ने क्रममा प्रहरी निरीक्षक (प्र.नि.) सहितको टोली खटिएको थियो। सोही क्रममा उनलाई मटिहानी नगरपालिका–७ स्थित मटिहानी क्षेत्रबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले उनलाई अदालतबाट जारी गरिएको जरुरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएको हो। पक्राउपछि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ।
प्रहरीका अनुसार बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरूको खोजी तथा नियन्त्रणलाई तीव्रता दिइएको छ। उक्त घटनाले आर्थिक अपराध नियन्त्रणमा प्रहरीको सक्रियता थप स्पष्ट भएको जनाइएको छ।




