कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनले दैनिक जीविकोपार्जन गर्न समस्या भएको भन्दै उपत्यकाका ट्याक्सी व्यवसायीले प्रदर्शन गरेका छन् ।
ट्याक्सी चालकहरूले मंगलबार बानेश्वर–तीनकुने सडकखण्डमा ट्याक्सी सञ्चालन गर्न दिनुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरूले सडक किनारामा ट्याक्सीसमेत राखेका छन् ।
ट्याक्सी चालकले ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदऊ’, ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’ लगायतका गुनासा पोखेका प्लेकार्ड बोकेका छन् ।
सरकारले गत चैत ११ देखि लकडाउन घोषणा गरेपछि ट्याक्सी सञ्चालन हुन पाएका थिएनन् । असार १ गतेदेखि भने जोर–बिजोर प्रणालीका आधारमा ट्याक्सी सञ्चालन गर्न दिइएको । तर, व्यवसायी तथा ट्याक्सी चालक यसबाट सन्तुष्ट छैनन् ।




