🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितद्वारा शपथ तथा पदबहाली

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज २०८२ चैत २४ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष आयोजित समारोहमा उहाँले शपथ लिनुभएको हो । शपथसँगै पण्डितले आजै पदबहाली समेत गर्नुभएको छ ।

समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र बैंकभित्र लामो अनुभव, संस्थागत बुझाइ र नेतृत्व क्षमतासहित डेपुटी गभर्नरको जिम्मेवारी सम्हाल्नुभएको पण्डितबाट मौद्रिक व्यवस्थापन, वित्तीय अनुशासन तथा बैंकिङ प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २४ गतेको निर्णय अनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त हुनुभएको हो । नियुक्तिपछि सोही दिन शपथ ग्रहण र पदबहाली सम्पन्न भएको राष्ट्र बैंकले जनाएको छ ।

पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गर्नुभएको थियो । त्यसपछि उहाँ २०६८ सालमा उपनिर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशक मा पदोन्नति हुनुभएको थियो ।

कार्यकारी निर्देशकका रूपमा रहँदा उहाँले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग को नेतृत्व सम्हाल्नुभएको थियो । साथै, उहाँले नेपाल राष्ट्र बैंकको प्रवक्ता को जिम्मेवारी समेत निर्वाह गर्नुभएको अनुभव छ । राष्ट्र बैंकभित्र विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा पण्डितको नियुक्तिलाई संस्थाभित्रबाटै माथिल्लो नेतृत्वमा पुगेको महत्वपूर्ण विकासका रूपमा हेरिएको छ ।

नवनियुक्त डेपुटी गभर्नर पण्डितको आगमनसँगै राष्ट्र बैंकको उच्च नेतृत्व थप पूर्ण बनेको छ । वित्तीय क्षेत्र नियमन, भुक्तानी प्रणाली आधुनिकीकरण, विदेशी विनिमय व्यवस्थापन तथा समग्र बैंकिङ स्थायित्वका सवालमा उहाँको कार्यकाल चासोका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *